मनाङमा राजीव गुरुङ (दिपक मनाङे ३९० मतान्तरले विजयी

मनाङ, २२ मंसिर – दीपक मनाङे भनेर चिनिने स्वतन्त्र उम्मेदवार राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले १ हजार ४ सय १० मत पाएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङ ३ सय ९० मतले पराजित भएका छन् । उनले १ हजार २० मत पाएका छन् ।

मनाङ प्रदेश (ख) मा माथिल्लो मनाङको ७ गाविस मिलेर बनेको नेस्याङ गाउँपालिका साथै नार र फू गाविस मिलेर बनेको नारफू गाउँपालिका पर्छ । कूल ३ हजार ७ सय २ मतदाता रहेको मनाङ (ख) मा २ हजार ४ सय ३६ मत खसेको थियो ।

एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएकी थिइन् । जिल्लाबाट एमालेले राजीवलाई सर्वसम्मत सिफारिस गरेपनि उनको विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो । मनाङेले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

मनाङबाट प्रतिनिधि सभामा कांग्रेसका टेकबहादुर गुरुङभन्दा एमालेका पोल्देन छोपाङ गुरुङ अगाडि छन् । पोल्देनले १ हजार ६ सय १३ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङले १ हजार १ सय ४२ मत ल्याएका छन् । उनीहरुको मतगणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *