फोरम नेपालको कार्यक्रम बिथोल्न खोज्ने राजपाका दुई सय कार्यकर्ता लखेटिए

सर्लाही २८ जेठ-  संघीय समाजवादी फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम बिथोल्ने चेतावनी दिएको राजपा कार्यकर्ताले उपेन्द्र यादवमाथि आक्रमणको प्रयास विफल पारिएको छ । सर्लाहीमा उपेन्द्र यादवलाई कार्यक्रम नै गर्न नदिने धम्की दिएर अवरोधमा उत्रिएका राजपा कार्यकर्तालाई फोरम नेपालका कार्यकर्ताले लखेटेका छन् ।

करिब दुई सयको संख्यामा रहेका राजपा कार्यकर्ताले फोरम नेपालको कार्यक्रम विथोल्ने प्रयास गरेका थिए । तर, हजारौंको संख्यामा उपस्थित फोरम कार्यकर्ताले राजपाको अवरोधलाई विफल पारिदिए । राजपाको शक्ति केन्द्र मानिएको सर्लाहीमैं उनीहरुको कार्यकर्ता लखेटिएका छन् ।

राजपाका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको गृहजिल्ला सर्लाही पुगेर अवरोधकाबीच पनि यादवले यसरी तामझामका साथ चुनावी कार्यक्रम सफल पारेका छन् । कार्यक्रममा राजपासहित नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका हजारौंको संख्यामा  नेता कार्यकर्ताहरुको समूहलाई यादवले पार्टीमा भित्र्याएका छन् ।

सर्लाहीको क्षेत्र न. ५ को मधुवन गोठमा आइतबार दिउँसो आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न हिडेका यादवलाई राजपाका करिब दुई सय कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । केही स्थानमा उनीहरुले कालो झन्डा समेत देखाए ।
राजपाका कार्यकर्ताहरुले बिहानैदेखि टायर बालेर सडक अवरोध गर्न खोजेका थिए । कालो झन्डा देखाउन खोजेपछि राजपा र फोरम नेपालका कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो ।

कार्यक्रम बिथोल्न राजपाले गोप्य तयारी गरेको खुलासा भएपछि फोरम नेपाल र स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई थप बलियो बनाएका थिए । उच्च स्रोतका अनुसार राजपा मण्डलका अध्यक्ष राजेन्द्र महतोको प्रत्यक्ष निर्देशनमा सर्लाहीमा यादवको कार्यक्रम बिथोल्ने रणनीति बनेको थियो ।

मधेशको एजेन्डामा प्रष्ट हुन राजपालाई उपेन्द्र यादवको सुझाव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको माग र एजेन्डामा प्रष्ट हुन राजपालाई सुझाव दिएका छन् । सर्लाहीको मधुवनमा आयोजित पार्टी प्रवेश कार्यक्रमर्लाइ सम्बोधन गर्दै अध्यक्ष यादवले एजेन्डाभन्दा बाहिर गएको राजपालाई मधेशका जनतालाई दिग्भ्रमित नपार्न पनि सुझाव दिए ।

‘राजपा आफ्नै एजेन्डामा प्रष्ट छैन । कहिले यो कहिले त्यो भन्छ । जाने कहाँ हो, पुगिने कहाँ हो, त्यसमा उनीहरु आफै क्लियर छैनन्’– यादवले भने । स्थानीय चुनावलाई संघर्षको कार्यदिशा बनाउनु पर्नेमा मधेशलाई विकासबाट बञ्चित गर्ने दुष्साहस नगर्न समेत उनले राजपालाई सुझाव दिए ।

लोकतान्त्रिक गणतन्त्रको रक्षा, आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न, मधेशलाई विकासको मूलसँग जोड्न र आगामी आन्दोलनको लागि शक्ति सञ्चय गर्ने उद्देश्यले फोरम नेपाल चुनावमा होमिएको यादवले प्रष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *