लगातारको बन्दले पाल्पाका जनजीवन अस्तब्यस्त

मंसिर २४ काठमाडौ, संविधान संशोधन प्रस्तावको विरोधमा एमाले लगायत पाल्पाका राजनीतिक दल, उद्योग वाणिज्य संघ, युवा, तरुण, विद्यार्थीले १० दिनदेखि गरेको लगातारको बन्दले जनजीवन थप कष्टकर बनेको छ ।

दश दिनदेखि यातायातका साधन, विद्यालय, क्याम्पस, बजार, पसल, उद्योग, कलकारखाना ठप्प भएपछि, गाउँमा उत्पादन भएका तरकारी, च्याउ, सुन्तला लगायत बजारसम्म ल्याउन नपाएपछि कृषकहरु मर्कामा परेका छन् । पाल्पाका विभिन्न अस्पतालमा उपचार गर्न आउनेहरु राति अवेरसम्म सवारी साधन नपाएर बसपार्कमा अलपत्र पर्नु परेको छ ।

पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्तावको विरोधमा पाल्पामा दलहरुले बन्द जारी राख्दै आन्दोलनका कार्यक्रम झनै सशक्त बनाएपछि सेवाग्राहीले तीनदिन यता सरकारी कार्यालयबाट सेवा लिन पाएका छैनन् । दलहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेर जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् भने युवा, तरुण, विद्यार्थीले पाल्पाका सबै सरकारी कार्यालय बन्द गराउँदै हिँडेका छन् ।

बन्दका कारण सबैभन्दा बढी शिक्षा, स्वास्थ्य र उद्योग व्यवसायमा असर परेको छ । बन्दले पाल्पाकै ग्रामीण भेगका साथै उत्तर–दक्षिण सिद्धार्थ राजमार्ग र गुल्मी, अर्घाखाँची जाने सडकमा सवारी साधन चल्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *