सार्वजनिक संस्था कर्मचारी संगठन नेपालले एनसेलको कर छलीको बिरुद्धमा प्रधामन्त्रीको ध्यानाकर्षण गरायो

काठमाडौ १० चैत्र,सार्वजनिक संस्था कर्मचारी संगठन नेपालले माईती घर मण्डलामा २०७३-१२-८ का दिन,एक कार्यक्रम गरेर एनसेलले राजश्व छली गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छ । नेपालको संचार क्षेत्रमा मोबाईल सेवा प्रदायक कम्पनी एनसेल युरोपियन कम्पनी टेलिया सोनेराले एनसेलको ६४.४ % शेयर स्वामित्व मलेशियन कम्पनी एक्जियटालाई १ खर्ब ४४ अर्बमा बिक्रीगर्दा राज्यलाई बुझाउनु पर्ने लाभकर ३५ अर्ब मध्ये केहि रकम अग्रिम कर वापत बुझाएको र बाँकी पुँजीगत लाभकर बुझाउन अटेर गरेकोले सार्वजनिक संस्था कर्मचारी संगठन नेपालले एक कार्यक्रम गरेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

यस सम्बन्धमा संसदको लेखा समिति र अर्थ समितिले गत बर्ष २०७३ जेठ महिनामै शिघ्र कर असुली गर्न र असुली नभए सम्म एनसेललाई फोर जी र अन्य सेवा सुविधा संचालनको लागि अनुमति नदिन निर्देशन गरेको थियो । तर राज्यको यति ठूलो राशिको राजश्व उठाउन राज्य संयन्त्रको जिम्मेवार निकाय मौन रहेकोमा मुलुकको राजश्वमा ठूलो नोक्सानी पुग्न गएकोले सार्वजनिक संस्था कर्मचारी संगठन नेपालले उक्त बिरोध कार्यक्रम गरेको हो ।

एनसेलको शेयर बिक्रीबाट सृजित पुँजीगत लाभकर असुल गर्न कर अधिकृतबाट ढिलाई गरेकोमा सरकारको अनुगमन र निर्देशनको सट्टा एनसेललाई कर उन्मुक्ति दिने र बिदेशीएका कम्पनी टेलिया सोनेराले कर तिर्नु पर्ने भन्दै छलफल गरेकोमा सार्वजनिक संथा कर्मचारी संगठन नेपालले आपति जनाएको छ ।

२०५६ सालमा स्पाईस नेपालको नाम बाट मोबाईल सेवा संचालन गर्दै हाल एनसेल सम्म आईपुग्दा धेरै वटा कम्पनीका नाममा बिक्रीहुदै स्वामित्व हस्तान्तरण भएको तर हरेक पटक किताब मूल्यको आधारमा खरिद बिक्री भई विगतदेखि नै राज्यलाई अत्यान्तै न्यून राजश्व बुझाएकोले एनसेल पुर्बका सम्बन्धित कम्पनीले राज्यका सम्बन्धित निकाय संग मिलेमतो गरेको आशंका सार्वजनिक संथा कर्मचारी संगठन नेपालले गरेको छ ।

कुनै पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीले सम्बन्धित राज्यलाई कर तिर्नु पर्दछ । तर अनेकौ बहाना बनाएर राज्यलाई तिर्नु पर्ने कर नतिर्दा ब्याबसायिक मूल्य मान्यता र नैतिकता विपरीत पर्दछ । एनसेलको यस्तै रवैया रहे जनताले बहिस्कार गर्ने चेतावनी पनि कार्यक्रममा दीएको छ ।

मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पुर्‍याउदै आएको सार्वजनिक संस्थाहरुमा करिब ४० हजार पेसाकर्मीहरु आबद्ध रहेका छन् । सोहि क्षेत्रमा क्रियाशील २९ वटा प्रतिष्ठान स्तरको ट्रेड युनियनहरुको छाता संगठनको रुपमा रहेको पेशागत महासंघ नेपाल र अन्तराष्ट्रिय स्तरको ट्रेड युनियन इन्टर नेशनल पब्लिक सर्भिस एण्ड एलाईड आबद्ध रहेको छ । यसले सार्वजनिक संस्थाको संरक्षण, विकासका साथै पेसागत हक अधिकारको लागि आवाज उठाउदै आएको छ ।

कार्यक्रममा नेपालको कर सम्बन्धी अभियानका अभियन्ता ठाकुर गैरे, पेशागत महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनाल र सार्वजनिक संस्था कर्मचारी संगठन नेपालका अध्यक्ष गोविन्दप्रसाद पौडेलले सम्बोधन गरेका थिए । कार्यक्रममा ६ सय भन्दा धेरैको सभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *