लुम्बिनी विकास कोषका कर्मचारी पुनः आन्दोलनमा

माघ २४ लुम्बिनी, लुम्बिनी विकास कोषका सेवा करार तथा ज्यालादारी कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन्। गत पुस १४ गते लुम्बिनी विकास कोषको व्यवस्थापन पक्ष र आन्दोलनरत कर्मचारीबीच भएका सहमति कार्यान्वयन नभएको भन्दै कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारी पुनः आन्दोलनमा उत्रिएका हुन्।

कर्मचारीले शुक्रबारदेखि जारी राखेको आन्दोलनका कारण लुम्बिनी विकास कोषको दैनिक प्रशासनिक कामकारबाही ठप्प भएको छ। आन्दोलित कर्मचारीले स्थायी कर्मचारीलाई कार्यालयमा गएर कुनै पनि काम गर्न दिएका छैनन्। यसअघि पुस ३ देखि १४ गतेसम्म कर्मचारीले कोषको प्रधान कार्यालय अगाडि आमरण अनशनमा बस्दै कोषको काम कारबाही पूर्णरुपमा ठप्प पारेका थिए।

कर्मचारीका अनुसार कोष व्यवस्थापनले आफूहरुसँग गरेको सहमतिअनुसार अहिलेसम्म एउटा बुँदाको मात्र कार्यान्वयन भएको छ। सहमतिअनुसार आन्दोलित कर्मचारीको बाँकी रहेको तलब भत्ता पाए पनि अन्य चार बुँदाको भने कार्यान्वयन हुन नसकेको कर्मचारीको आरोप छ।

कोषका कर्मचारीको बढुवा, सेवा सुविधा वृद्धि, कोषमा कार्यरत करार, ज्यालादारी कर्मचारीलाई जागिरको सुनिश्चितता प्रदान गरी स्थायी गरिनुपर्ने, कोषमा भइरहेको अनियमितता र भ्रष्टाचार अन्त्य गरी अनियमितता र दोषीमाथि मन्त्रालयले छानबिन गरिनुपर्ने माग कर्मचारीले राख्दै आएका छन्। कर्मचारीले विगत लामो समयदेखि नै आन्दोलन गर्दै आए पनि अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES