म एक अनाम मान्छे : नमन राई

naman rai

म एक अनाम मान्छे

सिम्माको लहलह
रायोको साग जस्तो बैंस
सप्रेको भोगटे जस्तो चिल्लो अनुहार
सबै उतैतिर थाँती राखेर
बोकेर मनमा बाँकी सम्झना

रोपेर वालाखुमा बिरुवा फूलको
चढाएर देउरालीमा- मायाले छपक्कै भिजेको पाती
हाम्रो प्रेम युगौयुग रहोस् भन्दै
खै के के न देखेर
गाउँ छाडेको म एक अनाम मान्छे

बत्तीएर हावा जस्तै- सजाएर एकहुल सपना
नाँघेर थानकोटको गल्छी
सहर छिरेको म एक अनाम मान्छे

दिनहुँ
यो अस्तब्यास्त सहरको
कोलाहल भित्र पाइला-पाइलामा
फगत दु खको लम्बाईहरु गन्दै
ठक्कर खाँदै भौतारी रहेको हुन्छु
मस्त निदाइ रहेको रातमा
म जीवनको एकटुक्रा कविता
सधैं केरमेट-केरमेट गर्दै बसिरहेको हुन्छु

देख्छु यहाँको मान्छेहरु पनि
घाम नब्युँझिदै
मोलेर
जोखिम जीवनको एकटुक्रा लय
गुनगुनाउँछन्
निरस-निरस भाकाहरुमा
बिछिप्त बनाई दिन्छन्
मिठो देखिरहेको मान्छेका सपनाहरु

पलपल हानिरहँदा चड्कन्
कयौं अभाबहरुले
उभिएकै हो

निशङ्कोच
सन्देह त मलाई
यो सहरका
कम बोल्ने मौन मानिसहरु शीत छ

झन् खतरा त
थाहै नपाई
खुट्टा तान्नेहरु सङ्ग
कस्सम
जोगिन बहुत मुस्किल छ ।

नमन राई

 

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES