स्वचालित यात्रु बसको पहिलो दिन नै अमेरिकामा दुर्घटना

अमेरिका २२ कात्तिक- अमेरिकाको लस भेगस शहरमा एउटा स्वचालित यात्रु बस आफूले सेवा दिएको पहिलो दिनमै दुर्घटनामा परेको छ। ‘कैयौं’ यात्रुहरु सवार भनिएको उक्त चालकविहीन बस सुस्त गतिमा गुडिरहेको एउटा लरीसँग ठोक्किएको थियो।

उक्त दुर्घटनामा कसैलाई चोटपटक लागेको छैन। अधिकारीहरुले लरीका चालकको मानवीय त्रुटिका कारण उक्त दुर्घटना भएको जनाएका छन्। ती चालकलाई तत्कालै प्रहरीले रसिद दिएको थियो।

उक्त चालकविहीन यात्रु बस अमेरिकाका सार्वजनिक सडकमा पहिलो पटक गुडाइएको त्यस्तो प्रकृतिको सवारी साधन हो। गुगलको माउ कम्पनी अल्फाबेटले फिनिक्स एरिजोनामा चालक रहित ट्याक्सी सञ्चालनमा ल्याउने घोषणा गरेको एक दिनपछि दुर्घटनाको यो खबर ‍आएको हो।

लस भेगसको चालकविहीन बसले नाभ्या नामक कम्पनीले विकास गरेको प्रविधिको प्रयोग गरिरहेको छ र त्यसको परीक्षण लण्डनमा समेत भइरहेको छ।
अधिकतम गति ४५ किलो मिटर प्रति घण्टा रहेको उक्त बसमा बढीमा १५ जना यात्रु चढ्न मिल्छ। साधारणतया उक्त बस २५ किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने गर्छ।

सिटी अफ लस भेगसका प्रवक्ताले बस र लरी सामान्य रुपमा ठोक्किएको र नियमित जाँचपछि उक्त चालकविहीन बस बिहीवारबाट सञ्चालनमा आउने बताए। उनले भने, “एउटा गल्लीबाट सामान पुर्याउने ट्रक आइरहेको थियो। उक्त बस लरीलाई देखेर रोकियो, उसले गर्नुपर्ने पनि त्यहि थियो। तर दुर्भाग्यवश चालकको मानवीय त्रुटिका कारण ट्रक रोकिएन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *