सांगीतिक दुनियाँमा ममता राईको चर्चा

“ममता” गीति एल्बम पछाडी “ममता २” बजारमा ल्याएर चर्चाको शिखरमा पुगेकी गायिका ममता राई खोटांगको वुईपामा जन्मिएकी हुन् । सुन्दरी गायिका भनेर चिनिने गायिका ममता राई मेलोडियस गायिका मात्रै हैन उनि एक मोडेल पनि हुन् ।

सानै उमेर देखी नाच्न गाउन रुचाउने ममताले ६ बर्षकै कलिलो उमेरमा गीतहरु गुनगुनाउन थालेकी थिईन् । स्कुलमा हुने हरेक सांस्कृतीक सांगीतिक कार्यक्रममा उनले गीत गाउने गर्थिन् । कक्षा ६ मा पढ्दै गर्दा अरुणा लामाको “सोचे जस्तो हुन्न जीवन” गाएपछि सबैले सोचे जस्तो हुन्न जीवन भन्दै जिस्काउने गर्थे ममता राईलाई ।

दिक्तेलबाट संगीत सिक्नकै लागी काठमाडौ आएकी ममता राईले श्री संगीत पाठशालामा चण्डिप्रसाद काफ्ले संग लगातार ४ बर्ष संगीत सिकेकी छिन् । “म त मायामा हारेको मान्छे” बोलको गीत उनको पहिलो रेकर्ड भएको गीत हो । यो गीतलाई शंकर अधिकारी घायलको शब्द रचनालाई संतोष प्रगाढले संगीत गरेका छन् । यसरी सुरुवात भएको ममता राईको सांगीतिक यात्रा आजसम्म आईपुग्दा “फूलै राखी हातैमा” “शिरै फूल मेरो” “टुनामुना” “मेरो जीवनको ज्योति” “तिम्रो मायाले धेरै रुवायो”जस्ता दर्जनौ गीतहरुमा आफ्नो स्वर रेकर्ड गराई सकेकी छिन् ।

“मेरो जीवनको ज्योति”बोलको गीतमा नायक गजित विष्ट संग अभिनय गरेर मोडेलिङ्ग यात्रा सुरुवात गरेकी ममता राईले अन्य थुप्रै गीतको म्युजिक भिडियोमा अभिनय गरीसकेकी छिन् । नेपालको पुर्व पश्चिम धेरै ठाउँ सांगीतिक-सांस्कृतिक कार्यक्रमको लागी पुगी सकेकी गायिका/मोडेल ममता राई स्टुडियोमा भन्दा स्टेजमा अझ मज्जाले जम्ने गरेकी छिन् । उनको आकर्षक शारीरिक वनावटले गर्दा पनि स्टेजमा युवाहरुलाई जुरुकै उफार्ने उनमा क्षमता रहेको छ । यति मात्रै हैन, सरल व्यवहार अनि मिजासिलो, हसिलो अनुहारले गर्दा सबै प्रकारका मानिसहरु संग सजिलै घुलमिल हुन सक्ने भएकोले उनलाई यो सांगीतिक यात्रामा धेरै माथि सम्म पुर्याउने देखिन्छ ।

मोडेल ममता राई म्युजिक भिडियोमा

भर्खरै सार्वजनिक भएको गायिका ममता राईको आफ्नो दोस्रो एल्बम “ममता २” एल्बममा ६ वटा गीतहरु रहेका छन् । एल्बममा रहेको “शिरैमा फूल मेरो” बोलको गीतलाई शब्द रचना र संगीत शिव संगम राईले गरेका छन् भने एरेन्ज गोपाल रसाईलीले गरेका छन् । एल्बममै रहेको दोस्रो गीत भूपाल राईको शब्द रचनालाई शिव संगम राईले नै संगीत गरेका छन् भने सुन्दर लामाले एरेन्ज गरेका छन् । अर्को गीत ”फूलै राखी हातैमा, विन्ती बिसाउकी” बोलको गीतलाई पनि शिव संगम राईले नै संगीत गरेका छन् भने, लाहाङ्ग सुब्बाको एरेन्ज रहेको छ । यो गीतमा राजेश पायल राईले ममता राईलाई स्वरमा साथ् दिएका छन् ।

एल्बममा रहेको अर्को गीत “लेकमै फूल्ने तोरी बारी, बेसी गैह्री खेत” बोल रहेको ईन्द्र जिजीविषाको शब्द रचनालाई खगेन्द्र याक्सोले संगीत गरेका छन् भने चन्दु गोर्खालीले एरेन्ज गरेका छन् । यस्तै एल्बममा रहेको पाँचौ गीत “हाकु पटासीमा हाँसुकी” बोलको गीतलाई ध्रुव सत्यले शब्द रचना गरेका हुन् भने बीबी अनुरागीले संगीत गरेका छन् । एल्बममा रहेको अन्तिम अथवा छैटौ गीत “तिमी मेरो हर विहानी हौ” बोलको गीतलाई रुद्र कुमार राईले लेखेका हुन् भने उत्तम जंग लिम्बुले संगीत गरेका छन् ।

भर्खरै सार्वजनिक भएको “ममता २” बाट ममता राई र राजेश पायल राईको स्वरमा मोडेल निशा पोमु र रुकमान लिम्बुको अभिनय रहेको म्युजिक भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *