राजेश पायल राईका १० कुरा

rajesh-payal-raiभदौ २३, काठमाडौं । पूर्वी नेपालको खोटाङबाट राजेश पायल राई गायक बन्ने सपना बोकेर संघर्षका लागि जब काठमाडौं आए, उनलाई कसैले पत्याएन । त्यसबेला उनलाई आफैंप्रति हीनताबोध भयो, म त खत्तमै छु कि क्या हो !

त्यस्तो लाग्दा उनी परिवारका मान्छेहरू राजनीति र ब्रिटिस आर्मीमा छन्, म त्यता किन नजाने भन्नेसम्म सोच्थे । अर्को मनमा आफ्नो राम्रो स्वरदेखि डाहा लागेर मान्छेहरुले नरुचाएको होला भनेर उनी जसरी पनि केही बनेर देखाउँछु भनेर अठोट लिन्थे ।

नभन्दै निरन्तरको प्रयासले आज उनले आधुनिक गायनका साथै नेपाली फिल्मको पाश्र्व गायनमा छुटाउनै नहुने नाम बनाएका छन् । संगीतयात्रामा उनले देखे-भोगेका केही अनुभव र किस्सा उनकै शब्दमाः

अहिलेसम्म पाँच हजारभन्दा बढी गीत गाइसकेको छु मैले । अंग्रेजी, जापानी, हिन्दी, मैथिली, थारु, भोजपुरी लगायत ५० भन्दा बढी भाषाको गीत गाएको छु । सबैभन्दा धेरै फिल्मकै गीत गाएको छु । ०५२ देखि फिल्ममा निरन्तर गाइरहेको छु । मेरो व्यस्तताका कारण कतिपय अवस्थामा निर्माताहरूले तीन-चार महिनादेखि नौ महिनासम्म कुरेका छन् । ‘झोले’ फिल्ममा नौ महिना र ‘मायाज बार’मा ६ महिना कुरे । यो देख्दा खुशी लाग्छ ।

एउटा गीत गाउँदा बढीमा २५ हजार रुपैयाँसम्म लिएको छु । पछिल्लो समय ‘ए मेरो हजुर २’ फिल्ममा गाउँदा २५ हजार लिएँ । नेपालमा २०/२५ हजार रुपैयाँ लिँदा बढी के भन्नु ! तर, यहाँ त्यति पैसा लिने म मात्र होला । कतिपय गीत सित्तैमा पनि गाउनुपर्छ । खासमा मेरो कुनै रेट छैन । रेटबिनाको कलाकार हुँ म । लागूऔषधविरुद्ध, ट्राफिक सचेतना जगाउने गीतहरूमा निकै कम पैसा लिएर गाएको छु ।

क्षमता भएका तर पैसा नभएका प्रतिभा छ भने उसलाई म मद्दत गर्छु । सित्तैमा पनि गाइदिन्छु । अस्ति जुम्लाबाट एउटा गायक भाइ आएका थिए । पैसा रहेनछ । मैले आफ्नै खर्चमा उसको गीत रेकर्ड गराइदिएँ । यहाँ कतिले त्यस्तो हिम्मतै गर्दैनन् । नयाँ गायक आयो भने डराउँछन्, मलाई गाउन दे भन्छन् । तर, त्यस्तो कुरामा म असुरक्षित महसुस गर्दिनँ । ज्यादातर मान्छे मकहाँ पैसा छैन भन्दै आउँछन् । संयोग हो कि म अलि दिलदार मान्छे भन्ने थाहा भएर हो, सहयोगको आश राख्छन् । सहयोग गर्न पाउँदा मन रमाउँछ ।

एकजना हुम्लाको मान्छे पनि आउनुभएको थियो । तीनवटा गीत गाएँ मैले । तर, पैसा छैन भन्नुभयो । एरेन्जर फणिन्द्र राई हुनुहुन्थ्यो । अब के गर्ने भनेर फणिन्द्रसँग सोध्दा ‘गाउँको भाइ हो, लुगा हेर्दा पनि गरिबै होला हौ’ भन्नुभयो । तीनवटा गीत गाएपछि खुशी भएर ती मान्छेले मलाई प्लाष्टिकमा पोको पारेको वस्तु दिए । खोलेर हेर्दा त आधा किलो यार्सागुम्बा रै’छ । अचम्म लाग्यो मलाई । साथीहरुले खै कस्तो हुँदो रै’छ भनेर एक-एक टुक्रा चाख्दाचाख्दै त्यत्तिकै सिद्धियो ।

५-गाउन लगाउने र पछि पैसा दिउँला भनेर भेटै नभएको उदाहरण पनि छ । फिल्म ‘मुनामदन’ र ‘बसाइँ’मा त्यस्तै भो । मुनामदन महाकवि देवकोटाको कृतिमा बनेको अनि बसाइँ लिलबहादुर क्षेत्रीको उपन्यासमा बनेको फिल्म थियो । महान् कृतिमा बनेका फिल्ममा गाउने मौका पाउँदा ‘बाफ रे’ भन्ने लाग्यो । खुशी र गर्व महसुस भयो । तर, दुवै फिल्मबाट पैसा पाइएन । दुवै निर्माताको अझैसम्म अत्तोपत्तो छैन ।

गीत गाउँछु र गाइदिनुपर्‍यो भन्दै अचम्मकै मान्छेहरू आउँछन् । जे गर्न पनि तयार छु, जसरी होस् अगाडि बढ्नु छ भनेर आफैंलाई पेश गर्छन् । तर, म नैतिकतामा अलि कडै छु । एक वचनमा राजेश पायल टाँस्सिइरहँदैन । टाँस्सिने भएको भए यो स्थानमा आउने पनि थिइनँ होला ।
म नयाँहरुलाई सहयोग गर्छु, प्रेरणा दिन्छु । तर, राम्रो छैन भने तिमी संगीतमा अबदेखि नलाग्दा हुन्छ भनेर कठोर वचन पनि बोलिदिन्छु । त्यसो भन्दा उनीहरुलाई कडा लाग्ला, तर सत्य कुरा खुलेर भन्ने मेरो बानी छ । गाईलाई गधा बनाउन सकिँदैन । त्यस्ता १० प्रतिशत मान्छे भेटिन्छन् । रहर हुने तर स्वर नहुने । सत्य बोल्दा उनीहरू चित्त दुःखाउँछन् । राजेश त घमण्डी रै’छ भन्छन् । तर, म सरल र स्पष्ट छु । मान्छेलाई प्याच्च भनेको जस्तो लागे पनि साँच्चिकै लिन सक्यो भने त्यसले सञ्जीवनी बुटीको काम गर्छ ।

७-संगीतमा केही नबुझी आउने र काकतालीले चलेकाहरू पनि छन् । सबै जानेका छन् भन्न सकिन्न । हुन त मैले पनि संगीत सिकेको छुइनँ । गर्दै र सिक्दै आफ्नै अनुभवले खारिएको कलाकार हुँ म । तर, यहाँ दूध र पानी छुट्याउन नसक्ने मान्छे छन् । प्रतिभा चिन्दैनन् । त्यस्तो काकताली संसारका सबै ठाउँमा पर्छ । एउटा गीत बम्पर चल्ने र त्यसपछि मान्छे गुमनाम !

मैले ‘राई इज किङ’ भनेर पनि गाएँ । तर, कतिपय मान्छेहरूले त्यसलाई रुचाएनन् । यसो गहिरिएर बुझ्दा खासमा अरु जातका मान्छेले ‘राई इज किङ’ भन्न नसकेको हो कि जस्तो लाग्छ । हामी ‘माई नेम इज खान’, ‘सिङ इज किङ’ हेर्न चाहिँ तँछाडमछाड गर्छौं, आफ्नै देशभित्र राई इज किङ भन्नुपर्‍यो भने चाहिँ नाक खुम्चाउँछौं ।

९-एकै दिन नौ वटा गीत रेकर्ड गरेर पनि नेपालमा कीर्तिमान राखेको छु मैले । तर, कीर्तिमान राख्ने होडले त्यसो गरेको होइन । हतारमा काम सक्नतिर लाग्दा कीर्तिमान बनेछ । विराटनगरमा कन्सर्टको लागि गएको थिएँ । कन्सर्टको अर्को दिन मात्र त्यहाँ बस्ने समय थियो । त्यसको भोलिपल्ट जसरी पनि काठमाडौं र्फकनुपर्ने थियो । त्यहाँ एउटा रेकर्डिङ स्टुडियोमा मेरो लागि म्युजिक ट्र्याकहरु तयार पारिएको रहेछ । एरेन्जर कुन्दन राई र रेकर्डिष्ट धीरज श्रेष्ठ थिए । बिहानदेखि रेकर्ड गर्दै जाँदा नौ वटा सकिएछ । यसो बुझ्दा नेपालमा एकै दिन कसैले त्यति गीत रेकर्ड गरेको रहेनछ । त्यहाँ रेकर्ड गराएको धेरैजसो गीत ‘जदौ २’ एल्बममा राखेको थिएँ ।
म अलि जिद्दी खालको छु । कुनै चिज चाहियो भनेपछि पाउनैपर्छ । घुम्दै जाँदा कुनै सामान मन पर्‍यो भने कुनै पनि मूल्यमा त्यो लिन्छु । चाहे त्यो सय रुपैयाँको होस्, चाहे लाखको । खानेकुरा चाहिँ जे भए पनि चल्छ । पहिरन र आफ्नो शैलीमा अलि चुजी छु ।

१०कपाल धेरैभन्दा धेरै परिवर्तन गर्ने गायकमा पर्छु । लुगा विचित्र खालको लाइदिन्छु । महँगो नहुन पनि सक्छ । तर, मैले लगाएपछि मान्छेहरुले महँगो नजरले हेरिदिन्छन् । संसारै विचित्रको छ, सबै उस्तै हुनु जरुरी छैन भन्ने लाग्छ ।

source: onlinekhabar

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES