संविधान संशोधन विधयेक निर्णयार्थ प्रस्तुत भए विपक्षमा मतदान गर्छौं—राप्रपा अध्यक्ष थापा

काठमाडौं, साउन २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा संविधान संशोधन विधयेक निर्णयार्थ प्रस्तुत भए आफ्नो दलले विपक्षमा मतदान गर्ने प्रष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अहिलेको अवस्थामा संविधान संशोधन विद्येयक पारित हुनै नसक्ने ठोकुवा गरेका हुन । उनले भने,‘यो सरकारले संविधान संशोधन नै गर्न चाहेको छैन, संशोधन प्रस्ताव पेश हुने विषय हावादारी हो । कथंकदाचित् पेश भए राप्रपाले विपक्षमा मतदान गर्छ ।’

मधेशको समस्या समाधानका लागि सरकार गम्भीर नभएको थापाको भनाई थियो । मधेशी दलहरूलाई वर्तमान सरकारले झुक्याइरहेको आरोप लगाए । मधेशवादी दलहरूलाई निर्वाचनमा जानबाट रोकेर निहित स्वार्थ पूरा गर्न वर्तमान सरकार सक्रिय रहेको बताए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको समस्या समाधान गर्न नसक्ने थापाको भनाई थियो । संविधान संशोधनका नाममा सरकारले ध्रुवीकरण बढाएको बताए । उनले भने,‘देशको राजनीति राष्ट्रवादी र आत्मसमर्पणवादी गरी दुई ध्रुवमा विभाजित भइरहेको छ । हामी राष्ट्रवादी हौं र वर्तमान सरकारमा भएकाहरू आत्मसमर्पणवादी हुन् ।’ राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने षड्यन्त्र अनुरुप आफ्नो दललाई विभाजित गरिएको तर्क गरे । आफूमाथि राणाले सत्तालोलुप भनी लगाएको आरोपको जवाफ दिदै त्यसो हुन्थ्यो भने उपप्रधानमन्त्रीसहित मन्त्री पदको प्रस्ताव स्वीकार गर्थें भने । गणतन्त्र आएपछि आफू दुईवटा सरकारमा मात्र सहभागी भएको उल्लेख गर्दै भने,‘प्रचण्डजीले सरकार नछाड्नुहोस् भन्दा पार्टी हितका लागि छाडेको हुँ । शेरबहादुर देउवाले उपप्रधानमन्त्रीसहित चारवटा मन्त्रालयको प्रस्ताव गर्दा समेत नगएको हुँ । म कसरी सत्तालोलुम भएँ ?’

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फुटाएर पशुपति शमशेर राणाले गम्भीर गल्ती गरेको जिकिर गरे । राणाले ४० प्रतिशत केन्द्रीय सदस्य पु¥याउनै नसक्ने दाबी गरे ।

उनले भने,‘पशुपति शमशेर राणासँग केन्द्रीय समिति र संसद दुवैमा ४० प्रतिशत पुग्दै पुग्दैन । गएकाहरू फर्केर आइरहेका छन् ।’ निर्वाचन आयोगले न्यायोचित् निर्णय गर्नुपर्ने भन्दै राप्रपा प्रजातान्त्रिकले कुनै हालतमा मान्यता पाउन नहुने जिकिर गरे । कीर्ते हस्ताक्षर गरी निर्वाचन आयोगमा बुझाइएको नामहरूबारे जानकारी गराउँदै आयोगको निर्णय कानुनसम्वत् हुने आशा व्यक्त गरे ।

पशुपति शमशेर राणाले १६ वर्षसम्म राप्रपाको नेतृत्व गरेर पार्टी कार्यालयमा तस्वीर समेत राख्न नसुहाउने क्रियाकलाप गरेको तर्क गरे । राणा राप्रपाबाट अलग हुनुभन्दा पनि विभाजन गर्ने विषय गम्भीर भएको बताए । राणाले पार्टी विभाजन गरेर जघन्य अपराध गरेको आरोप लगाए । उनले अगाडि भने,‘म पार्टी एकता बचाइरहने नाममा समर्पणवादी बनिनँ । कुचोले बडानुपर्ने कसिंगरलाई हावाले उडाइदियो ।’ राणाले पार्टी हित र नीति विपरित क्रियाकलाप गरिरहँदा पनि आफू चुप लागेर बसेको स्मरण गराए ।

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भए देखि नै सरकारमा जान खुट्टा उचालेर बस्नेहरूले सत्ता स्वार्थका लागि पार्टीलाई ध्वस्त पार्ने षड्यन्त्र गरेको आरोप लगाए । पार्टी एकतापछि अनिर्णयको बन्दी रहेको र अबका दिनमा सशक्त निर्णयका साथ अगाडि बढ्ने बताए ।

उनले अगाडि भने,‘पशुपति शमशेर राणाले यही मञ्चमा आएर ऋषि धमलालाई साक्षी राखेर देउवा सरकारमा जानुपर्छ भने, नीति बाहिर गएर व्यक्तिगत विषय बोले । भगवान्ले मलाई बचाएका छन् ।’ आफ्नो नेतृत्वमा राप्रपा अझ बलियो हुने थापाको दाबी थियो । निकै मिहेनतका साथ पार्टी एकता गरेपनि छ महिनामा आन्तरिक र बाह्य शक्तिको आँडमा पार्टी फुट्नुले राप्रपा कार्यकर्ताहरू दुःखित पाएको बताए । आफूहरूले गरेको मिहेनतलाई ध्वस्त पार्ने षड्यन्त्र अनुसार भएका गतिविधिको गम्भीर परिणाम विभाजनका पक्षधरहरूले भोग्नुपर्ने उल्लेख गरे ।

राप्रपा अझ सशक्त र एकतावद्ध भएर अगाडि बढ्ने थापाको भनाई थियो । राष्ट्रप्रमुखका रूपमा राजा रहने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहनुपर्ने एजेण्डासहित अगाडि बढ्ने बताए । हिन्दु अधिराज्यको एजेण्डालाई अझ सशक्त बनाउने पार्टी नीति रहेको उनको भनाई थियो । प्रदेश नम्बर दुईको स्थानीय निकाय निर्वाचनका अलावा प्रदेश र संसदको चुनावमा सिद्धान्त मिल्ने पार्टीसँग तालमेल गरिने बताए । तर, कोसँग तालमेल हुन्छ भन्नेबारे प्रष्ट पारेनन् ।

भारतसँगको सम्बन्धले विशेष महत्व राख्ने भन्दै आफूहरू छिमेकीसँग सुमधुर सम्बन्ध बनाएर राष्ट्रले लाभ लिनुपर्ने पक्षमा रहेको बताए । भारतको स्वतन्त्रता दिवसका अवसरमा भारत र भारतीय जनताप्रति शुभकामना समेत व्यक्त गरे ।
बिमस्टेकको बैठक महत्वपूर्ण रहेको र नेपाल बिमस्टेकको अध्यक्षको हैसियतले शिखर सम्मेलनको मिति तत्काल तोक्नुपर्नेमा जोड दिए । उनले भने,‘बिम्स्टेक शिखर सम्मेलनको मिति तत्काल मन्त्रिपरिषद् बैठक बसेर तय गर्नुपर्छ ।’ बिमस्टेक बैठक नेपालको आर्थिक र राजनीतिक हितका लागि महत्वपूर्ण सावित हुनुसक्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *