रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव पारित

वासिंटन, १३ साउन- अमेरिकी माथिल्लो सदन सिनेटले रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्तावलाई भारी मतले पारित गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको असहमतिकै बीच सिनेटले सो प्रस्ताव पारित गरेको हो । रिपब्लिकन र डेमोक्रेट दुवै पक्षको समर्थन रहेको प्रस्तावको पक्षमा ९८ मत परेको थियो भने विपक्षमा मात्र २ मत परेको थियो ।

यसअघि अमेरिकी तल्लो सदनले पनि उक्त विधेयक भारी मतले नै पारित गरेको थियो । दुवै सदनबाट पारित भएको यो विधेयकमा अब राष्ट्रपतिले हस्ताक्षर गरेपछि कानुन बन्ने छ ।

रुससँगको सम्बन्ध सुधार गर्नुपर्ने पक्षमा रहेका राष्ट्रपति ट्रम्पलाई भने सदनबाट यो विधेयक पारित भएपछि समस्या भएको छ । राष्ट्रपतिलाई विधेयकको विपक्षमा भिटो प्रयोग गर्ने अधिकार भने छ । तर राष्ट्रपतिले भिटो लगाए पनि अमेरिकी संसद्ले दुई तिहाई मतबाट भिटोलाई उल्ट्याइदिन सक्छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *