विर्तामोड गोलिकाण्डको छानविन सुरु

विर्तामोड ११ कातिक- शुक्रबार बिर्तामोडमा भएको गोलीकाण्ड र अर्जुनधारा ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युबारे अध्ययन गर्न सरकारद्वारा गठित उच्चस्तरीय टोलीले आइतबारदेखि अध्ययन सुरु गरेको छ ।

आइतबार मृतक बालक शिवाकोटीको घर गएर उनका बाबु आमा तथा छिमेकीसँग उक्त टोलीले कुरा गरेको हो । टोलीले बालकको शव पाइएको स्थानको समेत अध्ययन गरेको छ । शुक्रबार बिर्तामोडमा एक जनाको ज्यान जाने गरी भएको घटना तथा बालक लक्ष्मण शिवाकोटीको मृत्युका बारेमा छानबिन गर्न सरकारले गठन गरेको चार सदस्यीय उच्चस्तरीय टोली गठन गरेको थियो ।

गृह मन्त्रालयका सहसचिव विरेन्द्रकुमार यादबको संयोजकत्वमा नेपाल प्रहरीका नायब महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरीका नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौडेल सम्मिलित टोलीले घटनाको अध्ययन गर्न सुरु गरेको हो ।

मृतक बालकको घरमा पुगेको टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव यादवले पत्रकारहरुसँग कुरा गर्दै चाँडो भन्दा चाँडो घटनाबारे प्रतिवेदन तयार पार्ने जानकारी दिए । उनले भने, ‘तपाईंहरु सबैको सहयोग होस् ।

हामी छिटो प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने छौं ।’ उनले अध्ययन भर्खर सुरु गरिएको हुनाले त्यसको परिमाणका बारेमा थाह पाउन केही पर्खन आग्रह गरेको समाचार अन्नपुर्णमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *