‘शेरबहादुरको विरुद्धमा वामदेवलाई उठाउँछौं’

काठमाडौं १९ जेठ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रवीचको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक अरु जो आएपनि प्रधानमन्त्री निर्वाचनमा आफ्नो पार्टीले समर्थन गर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पोखरेलले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा उठे आफ्नो पार्टीले कुनैपनि हालतमा समर्थन नगर्ने बताएका हुन् । उनले भने,‘कांग्रेस सभापति देउवाजीलाई प्रधानमन्त्री बन्न हतारो छ, सत्ताको लागि उहाँलाई निकै हतारो देखिएको छ, त्यसैको उपज हो प्रधानमन्त्री प्रचण्डजीको गलत समयमा आएको राजिनामा, त्यसैले हामी यही गठबन्धनका तर्फबाट देउवाजी प्रधानमन्त्रीमा उठ्नुभयो भने हामी कुनैपनि हालतमा उहाँलाई समर्थन गर्न सक्दैनौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता पोखरेलले कांग्रेस र माओवादी केन्द्रकै गठबन्धनबाट देउवाबाहेक नयाँ विकल्प अघि सारिए आफ्नो पार्टीले समर्थन गर्न सक्ने संकेत गरे ।

उनले भने,‘कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट देउवाजीबाहेक अरु कोही वा विकल्प अघि सारिन्छ भने हामी समर्थन गर्छौं।’ यदि कांग्रेस र माओवादी केन्द्रले देउवालाई नै प्रधानमन्त्रीको रुपमा अघि सारे आफ्नो पार्टीका तर्फबाट उपाध्यक्ष वामदेव गौतमलाई उठाउने समेत तयारी भएको उनले जानकारी गराए । उनले भने,‘हाम्रो तर्फबाट वामदेवजीको बलियो संभावना छ, हामी उहाँलाई नै प्रधानमन्त्रीमा उठाउँछौं।’

नेता पोखरेलले जनता निर्वाचनको पक्षमा रहेकोले दोस्रो चरणको निर्वाचनपनि समयमै हुनुपर्ने बताए । उनले भने,‘नेपाली जनता चुनावको लागि तयार छन्, आँतुर हुनुहुन्छ, तर दोस्रो चरणको निर्वाचनको मिति पटक–पटक सारिएकोले केही संशय समेत छाएको छ।’ पोखरेलले निर्वाचनमा भाग नलिने दलहरु जनतामा अधिकार पुर्याउने माध्यमबाट र जनतामा जाने अवसरबाट बञ्चित हुनेतर्फ समेत सचेत गराएका छन् ।

उनले राजपा नेपालपनि दोस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । उनले भने,‘राजपा नेपाल पनि निर्वाचनमा सहभागी हुन्छ भन्नेमा म विश्वस्त छु, उहाँहरु आउनुहुुन्छ।

उनले प्रधानमन्त्री प्रचण्डको राजिनामा अनुचित समयमा आएको भन्दै यो गलत भएको आरोप लगाए । उनले भने,‘राजिनामाको समय छनौट नै गलत भयो, यो अनुचित थियो, यो कुरा दुनियाँलाई नै थाहा भैसक्यो नि।’

उनले प्रचण्डलाई पदबाट राजिनामा गराउन दिनप्रतिदिन बाध्य पार्ने काम भएको समेत आरोप लगाए । उनले भने,‘अघिल्लो दिन राजिनामा दिने र भोलिपल्ट नीति तथा कार्यक्रम आउनु गलत भयो नि, तीन दिन पर्खिएको भए राम्रो हुन्थ्यो।’ उनले प्रधानमन्त्री दाहालको राजिनामा सत्ताको सौदावाजीको उपज भएको समेत आरोप लगाए ।

पोखरेलले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया आफूहरुले रोक्न नमिल्ने समेत बताए । उनले भने,‘नयाँ प्रधानमन्त्री चयन गर्ने प्रक्रिया रोक्न मिलदैन्।’ उनले सहमतीय सरकार गठनको लागि कुनै पहलकदमी नभएको समेत गुनासो पोखे । उनले भने,‘देउवाजीले प्रस्ताव राख्नपनि सक्नुभएन्, किनकी उहाँलाई सत्ताको लागि हतारो छ।’

यद्धपी उनले अहिले नै प्रधानमन्त्री को बन्छ भनेर बोल्नु हतारो हुने समेत दाबी गरे । उनले भने,‘अन्य दल कसरी प्रस्तुत हुन्छन् त्यो हेर्न बाँकी छ।’

उनले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगले निर्णय दिन ढिलाई गरेको भन्दै आयोगको ध्यानाकार्षण गराए । उनले भने,‘आयोगले निकै विलम्ब गर्यो, निर्वाचन अधिकृतले गर्नुपर्ने निर्णय किन यसरी ढिलाई भैरहेको छ ?’ पोखरेलले च्यातिएको मतपत्रलाई छाडेर अन्य मतगणना अविलम्ब गर्नुपर्ने बताए । उनले आफूहरुलाई ९० मतले खासै प्रवाह नपर्ने समेत बताए । उनले भने,‘हामीलाई जित हारले फरक पार्दैन् ।’

हामी चुनावबाट कहिल्यै भागेका छैनौं, दोस्रो चरणको निर्वाचनमा सहभागी हुन्छौं – कर्ण
राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले आफूहरु निर्वाचनको कहिल्यैपनि विरोधी नभएको भन्दै आफ्ना कार्यकर्ताहरुलाई लगाईएका राजनीतिक मुद्दा फिर्ता लिए, बन्दी रिहाई गरे आफूहरु दोस्रो चरणको निर्वाचनमा भाग लिने स्पष्ट पारेका छन् ।

नेता कर्णले आफुहरू खालि हात सरकारमा नजाने बताएका छन् । प्रचण्ड नेतृत्वको सरकार गठनका बेला तीन बुँदे सर्तसहित सरकारलाई आफूहरुले समर्थन दिएको स्मरण गर्दै भने,‘हामीले प्रचण्डको सरकार गठनका बेला तीन बुँदे सम्झौता गरेर मतदान गर्यौँ तर उहाँले हाम्रा माग सम्बोधन गर्न सक्नुभएन्, ईमान्दारिता देखाउन सक्नुभएन्, फेरी अहिले पनि काँग्रेसले हामीलाई सरकारमा जानको लागि भनिरहेको छ तर हाम्ी निःशर्तमा सरकारमा जादैनौँ, हाम्रा मागहरूमा हामी अडिग छौं।’

कर्णले दोस्रो चरणको निर्वाचनमा भागलिने वातावरण निर्माण गर्न सुरकारलाई आग्रह गर्दै भने,‘हामीले निर्वाचनमा जादैनौँ भनेका छैनौ, हामी निर्वाचनमा भाग लिन्छौ, तर हाम्रा न्यूनतम माग पुरा गर्नुपर्छ, सहिद घोषणा, बिचारकै आधारमा कार्यकर्ता जेलमा छन्, ती कार्यकर्ताको रिहाई, स्थानीय तह संख्या थपेको खण्डमा हामी निर्वाचनमा भाग लिन्छौँ, मधेशलाई विभेद गर्न पाईदैन।’ उनले आफूहरु पनि निर्वाचनको तयारीमा जुटेको बताए ।

यद्धपी उनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकालाई तत्काल विना शर्तः समर्थन नगर्ने समेत बताए । कर्णले भने,‘हामी अहिले नै देउवाजीलाई समर्थन गर्ने पक्षमा छैनौं, हाम्रा माँगहरु पूरा नगरेसम्म हामीले किन समर्थन गर्छौं ?’

उनले फरक प्रसँगमा सर्वोच्चको निर्णयलाई सरकारले पुनः विचार गर्नको लागि कुनै प्रयास नगरेको समेत आरोप लगाए । उनले अघि थपे,‘हाम्रो देशमा अदालत अच्चमको तरिकाले चलेको छ, कि त अदालतलाई संसद चलाउ, सरकार चलाउ, सबै तिमी नै चलाउ भन्नुपर्छ, कि होईन भने सरकारले चुनौतीहरु मोल्नुपर्छ।’

देउवा निर्विकल्प प्रधानमन्त्री बन्नुहुन्छ – यादव
त्यस्तै नेपाली काँग्रेसका नेता महेन्द्र यादवले काँग्रेस सभापति शेरबहादुर देउवा निर्विकल्प प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

काँग्रेस र माओवादी केन्द्रबीचको सत्ता साझेदारीको लागि गरिएको भद्र सहमतिको आधारमा सभापति देउवा प्रधानमन्त्री बन्नेमा कुनै दुईमत नभएको स्पष्ट पारे । उनले भने,‘माओवादी केन्द्रसँगै केही साना दलहरू मिलेर नयाँ सरकार बन्ने छ, भोली मनोनयन दर्ता र पर्र्सी संसदमा प्रधानमन्त्रीको लागि निर्वाचन हुनेछ, अब औपचारिकता दिन मात्रै बाँकी छ, ३२५ जना सांसदको मतसहित हाम्रो पार्टी सभापति देउवाजी मुलुकको ४० औँ प्रधानमन्त्री बन्नु हुनेछ, यसमा कुनै दुईमत छैन्।’

नेता यादवले चितवनको विषयलाई लिएर एमालेले संसद अबरोध गरेर गम्भिर गल्ति गरेको आरोप लगाए । उनले भने,‘एमालेजस्तो पार्टीले एउटा वडाको बिषयलाई लिएर संवैधानिक आयोगलाई विचलित बनाउने, भेट्न जाने जस्ता कार्य गर्नु तत्कालको लागि फाईदा भएपनि दीर्घकालिन रुपमा यसले एमालेलाई बहुत घाटा गर्नेछ, हामीलाई निर्वाचन आयोगले जे भन्छ त्यो स्विकार्य छ, संविधानले जे भन्छ त्यो निर्णय स्विकार्य छ।’

उनले एमालले मोर्चाका मागलाई सम्बोधन गरेर संविधानलाई अझ विश्वसनीय र स्वीकार्यतामा सहज हुने स्थितिमा साथ दिनुको साटो दोस्रो चरणको निर्वाचलाई धरापमा पार्न खोजेको आरोप लगाए ।

देउवा नेतृत्वको सरकारले तीन तहकै निर्वाचन सम्पन्न गर्न सफल हुन्छ – अग्नि सापकोटा
नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले दोस्रो चरणको निर्वाचन अब असार १४ गते नै हुने दाबी गरेका छन् । उनले भने,‘अब पृथ्वी उल्टिएपनि निर्वाचनको मिति सर्दैन्, निर्वाचन हुन्छ, निर्वाचनको मिति कुनैपनि हालतमा सर्दैन्।’

सापकोटाले दोस्रो चरणको निर्वाचनमा राजपा नेपालपनि सहभागी हुने विश्वास व्यक्त गरे । उनले भने,‘प्रधानमन्त्री प्रचण्डले यो बीचमा भगीरथ प्रयास गर्नुभएको छ, यो कुरा दुनियाँलाई थाहा छ, मोर्चालाईपनि निर्वाचनमा सहभागी गराउनको लागि थुप्रै प्रयास भएका छन्, अब असार १४ गते निर्वाचन हुन्छ, र राजपा नेपालपनि निर्वाचनमा आउनुुहुन्छ।’ उनले मधेशी जनतालाईपनि प्रधानमन्त्री प्रचण्डले उनीहरुको माँग पूरा गर्नको लागि अथक प्रयास गरेको थाहा भएको स्पष्ट पारे ।

सापकोटाले कांग्रेस र माओवादी केन्द्रवीचको गठबन्धन नै कायम रहने बताउँदै यसले बाँकी तहका निर्वाचन समयमै सम्पन्न गर्ने विश्वास व्यक्त गरे । उनले भने,‘हामीलाई राम्रोसँग थाहा छ, यसअघिका भद्र सहमति कसरी तोडिए भनेर, यसपटक हामी भद्र सहमति तोड्दैनौं।’ कांग्रेस र माओवादी केन्द्रको गठबन्धन नै कायम रहने र यसले संविधान कार्यान्वयको लागि महत्वपूर्ण कार्यभार पूरा गर्ने उनको विश्वास थियो ।

उनले पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै सिंहदरबारको अधिकार गाउँसम्म पुगेको समेत बताए । उनले भने,‘स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नयाँ युगको प्रारम्भ भएको छ, सिंहदरबारको अधिकार गाउँसम्म पुगेको छ।’ उनले कांग्रेस सभापति देउवाको नेतृत्वको सरकारले बाँकी तीन तहकै निर्वाचन तोकिएकै मितिमा सम्पन्न गरेपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *