लेख्न नभ्याएको एउटा समिक्षा : पञ्च विस्मृत

मैले बुझेका रवि रोदन : पञ्च विस्मृत
कवितालाई बुझेर लेख्ने, बिचार र शिल्पको सुन्दर संयोजनमा विश्वास राख्ने, शब्दहरुको प्रयोगमा कञ्जुस्याइ गर्दै कालजयी कविता कोर्ने कविको नाम नै रवि रोदन हो ।
‘समयस्ट्रोक्स’ हात पार्नअघि मैले कवि रवि रोदनको बारेमा बनाएको धारणा थियो त्यो । एउटा कविलाई बुझ्न उनका धेरै कविताहरु पढिराख्न आवश्यक छैन, लाग्छ । रोदनको समयस्ट्रोक्स पूरै पढेँ; त्यसमा सङ्ग्रहित जम्मै पैँतालीस कविता पढेँ; तर मैले आफ्नो ‘रेडिमेड’ धारणालाई परिवर्तन गर्न चाहिनँ ।

नेपाली साहित्यानुरागीहरुले त्यस्ता धेरै नामहरु पढेका छन् जो नेपालको सिमानाबाहिरबाट आएका हुन् । जस्तो प्रकाश कोवित, युधिर थापा, इन्द्रबहादुर राई, लीलबहादुर क्षेत्री, मनप्रसाद सुब्बा, विन्द्या सुब्बा, मनोज बोगटी, राजा पुनियानी आदि । यीमध्ये केहीले नेपाली भूमिमा रहेका नेपाली पाठकहरुलाई सिक्किम, कालेबुङ्, दार्जिलिङ्ग सबैतिर मज्जाले घुमाउन सफल भएका छन् । नेपालबाहिरका भएर पनि विदेशी नलाग्ने यी कलमजीवीहरु आफूले बाँचेको समाजका कुरा शब्दमा उनेर हामीलाई बाँढ्छन् । यदि हामीबीच साँस्कृतिक नाता वास्तवमै प्रगाढ छ भन्न सकिन्छ भने त्यसको श्रेय प्रथमत: लेखनलाई नै जान्छ ।

यता, लिम्बू इतिहासकार इमानसिंह चेम्जोङ्ग सिक्किममै जन्मेका हुन् । वैरागी काइँला, ईश्वर वल्लभ र इन्द्रबहादुर राईले ल्याएको तेस्रो आयामको इतिहास पनि सिक्किमबाटै सुरु हुन्छ । अहिलेको सन्दर्भमा, इण्डियाका विभिन्न भूभागमा नेपाली भाषी र नेपाली साहित्यमा कलम चलाउने नेपालीहरु बसोबास गर्छन् भन्ने कुरा सुन्नमा आइरहन्छ । नेपाली साहित्यको समालोचना–लेखन, जुन नेपालमा लेखिन्छ, मा नेपालबाहिरका त्यस्ता धेरै उल्लेखनीय नामहरु छुट्ने गरेको भए पनि हामीले तिनको नाम मुक्तकण्ठले लिनै पर्छ । तिनको नेपाली साहित्यमा विशिष्ट योगदान स्वीकार्नै पर्छ । नेपालबाहिरको त्यही मलिलो माटोमा जन्मेका एक कलाप्रेमी, कविताकर्ममा साधनारत कविको नाम नै रवि रोदन हो ।

उपल्लो भूगोलमा नेपाली नश्ल र मन लिएर जन्मिएका कविका कविता हामी आम नेपालीका लागि रुचिको विषय हुनै पर्छ । त्यसैले कवि रोदनका कविताको पठन हैन, अध्ययन गर्न जरुरी देखिन्छ । हामी सबैले लेख्ने भाषा एउटै भए पनि हाम्रो चिन्तन, सिद्धान्त र विषयवस्तुहरु फरक हुन सक्छन् । फरक परिवेशमा बसेर लेखिएका कविताहरुको अध्ययन गर्न पाउनु हाम्रो लागि अहोभाग्यको कुरा हो । त्यसैले उनका कविताहरुलाई विश्वकविताको स्थानमा राखेर समेत पठन आवश्यक छ । अङ्ग्रेजी या अन्य भाषाको साहित्यलाई मात्रै विश्वसाहित्यको स्थानमा राखेर अध्ययन गर्नु कति पनि तर्कसङ्गत देखिँदैन ।

समयस्ट्रोक्स :

“…. मान्छेले मान्छेकै अनुहार
खोसेर
मान्छेलाई निर्वासित पारेको
नाङ्गो कथा
घर–घरमा झुण्डिएको छ
जसका सिरानमा
बुद्ध हाँसिरहेको हुन्छ ।
हरिमाया दर्जीकै सियोले सिएको
सुकिलो लुगा लगाउँछ हर्कमान बाहुन
झिल्केले अर्जापेको खुकुरी
कम्मरमा भिर्छन् हर्कमान अधिकारी
सन्तवीरले सिलाएको जुत्ता लाएर
भुइँ टेक्छन् हर्कमान तामाङ ।
हर्कमानहरु
मालिक भएर हिँडेपछि
बाटो मुन्तिर
हरिमायाहरु/हर्केहरुले
जदौ जदौ भन्नु पर्ने हुन्छ … ।”

– (निर्वासित मान्छे)

नेपालबाहिर बसेर लेख्ने लेखक, कविहरुको कृति पढ्दा मुख्यत: तिनले उठाउने विषयवस्तु, तिनको लेखन शैली, तिनका सृजनामा पाइँने कालजयीता, समसामयिकता हामी सबैको चासोको विषय हुन सक्दछ । भनेँ, यतिखेर मेरो हातमा छ नेपाली मूलका भारतीय कवि रवि रोदनको ‘समयस्ट्रोक्स’ । र, म छु समयमा लेख्न नभ्याएका शब्दहरुसित ।
समयस्ट्रोक्सभित्रको उपर्युक्त कवितांशबाट के बुझ्न सकिन्छ भने नेपालमा बस्ने नेपालीहरुको सृजना र भारतमा बस्ने नेपाली मूलका सर्जकहरुको सृजनामा खासै अन्तर छैन । उनीहरु पनि हामीले जस्तै जातीय विभेद, छुवाछूतविरुद्धको आवाज उठाउँदा रहेछन् भन्ने कुरा ‘निर्वासित मान्छे’ले प्रष्ट पारिसकेको छ । यो विषयलाई नेपालमा जतिकै प्रखर रुपमा उठाउनु पर्ने वाध्यता रहेछ त्यहाँ पनि । समयस्ट्रोक्सभित्र हाम्रै सृजनामा पाइने खालका अभाव र पीडाका स्वरहरु छन् । मक्किएको चप्पल, फुटेको कुर्कुचामै अल्झिएको रहेछ त्यहाँको लेखन पनि— भन्ने कुरा समयस्ट्रोक्सले देखाउँछ । मालिक र खेतबारीको कुरा, श्रमको बखानमै सीमित रहेछ अहिलेसम्म हाम्रो लेखन । कहिलेसम्म टिप्ने गरिबीका विम्वहरु ? कलम चलाउने आम कविहरुले गरिब, निरीहहरुकै पक्षमा वकालत गरेको सुन्छौँ, पढ्छौँ । रवि रोदनका कवितामा त्यस्ता स्वरहरु चर्काचर्का लाग्छन् । गरिब किसानको पक्षमा लेखिँदोरहेछ कविता त्यहाँ । आर्थिक, सामाजिक, सांस्कृतिक विषमताहरुबीच समानता खोज्नु नेपाली र नेपाली मूलका भारतीय कविहरुको साझा मुद्धा रहेछ । देशमा विकाशले गति लिन नसकेकोप्रति असन्तुष्टि प्रकट गर्ने बानी रहेछ त्यहाँ पनि । अँश्रुग्यास र लाठी चार्जकै कुराहरु हुँदा रहेछन् कविताहरुमा । यहाँ जस्तै त्यहाँ पनि पहिचानका मुद्धाहरु उठाइँदो रहेछ । भारतभूमिमा नेपाली पहिचान माँगिदोरहेछ । आदिवासी सपनाहरुकै खात ओढेर दिदाउँदारहेछन् त्यहाँका मान्छे पनि । समयस्ट्रोक्सभित्रका कविताहरुले त्यही भन्छ । अझ, त्यहाँ उल्लिखित हर्कमान, हरिमाया, सन्तवीरहरु नेपालका बासिन्दा हुन् कि उत्तैका छुट्याउन निक्कै मुस्किल हुन्छ । ती सबै पात्रहरु आत्मीय लाग्छन्, छिमेकी लाग्छन् । जेभएपनि हामी सबैको एउटै मूल विषय भनेको जीवनको लयमा कविता लेख्नु रहेछ ।

वस्तुत: कवि रवि रोदनका कविताहरु त्यति सजिला छैनन् । जति सरल देखिन्छन् त्यति नै गहिरा छन् । उनका कविताहरु वस्तुत: अमूर्त चित्रकलाझैँ लाग्छन् । शायद उनी स्वयम् चित्रकार भएर हुनसक्छ त्यो । हुन पनि यस्तै कविताहरुको खाँचो छ सहरमा, लाग्छ । किनभने यो सहरमा धेरै कवि कवितै लेख्दैनन् । रोदनका कविता सरल लाग्छन् तर दोहोर्याएर पढ्नु पर्छ । उनी कवितामार्फत के भन्न चाहन्छन् त्यो पत्ता लगाउन एकछिन अडिएर सोच्नै पर्छ । त्यसरी अडिएर सोच्दा कविताले भन्न खोजेको कुरा पाठकको मनमा बोध भएर आउनुचाहिँ पर्छ । रोदनका कतिपय कविता पढ्दा झनै अमूर्त लाग्छन् । यसतर्फ भने कविले सचेत हुन आवश्यक देखिन्छ । कतिपय कविताहरु बिनानिचोर अन्त भएका हुन् कि ? ‘कोहेजन’मा अझै ध्यान दिनसकेको भए समयस्ट्रोक्सले झनै पाठकको मन जित्न सफल हुन्थ्यो ।

आरोहण प्रकाशनबाट सन् २०१५ मा प्रकाशित कवि रवि रोदनको कविताकृति समयस्ट्रोक्सभित्र पैँतालीस कविताहरु समेटिएका छन् । कवि स्वयम्को आवरण चित्रमा सजिएको आकर्षक कृति समयस्ट्रोक्समा कवि मनोज बोगटीले सङ्ग्रहित कविताहरुलाई जिम्मेवार कविताको संज्ञा दिँदै सारगर्भित भूमिका लेखेका छन् । यसमा समाविष्ट कविताहरुको स्केच समेत कोरिएकोले सुनमा सुगन्ध थपेको महसुस हुन्छ । समग्रमा समयस्ट्रोक्स एक सङ्ग्रहणीय कृति हो ।

2 thoughts on “लेख्न नभ्याएको एउटा समिक्षा : पञ्च विस्मृत

  1. Comment: धन्यवाद पञ्च विस्मृत जी, हजुरले कृतिमाथी केहि थप कुरा लेखिदिँदा उर्जा मिलेको छ।
    धन्यवादा

  2. इमानसिं चेम्जोङको जन्म दार्जिलिङ र तेस्रे अायामको सुरूवात दार्जिलिङ्ग हुनु पर्नेमा अन्यथा भएकोमा क्षमा माग्दै सुधारिएको जानकारी गराउन चाहन्छु । – पञ्च विस्मृत

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES