आयल निगममा जग्गा खरीद प्रकरण आन्तरीक छानविन शुरु : मन्त्री मण्डल

बिराटनगर, २२ साउन – आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरीद प्रकरणमा मन्त्रालयले आजदेखि आन्तरीक छानविन शुरु गरेको बताउनुभएको छ । मन्त्री भईसकेपछि पहिलोपटक गृहजिल्ला पुग्नुभएका मन्त्री मण्डले आज बिराटनगर बिमानस्थलमा पत्रकारहरु संग कुरा गर्दै आन्तरीक रुपमा अनुसन्धान प्रकृया थालेको बताउनुभयो ।

जग्गा खरीदको विषय विभीन्न संसदिय समितिले छानविन थालिसकेकोले हतारमा बोल्नेमात्र भन्दापनि कानुनसम्मत तरीकाले अगाडी बढ्नुपर्ने विषय भएको उहाँले बताउनुभयो । त्यसका लागि कानुनी रुपमा आफूले राय लिईरहेको उहाँको भनाई छ । ‘कार्वाहीगर्ने कुरा कानुनसम्मत तरीकाले अगाडी बढ्नुपर्छ, हतार रुपमा बोल्ने कुराले त्यति प्रभावकारी बन्न सक्दैन’, उहाँले भन्नेभयो – ‘२ तीन दिन भित्रमा मन्त्रालयको तर्फबाट एक्सन लिने कुरा हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

अनुसन्धान र तथ्यहरु नहेरीकन बोल्ने कुरा भन्दापनि तथ्य आईसकेपछि मात्र प्रकृया अगाडी बढाउने कुरा महत्वपूर्ण हुने उहाँको भनाई छ । अनुसन्धानबाट तथ्य आधारहरु आईसकेपछि दोषी ठहरीएमा कार्वाहीका लागि जस्तो सुकै जोखिम उठाउन पनि तयार रहेको उहाँले बताउनुभयो । दोषीलाई कार्वाही गर्ने सन्दर्भमा विभिन्न क्षेत्रबाट दवाव आउनसक्ने आशंका गरीएको भन्दै उहाँले जस्तोसुकै दवाव आएपनि कार्वाही गर्ने बताउनुभयो । ‘दोषी ठहर भएमा कैयौँ ठाउँको फोन थाम्न सक्नुहुन्छ भनिरहेको अवस्थामा मैले के क्लियर गर्न चाहेको छु भने जस्तो सुकै प्रकारको फोन आएपनि यदि दोषी ठहर गरेमा कार्वाहीगर्ने कुरामा जस्तो सुकै ताकतले पनि रोक्न सक्दैन’ उहाँले भन्नुभयो ‘बरु म यो मन्त्रालय छोड्नु पर्ने अवस्था आएपनि छोडुला तर दोषी ठहर भए कार्वाहीको प्रकृया छोड्दिन ।’

मन्त्रालयलाई नै निर्देशन गर्ने विभीन्न संसदिय समितिहरुले आआफ्नै तरीकाले छानविन गरीरहेको र सबैको चाँसोको विषय भएकोले छानविनको तथ्य कुरा आउनुपर्ने उहाँको भनाई छ । ‘व्यवहारीक रुपमा केही समस्याहरु भएको भन्नेकुरा देखिन्छ, नीतिगत र तथ्यगत रुपमा यसको तथ्यगत प्रमाण आउन जरुरी छ’, उहाँले भन्नुभयो – ‘त्यसलाई टेकेर अगाडी बढ्ने कुरामा सजिलो हुन्छ, त्यही आधारमा अहिले मन्त्रालयबाट त्यसको अनुगमन र निगरानी गरीईरहेको छ ।’

दैनिक उपभोग्य बस्तु सहज र सुपथ मूल्यमा पाउने विषयमा मन्त्रालयको तयारी के छ भन्ने विषयमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री मण्डलले आफूले उपभोक्ताको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढिसकेको बताउनुभयो । त्यसका लागि मन्त्रालय सम्हालेपछि सम्बन्धित निकायलाई निर्देशन दिईसकेको तर निर्देशनले मात्र नहुने अनुगमन नै शुरु गर्ने बताउनुभयो । ‘निर्देशनले मात्र हुँदैन त्यसको अनुगमन आवस्यक छ’ उहाँले भन्नुभयो – ‘त्यसैले खाद्य बस्तुको कुराहरु जनताले सहज रुपमा पाउने विषयमा निर्देशन गरीसकेको अवस्था छ ।

दशै तिहारमा कृत्रिम अभाव सिर्जना गर्ने कुरालाई रोक्न प्रभावकारी अनुगमन गरेर अगाडी बढाउन निर्देशन भईसकेको उहाँले बताउनुभयो । कृत्रिम अभाव सिर्जना गर्ने दोषिलाई कार्वाही गर्ने विषयमा कानुनी अप्ठ्यारो रहेको देखिएकोले कानुन संसोधनका लागि ड्राफ्ट बनाईसकेको उहाँले बताउनुभयो । ‘केही कुराहरु कनुनी रुपमा पनि समस्या रहेछ, कानुन संसोधनका लागि मन्त्रालयको तर्फबाट ड्राफ्ट पनि भईसकेको छ’, उहाँले भन्नुभयो – ‘कानुन पनि चाहियो र जनशक्ति पनि चाहियो, कृत्रिम अभाव सिर्जना दोषिलाई सामान्य तरीकाले छोड्ने कुरा हुँदैन ।’

आपूर्तिमन्त्री मण्डलले नेपाल आयल निगम आफै सक्षम हुने गरी अगाडी बढ्नुपर्ने र आत्मनिर्भरलाई प्राथमिकता दिई परनिर्भरतालाई निरुत्साहित गर्नेगरी अगाडी बढ्ने उहाँको भनाई छ । चिनसंग पेट्रोलियम पदार्थको विषयमा भएको विगतको सहमतिको कार्यान्वयनको अवस्थाको विषयमा पन िआफूले अध्ययन गरीरहेकोले प्रकृया अगाडी बढाउन थप कदम चाल्ने उहाँको भनाई छ ।

एक फरक प्रसंगमा मन्त्री मण्डलले बिराटनगरमा विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाको विषयमा आफूले विगतमा भएका योजना र भएका कार्यहरुको रीपोर्ट मागेर काम शुरु गरीसकेको बताउनुभयो । त्यो आईसकेपछि आफ्नो धारणा बनाएर अगाडी बढ्ने उहाँको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *