श्रमिक दिवश विशेष : ‘डोरी लाहुरे’ भनेर किन हेपिन्छन् प्रवासी श्रमिक ?

bismrit panch
लेखक -पञ्च विस्मृत

-पञ्च विस्मृत

भाषिक लापर्बाही
मार्च महिनातिरको कुरा, मेरा एक छिमेकीसँग सामान्य तर्कविर्तक भयो । विश्वास गर्नोस् त्यो एकदमै स्वस्थ थियो । मे एक, अर्थात् श्रमिक दिवशको सन्दर्भ पारेर हामीबीच चलेको उक्त तर्कवितर्कलाई एक झिमिक्क फर्केर हेर्न मन लाग्यो ।

सीधै त्यहाँ जान अघि भाषाको प्रयोगको बारेमा थोरै प्रष्ट होऔँ । जतिसुकै यथार्थवादी बन्ने प्रयास गर्नोस्, शब्दकोशमा उल्लिखित सबै शब्दहरु, शब्दावलीहरु हरेक समय र सन्दर्भहरुमा प्रयोग गर्न पाउनुहुन्न तपाइँ । शब्दकोश भित्र त हाम्रो सम्पूर्ण जीवन र जगतलाई सिरीखुरी समेट्ने शब्दहरु छन् नि ! तर ती शब्दहरुमध्ये छानेर, दाँजेर, जोखेर उपयुक्त लाग्ने शब्दहरु मात्र प्रयोग गर्ने कला हामीले सानैदेखि सिकेर आएका छौँ । किनभने शब्दको सामर्थ्य र प्रभाव हामीलाई थाहा छ । कति सजिलै हाम्रो मनभित्रको कुराको शाब्दिक अभिव्यक्ति दोस्रो व्यक्ति, समाज, अझ राष्ट्रले बोध गर्दछ ! आकारप्रकारहीन हाम्रा बिचार, भावना र अनुभूतिहरुको आकार, रुपरङ हामी शब्दहरुमा पाउने गर्दर्छौँ ।

कहिलेकाहीँ अत्यन्तै आपत्तिजनक खालका शब्दावलीहरु बिनाहिचकिचाहट प्रयोग गरिएको सुन्नमा, पढ्नमा आउँछन् । नजोखी, नदाँजी र जहाँ पायो त्यहीँ प्रयोग गरिँदै आएका ती शब्दावलीहरु र गायिका ज्योति मगरको अङ्ग प्रदर्शन उस्तै उस्तै लाग्छन् । केही अस्वाभाविक । किनभने समय र सन्दर्भ उचित नभएको अवस्थामा धेरै कुरा अस्वाभाविक लाग्ने गर्दछन् । बालुवा चाल्ने, भेडा गोठाला गर्ने, खाडीमा बस्ने र डोरी लाहुरेको उपमा भिर्ने खालका शब्दावलीहरु एक सचेत प्रवासी नेपाली श्रमिकका लागि कदापि कर्णप्रिय हुन सक्दैनन् । एक्काइसौँ शताब्दीको श्रमिक चेतनाले यस्ता शब्दहरुको कहिल्यै अनुमोदन गर्ने छैन । तर विडम्बना त के भने आजका प्रवासी श्रमिकहरुको ‘स्टेरियो टाइप’ भनेकै यिनै हुन्, जुन भर्खर सिक्दै गरेको चित्रकारको चित्र जस्तो छ । अनुहार मिल्न त खोज्छ, तर त्यसमा धेरै रङहरु पुगेका छैनन् । बरु नचाहिने रङहरु थपिएका छन् ।

यस्तोमा मेरा एक छिमेकीको ‘तोरी लाहुरे’ शब्दको प्रयोग, जुन मैले ‘डोरी लाहुरे’को रुपमा बुझेँ, र मलाई लाग्छ उनको मतलव पनि त्यही नै थियो, माथि मेरो टिप्पणी भने सरल नै हुन्छ । म लेख्छु, “यो खाडी र तोरी लाहुरेचाहिँ मलाई गाली लाग्छ है । वैदेशिक रोजगारलाई सम्मानको दृष्टिले हेरियोस्, कि त देशमै गरिखाने वातावरण सृजना गरियोस् ।”
विदेशमै बस्ने एक नेपालीले विदेशमा बस्ने अर्का नेपालीको बारेमा जे बोल्दा पनि हुन्छ भन्ने मानसिकताको भूतले खोपडीमा अड्डा जमाएपछि चेतनाले ढ्याङ्ग्रो ठटाउन आवश्यक हुन्छ । तर ढ्याङ्ग्रोको आवाजलाई निमिटयान्न पार्दै भूत झन् शक्तिशाली बन्छ, र भन्छ, “मुद्दा चलाइयोस्, खाडीलाई युरोप अमेरिका भनियोस्, तोरी लाहुरेलाई ब्रिटिश लाहुरे भनियोस् । … म त लेबर हुँ, मलाई सरम छैन ।”

मलाई खाडी शब्द मन नपर्नुको एउटा कारण छ । खाडीको खा माथि चन्द्रविन्दु दियो भने त्यो खाँडी बन्छ । र, खाँडीको अर्थ ‘घरेलु तानमा बुनिएको मोटो खस्रो कपडा’ भन्ने हुन्छ । त्यस्तो कपडाले गरिबी झल्काउँछ । राम्रो लुगाफाटा खरिद गरेर लगाउन नसक्नेहरुले खाँडीको कपडा लगाउँथे पहिले-पहिले । र, नेपाली मानसिकता पनि कस्तो भइदियो भने साउदी अरेबिया (जसलाई साउदी मात्र भन्नु गलत हुन्छ), कतार, मलेसिया आदि देश आधुनिक जमानाका त्यही खाँडीका कपडा हुन् । र, त्यहाँ जाने नेपाली कामदारहरु सबै गरिब परिवारका मान्छेहरु हुन् । र, त्यसरी अर्थ लगाइँदा धेरै तथ्यहरु ओझेलमा पर्न जाने गरेका छन् । जस्तो कि कतार २०१६ को सर्वे अनुसार विश्वकै धनी मुलुक हो; भने २०१७ मा यो तेस्रो स्थानमा आएको छ । साउदी अरेबिया मक्का र मदिनाको देश हो; जहाँ विश्वभरिका मुस्लिमहरुले जीवनमा एक पल्ट हज गर्न पुग्नु पर्छ, हैसियतले पुगे, भनिन्छ । विश्वकै सबैभन्दा बढी तेल निर्यात गर्ने मुलुक पनि साउदी अरेबिया नै हो । मलेसियामा रहेका पेट्रोनास ट्वीन टावर्स विश्वकै अग्ला ट्वीन टावर्समा गनिन्छन् । यी तथ्यहरुले प्रवासी श्रमिकहरुको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ भन्ने कुरा भुल्नु हुन्न । प्रवासी नेपालीहरु गरिब परिवारका भए पनि तिनले बसेका मुलुकहरु त्यति गए गुज्रेका मुलुकचाहिँ हैनन् है भन्ने तथ्य खाडी शब्दले पूरै निलेको छ ।

यी सम्पन्न मुलुकहरुको महिमागान गर्नु यो पङ्तिकारको रहर हैन, जबसम्म प्रवासी श्रमिकहरुको ‘सेल्फ इस्टीम’माथि सवाल गरिन्न । अर्को कुरा, यी सम्पन्न मुलुकहरुको संस्कृति, रहनसहन, अझ अर्थतन्त्रको बारेमा बुझेर नयाँ सोच र चेतनाका साथ आफूले आर्जन गरेको सीप आफ्नो मुलुकमा सदुपयोग गर्न सक्छन यी कथित् ‘अन्डरडग’हरुले भन्ने कुरा बिर्सन हुन्न । केही असफलताका कथाहरुलाई ‘हाइलाइट’ गर्दै आँट र साहसका साथ श्रम बेच्दै आफ्नो परिवारको भविष्यको खाका कोरिरहेका श्रमिकहरुको मर्ममाथि त्यस्ता खालका शब्दावलीहरुले प्रहार गर्ने काम कदापि गर्नु हुन्न, तर गरिन्छ किन ? वैदेशिक रोजगारीलाई सम्मानको दृष्टिले हेर्न मिल्छ कि मिल्दैन ? मिल्दैन भने किन मिल्दैन ? बरू डोरी लाहुरे भनेर किन गाली गरिन्छ ? के विदेशमा पसिना बगाउनु अपराध हो र ? कि नेपाल मात्र एक त्यस्तो देश हो जहाँका जनता विदेशमा श्रम बेच्ने काम गर्छन् ? खाडीलाई ‘गल्फ’ या ‘मिडल ईस्ट’ मात्र भन्न किन मिल्दैन ? अथवा सम्बन्धित मुलुकको नाम मात्र भन्न मिल्दैन ? आजका प्रवासी श्रमिकहरुको मनमा यस्ता अनेक सवालहरु छन् ।

वैदेशिक रोजगार किन ?
वैदेशिक रोजगारमा जानेहरुको सङ्ख्यालाई कम गर्न सकिएला, तर रोक्न निक्कै मुस्किल देखिन्छ । किनभने खोक्रो दर्शनले जीवन चल्दैन । खोक्रो दर्शनले सन्ततिका भविष्य सुनिश्चित गर्न सम्भव छैन । यो युग भूमण्डलीकरणको युग हो । र, भूमण्डलीकरणको युगमा राजनीतिक सीमारेखाहरु मिहिन लाग्ने गर्दछन् । त्यो भएर पनि हाम्रोभन्दा धनी देशका जनता वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ ।

नेपालको सन्दर्भमा कलाकार अरनीकोको तिब्बत गमननै नेपालको इतिहासमा प्रथम प्रवासन थियो भनिन्छ । पछिबाट भारतका विभिन्न स्थानहरुमा काम गर्न जाने क्रम देखियो । वि. सं. २०४२ मा प्रथमपल्ट वैदेशिक रोजगार ऐन आएपछि वैधानिक रुपमा विदेशिने काम सुरु भयो । कतिले लाहुरे भएर त कतिले भारतमा बहादुर बनेर नेपालको सिमाना काट्ने गरेको तथ्य हामी सबैले बुझेका छौँ । त्यसरी सिमाना काट्ने हाम्रा हजुरबाको पुस्ताका मान्छेहरु अहिले पनि गाउँघरबाट हराइरहेको अवस्था छ । त्यसको कुनै लेखाजोखा छैन । न त अध्ययनको विषय नै बनेको छ यो ।

वैदेशिक रोजगार नै किन ? यसको सबैभन्दा सजिलो जवाफ ‘वाध्यता’ भनेर दिने गरिन्छ । र, जुन कुरा घरबासीहरु विश्वास गर्न तैयार छैनन् । एक थोपा पसिना भएपनि आफ्नै माटोमा बगाउनु पर्छ भन्ने दर्शनमा हुर्केका आजका बुद्धिजीवीहरुले युवाको वाध्यता बुझ्न आफ्नो अध्ययनको क्षेत्रलाई अलिकता फराकिलो पार्न अल्छी गरिरहेको अवस्था छ । आजका युवाको वाध्यता बुझ्न नेपाली समाजलाई मात्र नभएर सिङ्गो विश्वलाई अध्ययनको परिधिमा राख्न आवश्यक हुन्छ । किनभने भूमण्डलीकरणको युगमा हरेक देशका जनताको जनजीवनको प्रभाव दोस्रो देशका जनतामा प्रत्यक्ष: रुपमा पर्दछ । यस तथ्यलाई बुझ्ने सबैभन्दा प्रष्ट तथ्य भनेको आजको टेक्नोलोजीको विकाश हो । विश्वमा आइरहेका नयाँ नयाँ प्रविधिहरु सम्पन्न देशका जनता मात्र उपयोग गर्छन् भन्नु गलत हुन्छ । ती प्रविधिहरु विश्वका जनता अर्थात् सबै जनताले उपयोग गर्ने हुँदा कुनै एक देशको मात्र नभएर सिङ्गो विश्वका जनताको आर्थिक स्तर उकासिन जरुरी हुन्छ । विश्व बजारमा उत्पादित आइफोन, ल्यापटप, वासिङ मेशिन, वाटर हिटर, माइक्रोवेव जस्ता इलेक्ट्रोनिक सामानहरु सम्पन्न देशकाले मात्र चलाउँदैनन् । आजका हरेक देशका जनता विश्व बजारका उपभोक्ता हुन् ।

हाम्रो मानसिकतामा, यी उपभोक्ताहरुको समाज आर्थिक हिसावले एक सम्पन्न वर्गको छ, दोस्रो मध्यम वर्गमा पर्छ र तेस्रो गरिब । अझै एउटा वर्गको अस्तित्व छ, जुन हामी धेरैलाई थाहा छैन । यस तथ्यलाई अलिक गहिरो तरिकाले बुझ्नको लागि जेफ्री साक्स (Jeffrey Sachs)ले आफ्नो पुस्तकमा दिएका केही तथ्यहरुलाई हेर्दा राम्रो होला । उनका अनुसार विश्वका करिब एक विलियन मान्छे ‘गरिबका पनि गरिब’ छन् । रोग, भोक, शोकले आक्रान्त यी एक विलियन जनता मरि पनि गएका छैनन्, बाँचेकाहरु हरेक दिन बाँच्नको लागि सङ्घर्ष गर्छन् । र, यी विकासशील मुलुकहरुमा बस्छन् । हामीलाई गरिब मात्र थाहा थियो ‘गरिबका पनि गरिब’ थाहा थिएन । गरिबको सङ्ख्या भने विश्वमा साढे एक विलियन गरेको छ, जो जिउनका लागि आधारभूत आवश्यकताहरुको जोहो गर्न त सक्षम छन्, तर आर्थिक समस्याहरुले पिरोलिईरहन्छन् । खाने पानी, शौचालय आदि सममान्य कुराहरुको लागि यिनले सङ्घर्ष गर्नु पर्छ । साढे दुई विलियन जनता मध्यम वर्गमा पर्छन् । यी मध्यम वर्गका जनता आफ्ना छोराछोरीलाई स्कुल पढाउन सक्षम छन् । यिनीहरुसँग घर छ । यिनलाई खान लाउन राम्ररी नै पुग्छ । स्कुटर, अटोमोबाइलसम्म चलाउन सक्ने सामर्थ्य राख्छन् यी । र, बाँकी मात्र एक विलियन जनता धनी वर्गका छन् ।

भन्नुको तात्पर्य भनेको के हो भने नेपाली गाउँघरका जनता ‘गरिबका पनि गरिब’मा नपरे पनि गरिब वर्गमा अवश्य पर्छन्, तर ती आफूलाई मध्यम वर्गको सम्झन्छन् । यिनलाई हरेक दिन बाँच्नको लागि सङ्घर्ष गर्नु नपरेता पनि राम्रो स्कुलमा आफ्ना छोरा छोरी पढाउन असमर्थ छन् यी । यीमध्ये धेरैसँग मजबुत किसिमको घर छैन, झुपडी बस्छन् यी । जग्गा जमिन पुस्तौँदेखि बाँढिदै आउँदा आजको पुस्ता जग्गाजमिनविहीन भएको अवस्था छ, जो आफूलाई सुकुम्बासी भनाउन सकेका छैनन्, र भएको दुईचार रोपनी जग्गामा गुजारा चल्न सक्ने अवस्था पनि छैन । सरकारले कृषि क्षेत्रमा कार्यक्रम ल्याएर केही हुनेवाला छैन, जबकी जनतासँग पर्याप्त मात्रामा जग्गाजमिन नै छैन । रिन लिएर कुनै व्यवसाय गर्न सक्ने अवस्था पनि न्यून छ । किनभने बजारको अभाव छ । व्यवसाय गर्नेलाई कसैले रिन दिनेवाला पनि छैन । रिन दिईहाले पनि देशमा राजनीतिक अस्थिरता छ । देशका नेता अर्थशास्त्रका कुरा कम र राजनीतिका करा बढी गर्छन् । राजनीतिले जनताका पेट भरिँदैन । यस्तो अवस्थामा युवा कहाँ जान्छन् भन्ने कुरा लाटो बुद्धि भएको मान्छेले पनि भन्न सक्छ ।

यति भएर पनि हामीले कहिल्यै पनि वैदेशिक रोजगारलाई प्रोत्साहित गर्ने काम गर्नु भने हुन्न । र, नेपालमै बिग्रेर भत्केर बसेकाहरुलाई राष्ट्रवादीको नाम दिँदै विदेशमा पसिना बगाएर आफ्नो परिवारको भविष्य सुनिश्चित गर्न खोज्ने युवाहरुलाई गाली गर्न पनि पाइँदैन । गालीका विभिन्न शब्दावलीहरुको प्रवर्तन गर्न पाइँदैन । किनभने यदि त्यो गाली स्वदेशीहरुबाट आएको हो भने त्यसमा रेमिट्यान्सको गन्ध छ । यदि विदेशमै बस्नेहरुबाट आएको हो भने त्यहाँबाट पनि सडेको चेतनाको गन्ध आउँछ ।

जीवनमा आदरभावको रोल :
म अघि बढ्छु, “तोरी लाहुरे भन्नुमा सरम छैन । तर यो एउटा इन्सल्ट हो । We respect the country we live in. We respect the work we work. We respect the family background we are from. जबसम्म आफ्नो कामको रिस्पेक्ट आफैले गरिँदैन, र तोरी लाहुरे भनिनुमा ‘फन’को महसुस गरिन्छ, कसैले पनि हामीलाई रिस्पेक्ट गर्नेवाला छैन ।”

प्रष्ट त हामी दुवैको बिचार मिलेको छ, तर भ्रमले महत्त्वपूर्ण भूमिका खेलेको छ । जस्तो कि उनलाई लेबर भनिनुमा सरमको अनुभव नहुनु सकरात्मक कुरा हो । म पनि भन्छु डोरी लाहुरे भनिनुमा सरम मान्ने कुरा छैन । तर अपमानको बोध पक्कै हुन्छ । सरम र अपमान दुई भिन्न कुरा हुन् । जँड्याहालाई जँड्याहा भन्नू, बलात्कारीलाई बलात्कारी भन्नू, चोरलाई चोर भन्नू, काम गरेर खाने, देशमा भित्रिने रेमिट्यान्सको मालिकलाई किन ‘डोरी लाहुरे’ भन्नू ? यो पृथ्वी कसैको बुवाको सम्पति पनि हैन । यो साझा पृथ्वी हो । नियम, कानुन र सासनको नाममा विभिन्न टुक्राहरुमा विभाजित गरेर, सिमारेखा कोरेर मान्छेलाई आवत जावत गर्न निषेध गरेर पृथ्वीमा राज गरिरहेका हामी मान्छेहरु अफसोस, एउटा मान्छे सिमाना काटेर अर्को कित्तामा पुग्दैमा उसलाई भिन्दै देख्न थाल्छाैँ । आफ्नो परिवारको लागि छानो र मानोको लागि सिमाना काट्दा उसलाई दिइने इज्जत, आदरमा दाग लाग्नेगरि विभिन्न उपमाहरु दिन बेर लगाउँदैनौँ ।

डोरी लाहुरे नयाँ शब्दावली हो, जुन सम्भवत: कुनै एक हाँस्यव्यङ्ग्यकारले आफ्नो रचनामार्फत बाहिर ल्याए । श्रमिक हेपाहा प्रवृत्तिका मान्छेहरुलाई त्यो कुरा रमाइलो लाग्यो, र तिनको जिब्रोमा बस्न पुग्यो । अथवा विदेशबाट फर्किनेहरुले आफ्नो सूटकेस नफुटोस् भनेर डोरीले बाँधेर लाने भएकोले यिनलाई डोरी लाहुरे भनिए । कुरो जेभए पनि तानतुन गरेर जबरजस्ती प्रचलनमा ल्याइएका यस्ता शब्दावलीहरु नेपाली शब्दभण्डार वृद्धि गर्नलाई सहायक त हुन्छन् नै, तर यिनले सर्वसाधारणको इमान, इज्जत, र ‘सेल्फ रिस्पेक्ट’माथि नराम्ररी आँच पुर्याउँछ भन्ने कुरामा पनि ती शब्द प्रयोगकर्ताहरुले ध्यान पुर्याउन जरुरी देखिन्छ । डोरी लाहुरे शब्दले एक प्रवासी श्रमिकको ‘सेल्फ स्टीम’माथि सीधै प्रहार गरेको अनुभव गरिन्छ । सीधै तिनको मर्ममाथि प्रहार गरेको अनुभव गर्न सकिन्छ । तर यी सब भएर पनि सबैभन्दा अचम्मको कुरा त के भने यी शब्दावलीहरुको प्रयोगकर्ताहरु पनि अधिकांशत: प्रवासी नै छन् । त्यसैले पनि आफ्नो कामको रिस्पेक्ट गर्नू, आफूले आफैलाई रिस्पेक्ट गर्नू भनिएको हो । आफैलाई आदर गरिएन, आफ्नै कामलाई अदर गरिएन, र आफूलाई र आफ्नो कामलाई विभिन्न आपत्तिजनक उपमाहरु आफैले दिँदै गयो भने कसरी दोस्रो व्यक्तिबाट आदर र सम्मान मिल्छ ? अवश्य पनि जो कोहीलाई आफ्नो काम मन नपर्नु, आफू काम गरेको देश मन नपर्नु स्वाभाविकै हो, तर आफ्नो ‘इमेज’का निर्माणकर्ता हामी आफै हौँ भन्ने कुरा पनि हामीले भुल्नु हुन्न ।

यो मेरो एक्लो आवाज हैन । दिल निशानी मगर सेतोपाटीमा लेख्छन्, “डोरीमा झुण्डिएर काम गर्ने वा डोरीले झोला बाँधेर घर फर्कनेहरूलाई ‘डोरी लाहुरे’ भनिएको हो भने यहाँ हजारौँ लाहुरेहरूको व्रतबन्धपछि फेरि न्वारान गर्नुपर्ने देखिन्छ । जस्तो कि बगैँचा लाहुरे, रेस्टुरेन्ट लाहुरे, कफीसप लाहुरे, पेट्रोलपम्प लाहुरे, जुठाभाँडा लाहुरे … अनेक लाहुरे । अलिकति कामप्रतिको सम्मान, जीवनको भोगाइ बुझेको मानिसले यसरी अरुको कामलाई होच्याउन सक्दैन । होच्याउँदैन ।” र, यो आवाज मेरो या दिलनिशानी मगरको मात्र हैन, विदेशमा श्रम, पसिना र उमेरलाई तिलाञ्जली दिएर आफ्नो परिवारको लागि कार्यरत लाखौँ श्रमजीवी प्रवासीहरुको आवाज हो ।

“कुरा छर्लङ्ग छ, फजुल तर्क गरेर के फाइदा होला र …?” उनी तर्कवितर्कको निश्कर्ष निकाल्न चाहँदैनन् ।

“यसलाई फजुल तर्क नभनियोस् … । रिक्सावाल, गाडावाल, कुल्ली, तोरी लाहुरे सबै ठीक छ । तर तिनको कामको सम्मान गर्ने हो भने अरु पनि विशेषणहरु दिन सकिन्छ भन्ने कुरा मात्र हो ।” तर म रोकिन्नँ ।
तर त्यसपछि तर्कवितर्क अघि बढ्दैन ।

‘स्टाटस’ डिलेट हुन्छ । तर त्यतिन्जेल सबै तर्कवितर्कलाई कपी भइसकेको हुन्छ।

स्वदेशमा होस् या विदेशमा आफ्नो या आफ्नो परिवारका लागि अमूल्य पसिना बगाइरहेका आम श्रमिकहरुमाथि यो लेख सादर समर्पण गर्न चाहन्छु ।

२३ अप्रिल, २०१७, केएसए

(यस लेखको उद्देश्य भनेको कसैको मानमर्दन गर्नु या आलोचना गर्नु हैन; बरू व्यक्तिपिच्छेको फरक बिचारको अस्तित्वलार्इ स्वीकार गर्दै देशले आफ्नो बनाउन नसकेको पाखुराहरूको पक्षमा दुर्इ शब्द बोल्ने प्रयास मात्र हो । किनभने श्रम र श्रमिकहरूप्रतिको सम्मानको चेतनाबिना देशभित्र रोजगारका कुरा गर्न सम्भव छैन ।)

Leave a Reply

Your email address will not be published.