बर्ष उत्कृष्ट गीतकार नृपध्वज खड्का र सुवाश संगम राई, राजेन्द्र थापालाई १ लाख १ रुपैयाको सम्मान

ईन्द्र जिजीबिषा / काठमाडौ १३ भदौ-गीतकार संघ नेपालको राष्ट्रिय स्रष्टा सम्मान तथा बर्ष गीत कार्यक्रम सम्पन्न भएको छ । गीतकार संघ नेपालले स्रष्टा सर्जकको उत्साह क्रियाशिलता र सम्मानको लागि हरेक बर्ष आयोजना गर्दै आएको राष्ट्रिय स्रष्टा सम्मान कार्यक्रम यो बर्ष नेपाल सरकारका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय स्रष्टा सम्मान -२०७३ बाट वरिष्ठ गीतकार राजेन्द्र थापालाई रु एक लाख एक रुपैया सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित थापाको ” पोहोर साल खुसि फाट्दा,पर लैजाउ फुलहरु,दिलमाया, दर्शन नमस्ते,क्या दामी भो,जस्ता दर्जनौ गीतहरु लोकप्रिय छन् ।

कार्यक्रममा, गीतकार नृपध्वज खड्का र गीतकार सुवाश संगम राईलाई रु ५१ हजार र प्रमाणपत्र सहित सर्वोत्कृष्ट बर्ष गीत पुरस्कार -२०७३ बाट पुरस्कृत गरियो भने स्रष्टा डायस्पोरा सम्मान रु ११ हजार र प्रमाणपत्रले गीतकार जानुका राईलाई पुरस्कृत गरियो ।

कार्यक्रममा वरिष्ठ गीतकार एसपी कोईरालाले सम्मानित गीतकार राजेन्द्र थापाको गीति पक्षका बारेमा सम्पुर्ण गीतकारहरुको तर्फबाट मन्तव्य राखेका थिए भने प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले गीतकार संघ नेपालको मुखपत्र “विशेषांक २०७४” को विमोचन तथा संघको नयाँ वेबसाईट को शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्रीले गीतकार संघ नेपालले गरेको कार्यक्रमको प्रशंसा गर्दै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने सहयोग गर्न तत्पर रहेको बताउनु भयो । कलाकारलाई राष्ट्रको गहनाको रुपमा मात्रै हेरेर नपुग्ने, कलाकारलाई सम्मान पनि गर्नु पर्छ भन्नु भयो ।

गीतकार संघ नेपालले,यो भन्दा अगाडि बरिष्ठ गीतकार रत्न शमशेर थापा,किरण खरेल,यादव खरेल र भैरव नाथ रिमाललाई राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मान गरिसकेको छ ।

कार्यक्रममा, बर्ष गीत टप टेनमा पर्ने गीतकारहरु बिरेन्द्र पाठक,सुवाश संगम राई,अन्जन किराती,किरण टि लिम्बु,विरही कार्कि,प्रभा बर्तौला ,नृपध्वज खडका,डि आर,बिमला तुलाचन,शंकर देव कंडेललाई खादा र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा आजीवन सदस्यहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

गीतकार संघ नेपालको अध्यक्ष चुडामणि देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप-कुलपति शम्भुजित बास्कोटा,नेपाल सरकारका पुर्व अर्थमन्त्री एसपी कोईराला,पुर्व सचिव द्वय विमल कोईराला र भोजराज घिमिरे, श्री पुरुष ढकाल,रत्न शम्सेर थापा,किरण खरेल,यादव खरेल,दिनेश अधिकारी,विश्व बल्लभ,उन्नति बोहरा,दिपक जंगम, शक्ति बल्लभ,बच्चु कैलाश,प्रेमध्वज प्रधान,दिपक खरेल लगायत कवि गीतकार तथा अन्य बौद्धिक वर्गहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा गीतकार संघ नेपालको महा सचिव शुभ मुकारुङ्गले स्वगत मन्तव्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *