समानुपातिक तर्फ अहिले सम्मको स्थिति यस्तो छ, कुन-कुन दलले कति सिट पाउने ?

काठमाडौं, २९ मंसिर – समानुपातिक तर्फको मतगणना अब अन्तिमतर्फ पुगेको छ । प्रदेश ३, ४ र ५ को गणना सकिएको छ भने अरु प्रदेशको केही क्षेत्रको मत गन्न बाँकी छ ।

प्रदेशगत रुपमा एमालेले १, ३, ४ र ६ तथा कांग्रेसले २, ५ र ७ प्रदेशमा बढी मत ल्याएर अगाडि रहेका छन् । गणना सकिएको ३ नम्बर प्रदेशमा समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी १७ सिट पाउने भएको छ ।

प्रत्यक्ष र समानुपातिक गरेर यस प्रदेश एमाले एक्लैको बहुमत तथा वाम गठबन्धनको दुई तिहाई पुग्नेछ । यहाँ यस पटक नयाँ दलका रुपमा उदाएको विवेकशील साझा पार्टीले पनि ३ सिट पाउने देखिएको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश ३ मा एमालेले ६ लाख ६५ हजार २४९ मत पाएको छ भने कांग्रेसले ५ लाख ४९ हजार ७०४ र माओवादीले ३ लाख १२ हजार ९७ मत पाएको छ ।

विवेकशील साझाले १ लाख १७ हजार १३९ मत पाउँदा राप्रपाले ५६ हजार १६८ मत पाएको छ । प्रदेशसभातर्फ राखिएको १ दशमलव ५ प्रतिशतको थ्रेसहोल्ड कटाउनेले मात्र समानुपातिकको सिट पाउने प्रावधान छ । यस व्यवस्थाअनुसार अब प्रदेश ३ मा एमालेले १७, कांग्रेसले १४, माओवादी केन्द्रले ८, विवेकशील साझाले ३ र राप्रपाले २ सिट पाउन देखिन्छ ।

उता, प्रदेश ४ को भने नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले पनि समानुपातिकतर्फ एक/एक सिट पाउने देखिएको छ । निर्वाचन आयोगका अनुसार गणना सकिएको यस प्रदेशमा एमालेले ३ लाख ७३ हजार ५०१ मत पाउँदा कांग्रेसले ३ लाख ६४ हजार ७९७ पाएको छ । माओवादीले १ लाख १९ हजार ५२८, नयाँ शक्ति पार्टीले २४ हजार ६२५ र जनमोर्चाले १९ हजार २७६ मत ल्याएका छन् ।

१ दशमलव ५ प्रतिशतको थ्रेसहोल्ड कटाउने दलमध्ये एमालेले सबैभन्दा धेरै १०, कांग्रेसले ९, माओवादीले ३, नयाँ शक्ति र जनमोर्चाले एक/एक सिट पाउने भएका हुन् । अब यस प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने पनि निश्चित देखिएको छ ।

प्रदेश ५ मा भने समानुपातिकमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले ५ लाख २ हजार ४८३ मत पाउँदा एमालेले ४ लाख ९८ हजार ६१२ मत पाएको छ । यहाँ माओवादी केन्द्रले २ लाख २३ हजार ६२४, संघीय समाजवादी फोरमले ७६ हजार ७७७, राजपाले ५३ हजार ३६८ र अन्य दलहरुले १ लाख ५२ हजार ३३० मत पाएका छन् ।

६ दलले थ्रेसहोल्ड कटाउँदा कांग्रेसले सबैभन्दा बढी १३, एमालेले १२, माओवादीले ६, संघीय समाजवादीले २, राजपा र राप्रपाले एक/एक सिट पाउने भएका हुन् । यस प्रदेशमा ८७ सदस्यीय संसद बन्नेछ । यहाँ पनि वाम गठबन्धनको दुई तिहाइ सिट हुनेछ । यद्यपि, निर्वाचन आयोगले भने सिट बाँडफाँड गर्न बाँकी नै रहेको हिमाल खबरमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *