लोकमान प्रकरणको केहि तथ्यहरु यस्ता छन्

कार्तिक ४ काठमाडौ, महाअभियोग प्रस्ताव दर्ता भइसकेको लोकमान प्रकरणको बारेमा केहि तथ्यहरु यस्ता छन् ।
लोकमानलाई अख्तियार प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्ने अडानमा रहेका तत्कालिन राष्ट्रपति रामवरण यादवलाई २०७० बैशाख २४ को मध्यरातमा कसले धम्क्यायो ? र उनले एकाविहानै लोकमानको सपथ गराउन बाध्य भए ?

त्योबेला खिलराज रेग्मी सरकारका केही मन्त्रीले लोकमानलाई नियुक्त नगरौं भन्दा हिन्दीभाषी केही केही व्यक्तिहरुले कसरी धम्क्याएका थिए ? कालान्तरमा ती खुल्दै जालान् । लोकमानको नियुक्तिले अनर्थ हुन्छ, रोक्न सघाउनुस् भन्दै शीर्ष नेताहरुको दैलो चाहार्दा तत्कालीन एकाध मन्त्री निराशा बोकेर सिंहदरवार फर्किएको भुल्न सकिन्न ।तत्कालीन संवैधानिक परिषदका एकजना सदस्यले ‘श्रीमान ! लोकमानको बारेमा समाज विभाजित छ, उहाँ काबिल मान्छे भए पनि अहिले उहाँलाई नियुक्त गर्ने उपयुक्त बेला होइन’ भन्दा खिलराज रेग्मी कसरी जंगिएका थिए ? माधव घिमिरे बाहेक त्यो बैठकका सबै सदस्य जीवित छन्, उनीहरुले अवश्य बिर्सिएका छैनन् । रेग्मीले दिएको जवाफ अझै ताजा छ ।

लोकमानको नियुक्तिमा अदृश्य शक्ति को थियो भन्ने कुरा ओपन सेक्रेटजस्तै छ । तत्कालीन कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको आरुवारीस्थित निवासमा को-को भेला भएका थिए ? कसरी लोकमानको नियुक्तिको चाँजोपाँजो मिलाइएको थियो ? यो प्रश्नको जवाफ अरुले नदिए पनि त्यस भेलाका एक सहभागी अमरेशकुमार सिंहले ठाउँ-ठाउँमा चुहाइसकेका छन् ।

संयोग नै मान्नुपर्छ अहिले दामोदर र लोकमान दुबैजनाले भारतको हरिद्धारामा ‘निजी आश्रम’ खरिद गरेको खबर आएको छ । दामोदर शर्मा प्रधानन्यायाधीशबाट विदा भएपछि हरिद्धारमै बसिरहेका छन् । सम्भवतः अब लोकमान पनि नेपाल छाडेर हरिद्धार जानेछन् । तर, लोकमानलाई सजिलै भागेर हरिद्धार जान दिनुहुँदैन । त्यसअघि उनीमाथिको कानुनी कारवाहीलाई टुंगो लगाउनुपर्छ ।

सुनिए अनुसार लोकमानको सम्पत्ति विभिन्न माध्यमबाट विदेश पठाइँदैछ । उनले केही समयअघि एक जमघटमा भनेका थिए- म कार्यकालको अन्तिममा सबैलाई ठेगान लाएर गुरुसँग गएर बस्छु । मलाई थाहा छ, यहाँ बस्न दिँदैनन् ।

स्रोत:-अनलाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *