राष्ट्रपतिद्वारा स्रष्टाहरू पुरस्कृत

काठमाडौँ १९ पुस- मिति २०७४ पुस १८ गते मङ्गलवार राष्ट्रपतिभवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानको पृथ्वी प्रज्ञा पुरस्कारसहित विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सव–२०७४मा विजयी कविलाई पुरस्कृत गर्नुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित समारोहमा यस वर्षको कविता महोत्सवमा पहिलो भएका चन्द्र रानोहँछा र दोस्रो भएका सुवास राई ‘क्याप्टेन’ तथा तेस्रो भएका दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’ लाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले पहिलो हुनेलाई ३० हजारसहित पदक, दोस्रो हुनेलाई २५ हजार र पदक तथा तेस्रो हुनेलाई जनही २० हजार रुपैयाँसहित पदक प्रदान गर्नुभयो । गत असार ९ गते प्रतिष्ठानको ६० औँ वार्षिकोत्सवमा आयोजित प्रतियोगितामा विजेता कविहरूलाई पुरस्कार घोषणा गरिएको थियो ।
प्राज्ञिक क्षेत्रको गरिमामय र धेरै नगद राशिको मानिने पृथ्वी प्रज्ञा पुरस्कार वरिष्ठ समालोचक एवं निबन्धकार डा. तारानाथ शर्मालाई प्रदान गरियो । प्रत्येक चार वर्षमा दिइने यो पुरस्कारमा चार लाख रुपैयाँ र सम्मानपत्र रहेको छ ।

यस्तै, प्रत्येक दुई वर्षमा दिइने जनही एक लाख रुपैयाँका नेपाल प्रज्ञा संस्कृति पुरस्कार डा. वीणा पौड्याल र नेपाल प्रज्ञा भाषा पुरस्कार डा. रामावतार यादवलाई प्रदान गरियो । हरेक वर्ष दिइने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७३ का लागि विमल निभा तथा २०७४ का लागि धु्रव सापकोटालाई प्रदान गरियो । यो पुरस्कारमा पनि एक लाख रुपैयाँ र सम्मानपत्र दिने गरिन्छ ।

यसैगरी, तराई मधेसमा बोलिने मातृभाषा साहित्यका स्रष्टालाई दिइने नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार गत वर्षको अब्दुल लतिफ शौकलाई उर्दु भाषाका लागि र यस वर्षको सोमबहादुर धिमाललाई धिमाल भाषाका लागि प्रदान गरियो । पहाडी हिमाली क्षेत्रका लागि मातृभाषा साहित्य पुरस्कारचाहिँ २०७३ का लागि पदम राई र २०७४ का लागि धनबहादुर माझीलाई प्रदान गरियो । यी पुरस्कारमा समेत जनही एक लाख रुपैयाँ र सम्मानपत्र दिने गरिन्छ ।
पुरस्कार अर्पण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तनसँगै सांस्कृतिक रूपान्तरण र राष्ट्रको समृद्धिमा स्रष्टाहरूको भूमिका अहम् रहने बताउनुभयो । उहाँले साहित्य तथा संस्कृतिका माध्यमबाट नेपाललाई विश्वमा चिनाउन र राट्रलाई समृद्ध बनाउने स्रष्टाहरूलाई सम्मानित गर्न पाउँदा गौरवान्ति भएको बताउनुभयो ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री एवं प्रतिष्ठानका संरक्षक जितेन्द्रनारायण देवले असल भाव र सन्देशका कविताले युगलाई सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले छिमेकी भारत, चीनलगायत दक्षिण एसियाका विभिन्न प्राज्ञिक निकायसँग सहकार्यका भइरहेको र बाँकी निकायसँग सहकार्यका लागि पहल भइरहेको सुनाउनुभयो ।

उपकुलपति डा. विष्णुविभु घिमिरेले समारोहमा उपस्थित राष्ट्रपति, मन्त्री एवं सहभागी महानुभावहरूप्रति कृतज्ञतासहित अभार प्रकट गर्नुभएको थियो ।
सदस्य सचिव डा. जीवेन्द्रदेव गिरीले प्रज्ञा पुरस्कारहरूका बारेमा संक्षिप्त जानकारी दिँदै पुरस्कृत प्रतिभाहरूको परिचयात्मक विवरण प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय कविता महोत्सवका संयोजक काव्य विभाग प्रमुख प्राज्ञ डा. अमर गिरीले यस वर्षको महोत्सवको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै आत्मिक विकासका लागि कविताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *