राज्यमन्त्रीलाई डेरा व्यवस्थापन गर्न दुई-दुई लाख नगद

काठमाडौ १८ भदौ- शेरबहादुर देउवा नेतृत्व सरकारका राज्यमन्त्रीलाई सरकारी क्वार्टर नपुगेपछि सरकारले डेरा व्यवस्थापन गर्न सुरुमै दुई-दुई लाख नगद दिएको छ । स्रोतको अनुसार मन्त्रीलाई आफु बसेको डेरामा सुरक्षाकर्मीको सानो सेन्ट्री बनाउन एक लाख तथा फर्निचर, खाट र टेबल व्यवस्थापन गर्न एक लाख गरी दुई लाख रुपैयाँ सुरुमै दिइएको हो।

मन्त्रीको डेरा व्यवस्थापनमा मात्रै ६२ लाख रुपैयाँ खर्च भएको छ । हालै थपिएका २३ राज्यमन्त्री र क्वार्टर अभाव भएका आठ मन्त्री गरी ३१ जनाका लागि ६२ लाख खर्च भएको हो । बाहिर डेरामा बस्ने मन्त्रीहरूले मासिक ४० हजार रुपैयाँ घरभाडाबापत छुट्टै पाउनेछन् ।

बाहिर बस्ने मन्त्रीहरूले घरभाडाबाहेक बिजुली, पानी र टेलिफोनको रकम बिलअनुसार भुक्तानी पाउनेछन् भने पत्रपत्रिका तथा यातायात सुविधा पनि छुट्टै पाउनेछन् । यसैगरी, राज्यमन्त्रीले मासिक ५७ हजार ७ सय ८० रुपैयाँ बुझ्नेछन् ।

भवन निर्माण सम्भार डिभिजन कार्यालय काठमाडौका अनुसार प्रधानमन्त्रीनिवास बालुवाटारको साजसज्जा र व्यवस्थापनका लागि मात्रै ५० लाख विनियोजन गरिएको छ । कोठामा रंगरोगन गर्न तथा कार्पेटिङलगायत कार्य गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको बताईएको छ । यसैगरी, मन्त्रीनिवास पुल्चोकको साजसज्जा र व्यवस्थापनका लागि पनि ५० लाख नै विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *