शिक्षा, स्वास्थ्य सडक,खानेपानी,शान्ति सुरक्षामा वृद्धि र ककनिलाई व्यापारिक केन्द्रको रुपमा विकास गर्छु :- गाउँपालिका प्रमुख-मान बहादुर लामा

नुवाकोट जिल्लाको ३५ किलोमा बुबा रामबहादुर लामा र आमा थरेसङ लामाको कोखबाट २०१४ असोज ६ गते जन्मनु भएको मान बहादुर लामा काली बहादुर पल्टन नारायण हिटी राजदरबारमा ५ बर्ष सम्म नेपाली सेनामा र नेपाल प्रहरीमा २२ बर्ष सम्मको जागिर बाट प्रहरी सहायक निरीक्षक बाट २०५४ सालमा अवकास लिनु भयो । जागिरको अवकास पछि ५ सय कुखुराबाट व्यवसाय सुरुवात गरेर ६५ हजार सम्म कुखुरा पुर्याउनु भयो । २०७२ सालको भुकम्प पश्चात कुखुराका खोरहरु लथालिङ्ग भताभुङ्ग भएपनि २५ हजार कुखुरा अहिले पनि पालिरहनु भएको छ ।

उहाँका ककनी नेगी कन्ट्रक्सन लगायत धेरै उद्योग धन्दाहरु संचालनमा छन् । भने, सामाजिक सेवामा त्यतिकै दख्खल राख्नु हुने लामा रानी पौवा भवानी क्याम्पसका अध्यक्ष रानी पौवा उच्च माविका अध्यक्ष, जुरेथुम सहकारीको अध्यक्ष पुर्व प्रहरी संघका जिल्ला सल्लाहकार, तनहुँ धेदुंग संघका जिल्ला सल्लाहकार हुदै २०६२ सालबाट नेकपा माओवादी पार्टिमा सक्रिय रहनु भएको छ ।

मानबहादुर लामा २०६४ सालमा ककनी गाउँ कमिटिको माओवादी केन्द्राध्यक्ष हुदै २०७४ सालको स्थानिय चुनावबाट अत्यधिक मत ल्याई नेकपा माओवादीबाट ककनी गाउँ पालिकाका प्रमुख बन्नु भएको छ । उनै बहुप्रतिभाका धनि मानबहादुर लामा संग बिचारी चाम्लिङ्गले गरेको कुराकानीको सार संक्षेप यो हप्ताको लागि ।

नमस्कार, आरामै हुनुहुन्छ ?
हजुर आरामै छु

तपाईको यो उम्मेदवारी के-का लागि थियो ?
ककनी गाउँ पालिकामा रहेका ८ वटै वडाहरुको लागि स्तरिय शिक्षा,गुणस्तरीय स्वास्थ्य सुविधा सम्भव भएसम्म सम्पूर्ण सडकरुमा कालोपत्रे,शुद्ध खानेपानी, शान्ति सुरक्षा ककनिलाई व्यापारिक केन्द्रको रुपमा विकास गर्न मेरो उम्मेदवारी हो । बेरोजगार युवा र महिलाहरुलाई व्यवसायिक तालिम पछि रोजगार, मजदुर,बृद्ध बृद्धाहरुको सामाजिक सुरक्षाको लागि पनि मेरो उम्मेदवारी हो ।

विकासका योजनाहरु के-के छन् ?
ककनिलाई पर्यटकीय स्थलमा परिणत गराउने, यातायात स्वास्थ्य क्षेत्रमा सुधार गर्ने,गाउँपालिकामा रहेका बाटा-घाटा पुल-पुलेसा मठ-मन्दिरहरुको निर्माण गर्ने, जे सुकै भएपनि जनताका सेवक भएर जनताकै सेवा गर्ने योजना छ ।

चुनावमा गरेका प्रतिबद्धताहरुको कार्यान्वयनका लागि के-कस्ता पहल गर्दै हुनुहुन्छ ?
हिजो बोल्दा जति सजिलो थियो , अब जिम्मेवारी मेरो काँधमा आएको छ । बोलेका कुरा क्रमिक रुपमा पुरा गर्दै अघि बढ्छु । भर्खर तिन महिना भयो । बजेट विनियोजन गरिसकेको छु । ककनी डाँडालाई २० लाख छुट्टयाई सकेको छु भने ८ वटा वडालाई नै विकासका लागि अघि बढाउने छु ।

कि नारामा नै सिमित हुने हो कि पुरा पनि गर्नु हुन्छ ?
हैन,म व्यवस्थित गर्छु र व्यवस्थित गर्दै नै लाने छु । नारामा मात्रै सिमित रहन दिदिन । ककनी गाउँपालिकालाई दिसामुक्त क्षेत्र, फोहरमुक्त क्षेत्र, मादक पदार्थ मुक्त क्षेत्र लगायत धेरै कुराको उन्नति र प्रगति गर्दै लाने छु । म तपाइँ र तपाइँको लोकप्रिय सूचना खबर डटकमलाई समेत यो कुराको प्रतिबद्धता जाहेर गर्दछु ।

तपाईको पहिलो प्राथमिकता के-का लागि रहन्छ ।
सुरुमा, यातायात,कृषि,ककनी गाउँपालिका भित्र रहेको अति उतम पानोरमा सिनेरी भएको ठाउँ रोजेर, त्यहाँ एउटा भयङ्कर बृद्धाश्रम बनाउने योजना छ । गाउँपालिकामा रहेका अपाङ्गहरुलाई तिनीहरुको व्यवस्थापन गर्ने, अशिक्षितहरुलाई शिक्षित बनाउदै लाने जस्ता कार्यहरुलाई प्राथमिकताको साथ् अगाडि बढाउदै लाने छु ।

यहाँका कृषकहरुले निक्कै महँगो मल बिउ किनेर खेति गर्छन्, उत्पादन पछि न्युन मूल्यमा बिक्रि गर्छन् ।दोष कसको देख्नु हुन्छ ?
ककनी गाउँपालिकाबाट मात्रै काठमाडौमा रातको ३० देखि ३५ टिप् तरकारी सप्लाई हुदो रहेछ । यसका लागि अब चाडै यहि क्षेत्रमा व्यवस्थापन गर्दै लाने, कृषकहरुले दुख गरेर उब्ज्याएको तरकारी बालीनालीको ठेकेदार बिचौलियाहरु भईरहेका छन् । तिनिहरुबाट मुक्त गराउन प्रयत्नको लागि पनि पहल गरिदैछ ।

राज्यबाट तपाइँले पाउने भत्तालाई विकासमा लगाउने भन्नु भएको छ रे नि हो ?
हेर्नुहोस,मैले त्यस्तो कुरो गरेकै छैन,हजुरलाई कसले सुनायो ? मैले भत्ताबाट पाउने रकम भन्दा बढि समाजसेवा गरेको छु । अपाङ्ग, असाहय,रोगि जस्ता व्यातिहरुलाई मैले सहयोग गरि नै रहेको छु । जसले गर्दा सामाजिक सेवामा तल्लिन रहेको व्याक्ति म आफै पनि मनकारी छु । त्यसमाथि, भत्ता पनि नलिनु, सामाजिक सेवामा लागेर यसरि बाड्दै हिडियो भने त भएन । त्यसैले यो भत्ता लिन्न भन्ने कुरा चाहि कपोकल्पित र मन गढन्ते कुरा मात्रै होकी जस्तो लाग्छ ।

अध्यक्ष ज्युको निर्माण कम्पनि, ठेक्कापट्टा, कुखुरा पालन, होलसेल जस्ता थुप्रै व्यापारहरू रहेछन् । अब राजनीतिमा लागि हाल्नु भो, ति सब चौपट हुन्न ? कसरी व्यवस्था मिलाउनु हुन्छ ?
व्यापारहरू आफ्नै ठाउँमा छन् । तिनीहरुको व्यवस्थापन गर्न १० जना जति मानिसहरुको व्यवस्था गरेको छु । ति सबै सिस्टममा चल्छ र चलिरहन्छ । मत राजनीति गर्ने मान्छे मैले कहिले काँही सामान्य रेखदेख गरेमात्र पुगी हाल्छ, तपाइँ किन चिन्ता लिनु हुन्छ ?

गाउँपालिकामा रहेको सुकुम्वासी र गुठिको जग्गालाई कसरी रैकरमा परिवर्तन गर्नु हुन्छ ? सक्नु हुन्छ समस्याको समधान गर्नु ?
हेर्नुहोस,ति सबै सुमुम्वासी नभएर, हुकुम्वासी र ढुकुम्वासि मात्रै हुन् । त्यो समस्याको हाल म चाडै गर्दै छु ।चुनाव जितेर आएको भर्खर तिन महिना हुदैछ । व्यवस्था मिलाउन समय लाग्छ । गुठीको जग्गालाई रैकर बनाउन मेरो कार्यकालमा पुरा हुने छ । तपाइँ ढुक्क हुनुहोस ।

अन्त्यमा केहि भन्नु छ ?
म सँग थुप्रै भिजनहरु छन् । ककनी गाउँपालिकाको ८ वटै वडावासिहरुले मलाई अत्याधिक भोट दिएर जिताउनु भयो, उहाँहरुलाई मुरी मुरी धन्यवाद दिदै आउदा दिनहरुमा पनि यस्तै खाले,अपेक्षा गर्दछु । साथै आउदै गरेको वडा दशैँ तथा दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । तपाइँ र तपाइँको लोकप्रिय मेडिया सूचना खबर डट कम टिमलाई बिशेष आभार प्रकट गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *