ललितपुरको ईमाडोलमा आज बाट ग्याँस उत्पादन

कार्तिक ५ काठमाडौ, ललितपुरको इमाडोलमा प्राकृतिक ग्यास (मिथेन) उत्पादनको काम आज देखि सुरु हुँदैछ । उद्योग मन्त्रालय अन्तर्गतको खानी तथा भुगर्भ विभागले इमाडोलमा ग्यास उत्खनन गर्न ड्रिलिङको काम सकिसकेको छ ।

शुक्रबार उद्योग मन्त्री नविन्द्रराज जोशीले ग्यास उत्पादनको औपचारिक सुरुवात गर्दैछन् । विभागले २ वर्षदेखि ड्रिलिङ गरिरहेको भए पनि रोकिएको काम भने, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा सुरु भएको थियो ।

इमाडोलसँगै उपत्यकाका १४ स्थानबाट ग्यास उत्पादन गर्न सकिने निष्कर्श निकाल्दै खानी विभागले उत्खननको कार्यलाई अघि बढाएको हो । इमाडोलको परिक्षण सफल हुनासाथ अन्य स्थानमा परिक्षण गरी उत्पादन थालिने विभागले जनाएको छ ।

खानी विभागका प्राकृतिक ग्यास तथा कोइला शाखाका प्रमुख पृथ्वीलाल श्रेष्ठले अहिले उत्खनन गरिएको ग्यास भण्डारणका लागि प्लान्ट राख्न मेसिन जडान गरेर ग्यास च्याम्बर बनाउने काम गरिएको बताए ।

विभागले पहिलो चरणमा परिक्षणकारूपमा सानो मोबाइल प्लान्ट निर्माण गर्न लागेको श्रेष्ठले बताए । उत्पादन भएको ग्यास भण्डारण गरी सुरूमा आसपासका सरकारी कार्यालयमा प्रयोगमा ल्याउने योजना छ । र, विस्तारै पाइपलाइनबाट सर्वसाधारणका घरमा जडान पनि गर्ने दावी सरकारी अिधकारीको छ ।

श्रेष्ठका अनुसार सम्भाव्यता भएका ठाउँहरुमा ३ सय मिटरको गहिरो ड्रिलिङ गरी जमिनमुनिबाट ग्यास निकालिने छ । यसरी निस्किएको ग्यासमा एक भाग कार्वन र चार भाग हाइड्रोजनको मात्रा हुन्छ, जसलाई ‘सिएसफोर’ भनिन्छ । यस्तो ग्यासमा पानीको मात्रा पनि हुन्छ ।

जमिनमुनिबाट ग्यास निकालेर पाइपमार्फत भण्डारस्थलमा राखेर वा सोझै वितरण गर्न सकिन्छ । यो ग्यास रंगहीन र गन्धहीन हुन्छ । यो ग्यास जस्तो निस्किन्छ त्यस्तै वितरण गरिन्छ ।

जमिनमुनिको ग्यासको निकाल्ने भन्ने कुरा नयाँ भने होइन । २७ वर्षअघि नै जापान सरकारको अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले गरेको अध्ययनमा उपत्यकाका इमाडोल, तीनकुने, कोटेश्वर र त्रिपुरेश्वरसहित करिब २६ वर्गकिलोमिटर क्षेत्रमा ३१ करोड घनमिटर ग्यास भण्डार रहेको उल्लेख गरेको थियो ।

त्यसो त, २३ वर्ष अघि नै उपत्यकाबासीले जमिनमुनिको ग्यासबाट पकाएको भात खाइसकेका छन् । ०४० सालमा टेकुको पँचलीमा रहेको सानो प्लान्टबाट जापानको सहयोगमा ग्यास निकालेर सरकारी र स्थानीयको घरयासीमा प्रयोग भएको थियो ।

त्यो प्रयोग सफल भए पनि त्यसपछि भने थप ग्यास सम्भावनाको खोजी र उत्खननबारे ठोस पहल नै भएन । सरकारले ध्यान नदिएपछि नयाँ संभावनाको खोजी त परै जाओस्, टेकुको प्लान्ट पनि बन्द भयो । सो प्लान्टका सामानहरु काम नलाग्ने अवस्थामा छन् भनेर आज अनलाइन खबरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *