भ्रष्टाचार मुद्धामा सजाय भोगेका खुम बहादुर खड्कालाई सरकारले ३५ लाख रुपैयाँ दिने

काठमाडौ २७ असोज- देउवा नेतृत्व सरकारले पूर्वगृहमन्त्री खुमबहादुर खड्कालाई ३५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई उपचार खर्चबापत १५ लाख र द्वन्द्वकालमा घर क्षति भएकाबापत २० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

अकूत सम्पति कमाएको अभियोगमा डेढ बर्ष जेल परेका खड्काको दाङमा रहेको उनको घर द्वन्द्वकालमा क्षति भएको थियो । खड्का केही समयदेखि किड्नीको उपचार गराइरहेका छन् ।

२०६९ साउनमा सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले खड्कालाई डेढ बर्ष कैद र ९४ लाख ७४ हजार एकसय २२ रुपैयाँ जरिवाना र त्यति नै बिगो तिर्नुपर्ने फैसला सुनाएको थियो ।

फैसलाको ६० दिनभित्र अदालतमा उपस्थित भएकाले खड्काको सजाय २० प्रतिशत मिनाहा भएको थियो । जसको कारण उनी १४ महिना जेल बसेर २०७० असोज २३ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *