विदेशी विश्वविद्यालयको सम्बन्धन तत्काल रोकिने

कार्तिक ४ काठमाडौ, व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको विहीबार बसेको बैठकले उच्च शिक्षाको समग्र व्यवस्थापन र सुधारका लागि एक उपसमिति गठन गर्ने निर्णय गरेकाले त्यसको प्रतिवेदन नआउन्जेलसम्मका लागि विदेशी शिक्षण संस्थाका सम्बन्धन रोक्न निर्देशन दिएको हो । यो निर्णयले यसअघि सम्बन्धन पाइसकेका संस्थालाई भने कुनै बाधा गर्ने छैन ।

जथाभावी रुपमा सम्बन्धन दिइएको तथा महँगो शुल्क लिइएको गुनासो आएपछि समितिले त्यसबारे अध्ययन गर्ने भएको हो । समितिका सभापति रञ्जुकुमारी झाले उपसमितिले सो समितिलाई दिने प्रतिवेदनका आधारमा शिक्षा मन्त्रालयलाई थप निर्देशन दिने बताए ।

नवगठित ११ सदस्यीय शिक्षा उपसमितिमा डा. गणेशमान गुरुङ, डा. बाबुराम पोखरेल, उमेश श्रेष्ठ, श्रीमाया थकाली, निशा साह, शारदा पौडेल, तेजूलाल चौधरी, रामहरि सुवेदी, लक्ष्मण राजवंशी, आनन्दीदेवी पन्त र बद्री पाण्डे रहेका छन् । उपसमितिले १५ दिनभित्र प्रतिवेदन दिनुपर्नेछ । समितिले स्वास्थ्य क्षेत्रका लागि बुधबार अलग्गै उपसमिति गठन गरेको थियो ।

समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री धनीराम पौडेलले नयाँ संविधान बमोजिम उच्च शिक्षा ऐन संसद्मा पेस गर्ने तयारी भएको, समग्र शिक्षाको नीति तर्जुमाका लागि उच्चस्तरीय आयोग गठन प्रक्रिया अन्तिम चरणमा पुगेको, शिक्षा नियमावली संशोधनबारे सरोकारवालाको सुझाव मागिएको बताए । उनले आफूले समग्र शिक्षा क्षेत्रको सुधारका लागि १९ बुँदे कार्ययोजना सार्वजनिक गरी काम अघि बढाएको पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES