फिल्म साउथएसियाको मोबाइल एप जारी

काठमाडौ- फिल्म साउथएसिया २०१७ वृत्तचित्र महोत्सवका लागि आज आधिकारिक मोबाइल एप जारी गरिएको छ । दक्षिण एसियाको प्रतिष्ठित वृत्तचित्र महोत्सबको एघारौ संस्करण कार्तिक १६ गते बिहिबारदेखि शुरु हुदैछ ।

फिल्म साउथएसिया २०१७ नाममा आइफोन र एन्ड्रोइड मोबाइल फोनका लागि एप्पल एप स्टोर र गुगल प्लेस्टोरमा उपलब्ध सो एपबाट महोत्सवका देखाइने सबै वृत्तचित्रका जानकारी, देखाइने मिति र समयका साथसाथै मोबाइलको क्यालेण्डरमा आफूलाई हेर्न मन लागेका वृत्तचित्रलाई राखेर अलार्म समेत राख्न सकिने गरि बनाइएको छ । साथसाथै फेसबुक वा ट्विटरबाट साइन इन गरेर मोबाइल एपमा आफ्नो विचार र फोटो शेयर गर्ने एंव अन्य एप प्रयोगकर्ताहरुसँग गाँसिने र सन्देश आदानप्रदान गर्ने सुविधा राखिएको छ । सो मोबाइल एप महोत्सवका सहायक निर्देशक रेवती गुरुङले एप जारी गर्दै भन्नुभयो- “फिल्म साउथएसिया २०१७ मोबाइल एप विशेष गरेर महोत्सवमा सहभागी हुन चाहानेहरुलाई लक्षित गरि बनाइएको हो । यो एपमार्फत दर्शकहरुले प्रदर्शन हुने वृत्तचित्रका बारेमा जानकारी लिने र आफूले रोजेका वृत्तचित्रहरु आफ्नो क्यालेण्डरमा राख्न सक्ने र अन्य सहभागीसँग विचार, फोटोहरु र सन्देश साट्न सकिने हुँदा सहभागिता सहज र उपलब्त्धीपूर्ण हुनेछ ।”

‘वृत्तचित्रस् एक साक्षी’ नाराका साथ हुन लागेको फिल्म साउथ एशिया २०१७ चार दिनसम्म चल्नेछ । सन् २०१५ यता बनेका दक्षिण एशियाको समसामयिक विषयहरुमा केन्द्रित ३०० सयभन्दा बढि वृत्तचित्रहरुमध्येबाट छानिएका उत्कृष्ट ६३ वृत्तचित्रहरु प्रदर्शन गरिनेछ । सन् १९९७ मा शुरु भएको यो द्विवार्षिक मेलाले परिवर्तनकारी सोचलाई प्रवर्धन गर्ने, मनोरंजन गर्ने र सु-सूचित गर्ने दक्षिण एशियाली विषयका वृतचित्रहरु विगत १० वर्षदेखि गर्दै आएको छ ।

यो वर्ष प्रदर्शन हुने ६३ मध्ये ४५ वटा वृत्तचित्रहरुले कूल ५,५०० अमेरिकी डलर पुरस्कार राशी भएका पाँचवटा पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । कुन्द दीक्षित संयोजक र पाकिस्तानी सिनेमाकर्मी फरजाद नावी र भारतीय पत्रकार राजश्री देशगुप्ता सदस्य रहेको निर्णायक समितिले उत्कृष्ट वृत्तचित्रहरु छान्नेछ ।

‘फिल्म साउथ एशिया २०१७’ मा समावेश ‘विद्यार्थी वृत्तचित्रहरु’मा भावी सिनेमाकर्मीहरुको ६ वटा वृत्तचित्र प्रदर्शन गरिनेछ भने ‘विद्रोहका वृत्तचित्र’ खण्डमा दक्षिण एशियाली देशमा प्रतिबन्दित वा विद्रोहसँग सम्बन्धित १२ वटा वृत्तचित्रहरु प्रदर्शन गरिनेछ । ‘विद्रोहका वृत्तचित्र’ खण्ड दक्षिण एशियामा खुम्चदै गएको आलोचनात्मक सार्वजनिक वहस क्षेत्रभित्रबाट वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको सीमालाई फराकिलो बनाउने प्रयास हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *