ममता राईको “ममता २” सार्वजनिक (भिडियो सहित)

ईन्द्र जिजीबिषा-काठमाडौ २० जेठ- गायिका ममता राईको गीति एल्बम “ममता २”को विमोचन गरिएको छ । ग्रीन ईन्टरनेशनल क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ गायिका मिरा राणा प्रमुख अतिथि रहेकी थिईन् । यसैगरी कार्यक्रममा प्राज्ञ वरिष्ठ संगीतकार शान्तिराम राई र प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुली, गायिका पार्वती राई, संगीतकार शिब संगम राई लगायत पत्रकार कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममको बिचमा प्रमुख अतिथि लगायत अतिथिहरुले गीति एल्बमको विमोचन गरेका थिए ।

“मत मायामा हारेको मान्छे” बोलको गीत रेकर्ड गराएर सांगीतिक क्षेत्रमा अगाडि बढेकी गायिका ममता राईको यो दोस्रो गीति एल्बम हो । खोटांग बुईपामा जन्मिएकी गायिका ममता राईले यो भन्दा अगाडी “ममता” गीति एल्बम स्रोता दर्शक सामु ल्याई सकेकी छिन् ।

कार्यक्रममा एल्बमको समिक्षा गर्दै प्रज्ञा वरिष्ठ संगीतकार शान्तिराम राईले एल्बममा दुई चार वटा गीतहरु एकदमै उत्कृष्ट रहेको बताए । गीतहरु सबै उत्कृष्ट हुदाहुदै पनि गायिका ममता राईको स्वर झलक्कै सुन्दा सत्यकला राईको जस्तै आवाज आउने भएकोले यसमा आफ्नै ब्राण्ड बनाउन गायिकालाई सुझाव दिए ।

यस्तै प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुलीले गायिका ममता राईको स्वर राम्रो रहेकोले भविष्य उज्ज्वल रहेको बताए । यति हुदाहुदै पनि हिजोका दिनहरुमा संगीतको बजार जति साँघुरो थियो आज त्यो फराकिलो बनेको छ । सबैको हात हातमा मोबाईल छ . मोबाईल बाटै सुन्न मिल्ने भएकोले बजार पनि फराकिलो बनेको छ । तर यसलाई उचित व्यवस्थापन गर्न नसकेकोले ममता र ममता जस्ता सयौ गायक गायिकाहरुले त्यसको बोझ बोकी रहेको बताए ।

यस्तै कार्यक्रममा, प्रमुख अतिथिको आसन बाट बोल्दै वरिष्ठ गायिका मिरा राणाले भनिन् ” गायिका बैनी ममता राईको स्वर मात्रै राम्रो हैन मान्छे पनि धेरै राम्रो हुनुहुदो रहेछ । गीत गाउनुको साथ-साथै मोडलिङ्ग पनि गर्नु हुदो रहेछ, यो खुसीको कुरा हो । ममता बैनीको गीतहरु सबै सुने, अत्यन्तै राम्रो लाग्यो । मैले यो गीत संगीतको क्षेत्रमा ५३ बर्ष बिताई सकेको छु । यो ५३ बर्षको अनुभव बाट मुल्यांकन गर्दा ममता बैनीको स्वर अत्यन्तै मिठो लागेको छ । “

गायिका ममता राईको गीति एल्बम “ममता २” मा ६ वटा गीतहरु रहेका छन् । एल्बममा रहेको “शिरैमा फूल मेरो” बोलको गीतलाई शब्द रचना र संगीत शिव संगम राईले गरेका छन् भने एरेन्ज गोपाल रसाईलीले गरेका छन् । एल्बममै रहेको दोस्रो गीत भूपाल राईको शब्द रचनालाई शिव संगम राईले नै संगीत गरेका छन् भने सुन्दर लामाले एरेन्ज गरेका छन् । अर्को गीत ” फूलै राखी हातैमा, विन्ती बिसाउकी” बोलको गीतलाई पनि शिव संगम राईले नै संगीत गरेका छन् भने, लाहाङ्ग सुबाको एरेम्ज रहेको छ । यो गीतमा राजेश पायल राईले ममता राईलाई स्वरमा साथ् दिएका छन् । एल्बममा रहेको अर्को गीत “लेखमै फूल्ने तोरी बारी, बेसी गैह्री खेत” बोल रहेको ईन्द्र जिजीविषाको शब्द रचनालाई खगेन्द्र याक्सोले संगीत गरेका छन् भने चन्दु गोर्खालीले एरेन्ज गरेका छन् । यस्तै एल्बममा रहेको पाँचौ गीत “हाकु पटासीमा हाँसुकी” बोलको गीतलाई ध्रुव सत्यले शब्द रचना गरेका हुन् भने बीबी अनुरागीले संगीत गरेका छन् । एल्बममा रहेको अन्तिम अथवा छैटौ गीत “तिमी मेरो हर विहानी हौ” बोलको गीतलाई रुद्र कुमार राईले लेखेका हुन् भने उत्तम जंग लिम्बुले संगीत गरेका छन् ।

एल्बममा रहेको “शिरै फूल मेरो” गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । यो गीतको म्युजिक भिडियोमा निशा लिम्बु पोमु र रुकमान लिम्बुले अभिनय गरेका छन् । नविन गुरुङले छायांकन गरेको उक्त गीतको म्युजिक भिडियोलाई विकास घायलले सम्पादन गरेका छन् । यो गीतको म्युजिक भिडियोलाई संचारकर्मी तथा निर्देशक एमपी सुब्बाले निर्देशन गरेका छन् । द हाइ ल्याण्ड आर्ट तेह्रथुम ढाका बुटिकले म्युजिक भिडीयो छायांकनको लागी पहिरनहरु उपलब्ध गराएका थियो ।

ममता राई गायिका मात्रै हैनन्, उनि मोडेल पनि हुन् । “मेरो जीवनको ज्योति ” बोलको गीतमा अभिनय गरेर ममताले नायिकामा डेब्यु गरेकी हुन् । उक्त गीतमा ममता राईले नायक गजित बिष्ट संग अभिनय गरेकी छिन् । “टुनामुना” बोलको गीतमा पनि ममता राईले अभिनय गरेकी छिन् । यसको अलावा अन्य केही गीतहरुमा पनि अभिनय गरिसकेकी छिन् ममताले ।

कार्यक्रममा शब्द रचनाकार, संगीतकार, एरेञ्जर, रेकर्डर लगायत अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

“फूलै राखी हातैमा” गीतको म्युजिक भिडियो हेर्न याहाँ क्लिक गर्नुहोला 


ममता राई आफ्नो दोस्रो एल्बम विमोचनको अवसरमा एल्बमको बारेमा बोल्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *