बाबु बाट बलात्कृत भएको छोरीहरुको कहानी

यो यस्तो कथा हो, जो आफैलाई जन्म दिने बाबु बाट छोरीहरु बलात्कृत भएकी छिन् । यहि वास्तविक कथालाई आज यहाँ प्रस्तुत गरेका छौ ।

वकीलले पनि ढाँट्न लगाए: पवित्रा
बुवा बितेपछि आमाले अर्कैसँग बिहे गरिन्। अर्को बुवाबाट पनि आमाले बच्चा जन्माएपछि हेर्ने जिम्मा मेरै भयो। स्कूल जान पाए पनि घरको काम सबै मैले नै गर्नुपर्थ्यो। सौतेनी बाउले आमा र मलाई कुटिरहन्थे।
दुई वर्षअघि, त्यस दिन आमा मन्दिर जानुभएको थियो। सौतेनी हजुरबाले बहिनीलाई काममा पठाए र मलाई तानेर भित्र लगे। म कराएँ तर, सुन्ने कोही भएन। उनले मलाई बलात्कार गरे। पछि मैले सबै कुरा बहिनीलाई भनें, उसले आमालाई सुनाइछ। गाउँले सबैले थाहा पाएपछि प्रहरी आइपुग्यो।

मैले बयान दिने बेलामा सौतेनी बुबा र वकीलले ‘गाउँको अर्कै मान्छेले पैसा दिएर यो सबै भन्न लगाएको भन्नु’ भने। म त डराएकी थिएँ तर, बहिनीले बुबा र वकीलको कुरा सबैलाई सुनाइदिई। यो घटनापछि सौतेनी बुवाले आमालाईं झनै कुटपिट गर्न थाले।
मैले सुनेको, हजुरबुवालाई जेल नहालेर वृद्धाश्रममा पठाएका छन् रे!

अझै मार्ने धम्की दिन्छन्: निर्जला
बुवा–आमा, दुई बहिनी र म सँगै बस्थ्यौं। एकजना दाजु बाहिर काम गर्नुहुन्छ। मलाई स्कूल जान मन लाग्दैनथ्यो त्यसैले धेरैजसो समय खेलेरै बिताउँथें।

पोहोरको कुरा हो, बुवा–आमा खेतमा जानुभएको थियो अनि बहिनीहरू स्कूल। त्यसैबेला छिमेकी दाइले ‘माछा मार्न जाउँ’ भन्यो। २४ वर्ष जतिको होला, कराते पनि खेल्थ्यो। राम्रो चिनजान नभएकोले पहिले त ‘जान्न’ भनें तर, धेरै कर गरेपछि मन नलागी–नलागी गएँ।

हाम्रो गाउँबाट नदी जाँदा बाटोमा सानो जंगल छ। त्यहीं भयो ‘यस्तो’ घटना। म कराउँदै फुत्किन खोजेकी थिएँ तर उसले मलाई मार्ने धम्की दियो, बुवा–आमालाई पनि नभन्नु भन्यो। पछि दौडिंदै घर पुगें तर कसैलाई भन्न सकिनँ।
जंगलमा एक जना गाउँलेले म भाग्दै गरेको देखेछन् र केही दिनपछि बुवालाई सुनाइदिएछन्। तर, केटाको परिवार धनी भएकोले बुवा डराउनुभयो। तर, आमाले साहस देखाउनुभयो। आमा र म उजुरी गर्न प्रहरी कार्यालयमा पुग्यौं। प्रहरीको प्रश्न र व्यवहारले त मलाई केही बोल्नै मन लागेको थिएन। शुरूमा त प्रहरीले उजुरी दर्ता नै गर्न मानेको थिएन तर, आमा त्यहीं रुन थालेपछि भने दर्ता भयो।

अहिले ऊ जेलमा छ तर उसका मान्छेले मार्ने धम्की दिएकाले म गाउँ जान सकेकी छैन। अर्कैले गरेको अपराधले गर्दा म बुवाआमासँग बस्न पाएकी छैन।

तीन वर्षसम्म सहिरहें: सीता
आमा–बुवा, दिदी, बहिनी, भाइ र म समेत गरी परिवारमा ६ जना छौं। आमा–बुवा काठमाडौं गएकाले ८ वर्षकी हुँदासम्म म हजुरबुवा–हजुरआमासँगै गाउँमा बस्थें। पछि आमा–बुवा दोलखा फर्कनुभयो, र सानो चिया नास्ता पाइने पसल खोल्नुभयो। म उहाँहरुसँगै बस्न थालें।

दोलखामा हाम्रो खानेकुराको सानो पसल थियो, हामी त्यही पसलको माथिल्लो तलामा बस्थ्यौं। दुई वटा कोठा भए पनि बुवाले केटी मान्छे एक्लै सुत्नुहुँदैन भनेपछि म, उहाँहरूकै कोठामा सुत्न थालें।
बुवा असाध्यै रक्सी पिउनुहुन्थ्यो र सबैलाई जथाभावी पिट्नुहुन्थ्यो। भनेको नमाने जथाभावी भन्ने र कुटपिट गर्ने त पुरानै बानी थियो। एक दिन म आमासँग भान्सामा काम गरिरहेको बेला बुवाले माथि बोलाउनुभयो। आमाले पनि कुटाइ खाने डरले जा भन्नुभयो।

बुवाले पहिलो पटक बलात्कार गर्दा म १२ वर्षकी थिएँ। साह्रै पीडा हुन्थ्यो। आमालाई भनिहाले उहाँलाई झन् धेरै समस्या हुने हो कि जस्तो लागेकाले केही भनिनँ। तर, ममाथि यस्तो उत्पीडन तीन वर्षसम्म भइरह्यो। बिहान, दिउँसो र साँझ। धेरै पटक आमालाई भन्ने कोशिश गरें तर हिम्मत जुटाउन सकिनँ। एक दिन बुवा बाहिर गएका बेला बल्ल आमालाई सबै कुरा सुनाएँ, अनि दिनभर रोइरहें।
बुवा फर्केर आएपछि आमाले सोध्दा उनले केही भएकै छैन भनेर मलाई झूटो बोलेको आरोप लगाए। प्रहरीकहाँ जाने पनि आँट आएन।

अन्ततः बुवाले मलाई घरबाटै निकालिदिए। त्यसबेला म एउटा अफिसमा काम गर्थें, मैले सबै कुरा अफिसमा सुनाएँ उनीहरूले मलाई महिला अधिकारकर्मीसँग भेट्टाइदिए।

अहिले बुवा जेलमा छन्। परिवारका सबैले मलाई सहयोग गर्नुको साटो बुवालाई जेलबाट निकाल्न दबाब दिइरहेका छन्। उनी चाँडै जेलबाट छुट्दैछन्, छुटेपछि मलाई मार्छन् भन्ने डर लाग्छ।

Leave a Reply

Your email address will not be published.