सोचे जस्तो कहाँ हुदो रहेछ र यो बेठेगाने जिन्दगी ? (संस्मरण): ईन्द्र जिजीविषा

रात चकमन्न छ । झ्याल बाट बाहिर चिह्याउछु , आकाश भरी ताराहरु टिलपिल टिलपिल गरिरहेका छन् । पारी तिर कुकुर भुक्दै छ । मधुरो बत्तिको उज्यालोमा भितामा तुर्लुङ झुन्डिएको क्यालेन्डर हेर्छु । दिनहरु कति चाडै बितेको यो ? हिजो जस्तै लाग्छ एक कक्षामा भर्ना हुन गएको दिन । भाका हाली हाली क, का, कि, की, कु, कू, के, कै, को, कौ, कं, क, भनेको । अनि टाला टुलि बटुली कति राम्री पुतली र बस बस मौरी बुधबार जाउली । यी कबितालाई उफ्री उफ्री पढेको । उफ ……समय कति चाडै बित्दो रहेछ । किन मलाइ नपर्खिएको होला यो समयले ?

जिन्दगीका हरेक मोड र घुम्तीहरुमा , आरोह अवरोह पार गर्दै आज यहाँ छु । भोलि कहाँ पुग्नु पर्ने हो ? यो बेठेगाने जिन्दगीको कुनै टुंगो छैन । सोचे जस्तो कहाँ हुदो रहेछ र जिन्दगी ? सम्हाल्नै नसकिने गरि असरल्ल छरिएका छन तिता मिठा क्षणहरु । न कुनै चाहाना छ न उदेश्य । गन्तव्य बिहिन यात्री भएर कतिन्जेल चल्ने होला ? मिल्ने भए एक पटक फेरि त्यो बाल्यकालमै फर्किन्थे म । त्यो समयको कुनै वर्णनै छैन । अभाव अनि कम्जोर भए पनि खुसी नै खुसी थियो । एका बिहानै घाँसको भारी गोठमा ल्याएर मकै पिठे भात अनि रायो साग ,आजको बासमती चामल र हाइब्रीड बोइलर भन्दा कयौ गुणा मीठो लाग्थ्यो । गाता उक्कि सकेको किताब पाँच रुपैयाको ज्योती कापी अनि रेन्को डटपेन बोकेर रबरको गम्बुट बजाउदै स्कुल कुदेको त्यो पल । एक बजे छुट्टिमा थाङ्नाको गोल भुइखुट्टे खेलेको क्षण । आज सम्झिदा अहिले जस्तो लाग्छ। पुस माघको कठाङ्ग्रीने जाडोमा , आमाको टाटनको बर्को ओढेर भर्खरै कोदोको नल काटेको बारिमा मकैको ढोड जम्मा गरि आगो फुकेर , सुठुनी खोज्दै पोलि खाएको । वारिपारी डाँडा थर्काउदै उकालो लागेर, रुपाकोटमा दाउरा काट्नु जादा डन्डी बियो खेलेको अहिले झै लाग्छ। खेतालो जादा आमाले , पोल्टाभरी खाजा पोको पारेर ल्याइ दिनु हुन्थ्यो । त्यो पलहरु कसरी बिर्सौ म आज ? आज म संग न आमा छ न त्यो बाल्यकाल नै । खेतको गह्रा गह्रामा हावाको सुसेली संगै बयलि खेल्ने धानको बाला हेरि रहदाको क्षणहरु । कति रमाइलो थियो ।

एक दिनको कुरा हो । त्यति बेला म कक्षा ९ मा पढ्थे । दिक्तेलमा भर्खरै फिल्म चल्न थालेको थियो । त्यति बेला खै कसरी हो कुन्नी , फिल्म प्रती धेरै क्रेजी भैएछ । घर बाट स्कुल जान भनी हिडे पछि केही साथीहरु संग बाटैमा कुनै एउटा ठूलो ढुंगो उक्काएर किताब ढुंगाले किची, अरुको नजरमा बजार गए जस्तो पारी फिल्म हेर्न गैयो । ९ कक्षाको रजिस्ट्रेसन फर्म भर्न घर बाट ल्याएको पैसा साथीहरु संग फिल्म हेरियो । यो कुरा केही समय पछि मेरो घरमा थाहा भएपछि मलाइ धेरै गाली गर्नु भयो । त्यसपछि म र अरु तीन जना घर बाट भागेर हिड्यौ । म संग एक रुपैयाँ पनि पैसा थिएन । साथीहरुले भने घरको काँसको थाल र डबका चोरेर बेचेको कारण थोरै पैसा थियो । त्यसरी हामी घर बाट भागेर हिडे पछि आफ्नै संसारमा रमाउदै मुढे नुन्थला हुँदै, बेलुका वास बस्न हलेसी पुग्यौं । त्यहा चार जनाले जम्मा चालिस रुपैयाँको चिउरा र आलु खायौ । भोलि पल्ट बिहान हलेसीको दर्शन गरि, हैदेको बाटो हुँदै सुनकोसीको किनारै किनार हिडयौं । सुरुङ खोला पार गर्दै गर्दा सबै जना भोकले लखतरान भैए छ । नजिकैको खेत बाट हरियो मकै ल्याएर काँचै खायौं । बेलुका बस्न लिम्पाटार पुगियो । तर त्यहा केही खाने कुरा नपाउदो रहेछ । अनि भुटेको मकै ६ रुपैयाँ माना किनेर भर्खरैको चिचिलो आँप संग खाएर सुत्यौं । भोलि पल्ट बिहान कटारी पुग्न लाग्दा, घर बाट हामीलाई खोज्दै खोज्दै मेरो बाबू र साथिको बाबू आइ पुग्नु भएछ । तर एक शब्द पनि केही भन्नु भएन । त्यसपछि कटारी लगेर हामिलाइ मासु भात टन्नै खुवाउनु भयो । दुई दिन भएको थियो टन्न पेट भरी खान नपाएको । त्यो रात कटारी मै बसेर भोलि पल्ट घर फिर्यौं हामी ।

यदि त्यो समयमा म घर नफर्किएको भए, के हुन्थे ? कस्तो हुन्थे ? आज म कल्पनै गर्न सक्दिन । त्यसपछि, पढाइलाइ निरन्तर दिए मैले । तर के गर्नु ? सोचे जस्तो र देखे जस्तो नहुदो रहेछ जिन्दगी । रोजि रोटिको लागि भौतारिन्दै गर्दा जिबिकोउपार्जनको लागि अरब तिर लागें । आज यसरी पर्देशिएको पनि धेरै बर्ष बिति सक्यो । तर जिन्दगीले कुनै अर्को नयाँ मोड लिएको छैन । अझै कति पर्देश बस्नु पर्ने हो ? कति धोका र हन्डर खानु पर्ने हो ? यो चोटै चोटले भरिएको जिन्दगी त्यो पनि अनिश्चित छ । लोभ गर्दा गर्दै , कतै बाटोमा हिड्दा हिड्दै यो एक मुठी श्वास फुस्स उडेर जाने पो हो कि ?

अहो ! म त कल्पनामा कहाँ पो पुगि सकेछु। सोच्दा सोच्दै आँखा बाट आँसु रसायो । अहिले पनि वातावरण मौन नै छ। जस्तो जति धोका र हन्डर खाए पनि मौन म बसे झै ।

इन्द्र जिजीबिषा

One thought on “सोचे जस्तो कहाँ हुदो रहेछ र यो बेठेगाने जिन्दगी ? (संस्मरण): ईन्द्र जिजीविषा

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES