संसदको निर्वाचन क्षेत्र संख्या बढाईए अर्को विकल्पखोज्न एमाले बाध्यहुनेछ : शंकर पोखरेल

काठमाडौं, २९ असार – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले सत्तासाझेदार दल कांग्रेस र माओवादी केन्द्रले नयाँ संविधानको व्यवस्था विपरीत हालकै २ सय ४० क्षेत्रलाई संघीय संसद्को निर्वाचन क्षेत्र कायम गराउन भन्दै छलफल अघि बढाएको कुरा आफूहरुले सुनेको भए पनि यसलाई आफ्नो पार्टीले कुनै पनि हालतमा नमान्ने स्पष्ट पारेका छन् ।

उनले भने,‘अहिलेसम्म हामी सँग यस्तो कुरा उहाँहरुले गर्न सक्नुभएको छैन, यदि आयो भने हामी कुनै पनि हालतमा मान्दैनौं।’प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच पहिलो चरणमा छलफल भएपछि यस्तो कुरा बाहिरिएको उनले आरोप लगाए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीले माघ ७ गतेभित्रै निर्वाचन सम्पन्न गर्नु पर्ने र त्यसको लागि चाँडो भन्दा चाँडो निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न माँग गरेको बताए । उनले भने,‘माओवादी केन्द्रका साथीहरुले समानुपातिक चाहियो भन्नु भएको छ अरे, हाम्रो माँग २४० हुँदैहोईन, यस्तो कुरा कल्पना पनि गर्न सकिँदैन्।’ एमालेले संसदको निर्वाचन क्षेत्र बढाउने कुराको कहिल्यै पनि सहमत नगर्ने उनको भनाई थियो ।

उनले भने,‘प्रत्यक्ष तर्फ १ सय ६५ र समानुपातिक बाट १ सय १० गरी कुल २ सय ७५ सदस्सीय संघीय संसद् बनाउने संवैधानिक व्यवस्था छ। यसविपरीत सत्तापक्षले संविधानसभाका लागि कायम गरिएका २ सय ४० क्षेत्रलाई नै निर्वाचन क्षेत्र कायम गर्नु पर्नेमा जोड दिइरहेका कुरा हामीले सुनेका छौं, तर यो हामीलाई मान्य छैन।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले संसदको म्याद पनि एक वर्ष थप्ने भन्ने कुरा सत्तापक्षले गरिरहेको कुरा आफूहरुले सुनेको उल्लेख गर्दै भने,‘यस्तो अनुचित कुरामा हाम्रो कुनै सहमति हुँदैन्, संसदको म्यादथप संभव छैन्, हामी हुनै दिंदैनौं।’उनले संसदको म्याद थप्न खोजिए आफूहरु विकल्प खोज्न बाध्य हुने समेत चेतावनी दिए । उनले माघ ८ गतेको मिति गुजारेर यदि कसैले अनिर्वाचित शासक बन्ने सपना देखेको भए त्यो कुनै पनि हालतमा पूरा नहुने चूनौति दिए । उनले भने,‘राजा ज्ञानेन्द्रको हालत सम्झिए हुन्छ।’

पोखरेलले आफ्नो पार्टीले धेरै पहिलेदेखि नै नयाँ म्याण्डेट पाए पछि मात्रै संविधान संशोधन गर्नु पर्ने बताउँदै आएको स्पष्ट पारे । उनले भने,‘देउवाजी दुई तिहाईको प्रधानमन्त्री बन्नुभयो भनेर केही साथीहरुले भनेको पनि सुनियो, त्यसो भए संविधान संशोधन गरे भैगयो त, किन रोकेर राखेको त ?’ उनले प्रश्न गरे,‘संविधान संशोधन प्रस्ताव तयार पार्दा एमालेलाई सोधियो त ?’उनले संशोधन प्रस्ताव प्रतिपक्षले भन्दा पनि सरकारले नै रोकेर राखेको बताए । उनले थपे,‘हामीले त संशोधनमाथि संशोधन हालेका छौं।’

नेता पोखरेलले सत्तारुढ दलले एमाले र राजपासँग बेग्लाबेग्लै कुरा गरेको समेत आरोप लगाए । उनले भने,‘हामी सँगको सहमतिमा सरकारले चुनाव पछिमात्रै संशोधनमा बृहत्त सहमतिखोज्ने भनेको थियो, तर राजपा सँग उसले चुनाव अघि नै संशोधन प्रस्ताव पारित गराउने भनेको छ, यो उसको दोधारे कुरा भयो, सरकारले एउटा पक्षसँग बेईमानीको राजनीति गरिरहेको छ।’

उनले स्थानीयतहको निर्वाचनको मतपरिणाम अनुसार आफ्नो पार्टी पहिलो बनेको समेत दाबी गरे । उनले भने,‘अहिले एमाले ठूलो पार्टी हो, अहिले सरकारमा बस्नेहरुले त प्राविधिक रुपमा नेतृत्वगरिरहेका छन्।’ वर्तमान सत्तारुढ दलहरुको राजनीतिक रुपमाजनमतगुमिसकेको पनिउनको भनाई थियो । उनले भने,‘युरोप अमेरिकातिर हुन्थ्यो भने सरकारको नेतृत्वकर्ताले तत्काल राजिनामादिएर अर्को नेतालाई नेतृत्वमा पुर्याईसक्थे ।’

उनले कांग्रेसले नै राजपालाई चुनावमा आउन नदिएको आरोप लगाए । ‘राजपा चुनावमा नआउँदा सबैभन्दा ठूलो फाईदा कांग्रेसलाई हुन्छ भनेर उसले राजपालाई चुनावमा आउन नदिएको हो’, पोखरेलले थपे,‘चुनावमा आउ भने जस्तो गर्ने तर आउन नदिने कांग्रेसको रणनिती छ।’

उनले असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि आफ्नो पार्टी नै पहिलो हुने दाबी गरे । उनले भने,‘मधेश र मधेशी जनताको हितगर्ने र उनीहरुको पक्षको एजेण्डा बोक्ने पार्टी नेकपा एमाले नै हो।’ उनले मधेशबारे कांग्रेस र माओवादी केन्द्रसँग कुनै एजेण्डा नै नभएको समेत आरोप लगाए ।

संसदको संख्या बढाउने कुरा कुनै पनि हालतमा स्विकार्य हुँदैन : पाण्डे
नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले पनि संसदको निर्वाचन क्षेत्र २४० बनाउने कुरा पार्टी भित्र कुनै छलफल नभएको र यदि यस्तो खाले कुरा आफूहरुले कुनै पनि हालतमा नमान्ने बताएका छन् ।

उनले भने,‘संख्या बढाउने भन्ने कुरा आधिकारिक रुपमा थाहा छैन, २४० को संख्या किन घटाईयो, त्यसैले यो संख्या बढाउने कुरा हामीलाई मान्य छैन, म व्यक्तिगत रुपमा यो प्रस्तावको पक्षमा छैन, कांग्रेसले मान्दैन् ।’

संसदको निर्वाचन क्षेत्र बढाउने कुरामा एमाले अध्यक्ष केपीशर्मा ओलीले पनि सकारात्मक भएको संकेत गर्दै मुन्टो हल्लाएको भन्ने कुरा आफूहरुले पनि सुनेको उल्लेख गर्दै पाण्डेले भने,‘संविधान संशोधन गरेर मधेशको मुद्दा हल गरौं भन्ने चाहिने कुरामा अड्डी कस्ने तर नचाहिने कुरामा मुन्टो हल्लाएर माओवादीले मान्ला त भन्ने ? यो कस्तो राजनीति हो ?’उनले संसदको निर्वाचन क्षेत्र संख्या १६५ लाई बढाउन नहुने जिकिर गरे ।

त्यस्तै उनले मधेशको माँग सम्बोधन गर्नको लागि आफ्ना पार्टीले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै भने,‘कांग्रेसले निरन्तर प्रयास गरिरहेको छ, तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तयार भएर नआउन्जेल सम्म दुई तिहाई पुग्दैन्।’
उनले संशोधन प्रस्ताव पारित गराउनको लागि कांग्रेस कटिबद्ध रहेको समेत विश्वास दिलाए । उनले भने,‘संशोधन प्रस्तावलाई दुई तिहाईले पारित गर्नको लागि हामी कटिबद्ध छौं, तर राजपाले मान्छ भने निर्णयार्थ पेश गर्न सकिन्छ।’ उनले प्रस्ताव पारित भए पनि नभए पनि राजपा निर्वाचनमा जान तयार हुनुपर्ने धारणा राखे ।

पाण्डेले आउने तेस्रो चरणको स्थानीयतहको निर्वाचनमा राजपालाई सहभागी गराउन आफूहरु प्रयत्नशील रहेको बताए । उनले भने,‘उहाँहरु आउनुपर्छ, यदि आउनु भएन भने पनि चुनाव रोकिँदैन्।’ उनले असोज २ गतेको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे । उनले भने,‘प्रस्ताव पारित भएन भने पनि उहाँहरुले यसलाई नै चुनावी एजेण्डा बनाएर निर्वाचनमा जानुपर्छ।’

चुनावमा सहभागीहुन राजपाको नयाँशर्त
राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले आफूहरु निर्वाचनको विरोधी नभएको बताएका छन् । उनले भने,‘हामी निर्वाचनको विरोधी होईनौं, हामीले कहिल्यै पनि निर्वाचन ईन्कार गरेका छैनौं, हिजो हामी र सरकारवीच एउटा समझदारी भएको छ, उहाँहरुले दुई चारदिन भित्रै मुद्दा फिर्ता, घाईते अपाङ्ग भएकाहरुलाई भरणपोषण गर्ने, सहिद घोषणा गर्ने, र संविधान संशोधनपनि सकेसम्म पारित गर्ने वचन दिनुभएको छ, यदि यस्तो भयो भने हामी निर्वाचनमा भाग लिन्छौं।’

उनले राज्यले आफूहरुसँग माँग सम्बोधन गर्ने भनेर पटक पटक सम्झौता गरेको स्मरण गराउँदै भने,‘माँग पूरा नगर्ने हो भने किन हामीसँग सम्झौता गरेको त ? हुन त सरकारले हामी गर्दैछौं भनेको छ, एमाले सँग पनि वार्ता भैरहेको भनेर जानकारी गराईरहेको छ।’

त्यस्तै उनले पनि निर्वाचन क्षेत्र २४० बनाउने बारे व्यापक चर्चा चलिरहेको कुराप्रति टिप्पणी गर्दै भने,‘अहिले ठूला दलले नाक फुलाईरहेका छन्, यदि संख्या बढाउने हो भने हामी विरोधमा जान्छौं।’ उनले आफ्नो सुविधाको लागि संख्या बढाए जनताले दण्डीत गर्ने बताए ।

सरकारमा जान सहमति भैसकेको छ, अब कसैले रोक्न सक्दैन् : राणा
राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपतिशमशेर जबराले आफ्नो पार्टी छिट्टै सरकारमा सहभागी हुने जानकारी दिए । उनले भने,‘सरकारमा सहभागी हुने निश्चित भैसकेको छ, छिट्टै सरकारमा सहभागी हुन्छ।’उनले भने,‘सरकारमा जानेबारे सहमति भैसकेको छ, अब कसैले पनि रोक्न सक्दैन्।’ जबराले सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्री सँग आफू र पार्टी अध्यक्षले यसअघि नै छलफल गरिसकेको समेत जानकारी दिए ।

जबराले पार्टीले संसदमा विचाराधिन संविधान संशोधन प्रस्तावको पक्षमा एक ढिक्का भएर मतहाल्ने समेत स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टी मधेशको मुद्दा सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा नै छ, मधेशको समस्याहल गरेर जानुपर्छ, अहिले सदनमा रहेको संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने भनेर पार्टीले निर्णय गरिसकेको छ।’

उनले पार्टीका ३७ जनै सांसदहरुले एक ढिक्का भएर प्रस्तावको पक्षमा मत हाल्ने बताए । उनले थपे,‘सांसद गायब छैनन्, हामी सबै सांसदहरुलाई कन्भिन्स गर्छौं, उहाँहरुले प्रस्तावको पक्षमा नै मत हाल्नुहुन्छ।।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *