एमालेको १० औं महाधिवेशन चितवनमा

काठमाडौं – नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबारको बसेको स्थायी कमिटी बैठकले पार्टीको आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

बैठक शुक्रबार दिउँसो २ बजे पुनः बस्ने छ । एमालेको १० औं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ ।

एमालेले १०औं महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।

बिहीबार च्यासलमा बसेको बैठकले चितवनमा हुने महाधिवेशन आयोजनाका लागि मूल व्यवस्थापन समिति गठन गरेको हो । जसमा सबै प्रदेशको प्रतिनिधित्व रहने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यस्तै बैठकले हालै सम्पन्न विधान महाधिवेशन सफल र ऐतिहासिक भएको निष्कर्ष निकालेको छ ।
बैठकले बाढी पहिरो र डुबानबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतका कार्यक्रमण घोषणा गर्न सरकारसँग माग गरेको छ । यस्तै, मौसम पूर्वानुमानलाई थप व्यवस्थित बनाउन आग्रह गरेको छ । यसैगरी बैठकले विभिन्न सामाजिक संघसंस्थामाथि सरकारले नाङ्गो हस्तक्षेप सुरु गरेको भन्दै आपत्ति जनाएको छ ।

९५ प्रतिशत स्थानमा १० बुँदे कार्यान्वयन
पार्टीको १० बुँदे प्रस्ताव कार्यान्वयनका क्रममा सहजीकरण कार्यदलको बैठक बिहीबारै सम्पन्न भएको र त्यसका संयोजक डा भीमबहादुर रावलले शुक्रबार हुने स्थायी कमिटी बैठकमा सुझाव प्रस्तुत गर्ने जनाइएको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘अधिकांश स्थानमा १० बुँदे प्रस्तावको कार्यान्वयन भएको छ, यो सिङ्गो पार्टीको प्रस्ताव हो, ९५ प्रतिशत कार्यान्वयन भइसकेको छ, समस्या भएका स्थानबारे निर्णय गर्नुपर्ने भएमा स्थायी कमिटीमा प्रस्ताव ल्याउन सकिन्छ, यसमा मात्रै अल्झिएर पार्टीका कामलाई अवारोध नगरौँ भन्ने आग्रह हो ।’

नेकपाको नामसम्बन्धी विवादको रिटमा गत फागुन २३ गतेको सर्वाेच्च अदालतको फैसलाबाट एमाले र नेकपा (माओवादी केन्द्र) बीचको २०७५ जेठ ३ मा भएको एकता कायम नरहेपछि एमालेभित्र पूर्ववत् संरचनाका विषयमा मतभेद उत्पन्न भएपछि एमालेका तत्कालीन नेता माधवकुमार नेपाललगायतले असन्तुष्टि जनाएपछि अध्यक्ष केपी शर्मा ओली र नेपालको सहमतिमा नेताहरु डा रावल, सुवाचन्द्र नेम्वाङसहिति १० नेता सम्मिलित कार्यदलले गत असार २७ गते सहमतिका लागि १० बुँदे प्रस्ताव तयार गरेको थियो ।

नेता नेपालले उक्त प्रस्तावपछि पनि थप सहमति माग गरेपछि एमाले विभाजन गरेका थिए भने डा रावललगायत नेता मूल पार्टीमा कायम हुनुहुन्छ ।

एमालेको गत भदौ ८ गतेको स्थायी कमिटी र भदौ १० गते भएको केन्द्रीय कमिटीको बैठकले १० बुँदे प्रस्तावलाई रचनात्मक कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार एमालेले पार्टीका केन्द्रीय कमिटी, निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी, स्थानीय तह कमिटी जनसङ्गठनलगायत सबै कमिटीमा रहेका पदाधिकारीलाई २०७५ जेठ २ गतेपूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको थियो ।

दश बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान तथा केन्द्रीय कमिटीमा मनोनयन गरिने १० प्रतिशत सदस्यको सिफारिस गर्न एक कार्यदल गठन गरिएको छ ।

सो पार्टीले २०७५ साल जेठ २ गते सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आवद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ जेठ ३ गतेपछि दिइएका नयाँ सदस्यको पनि नवीकरण गर्ने तय गरिसकेको छ ।

विधान महाधिवेशन ऐतिहासिक
बैठकले गत असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न पार्टीको प्रथम विधान महाधिवेशन भव्य र ऐतिहासिक भएको ठहर पनि गरेको छ ।

सो महाधिवेशनले विचार तथा नीतिमा सर्वसम्मति हुनाका साथै भावनात्मक एकतासहित पार्टीमा नयाँ ऊर्जा प्रदान गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

सो महाधिवेशनले राजनीतिक प्रतिवेदन, विधान संशोधन र सङ्गठनात्मक प्रस्तावमा छलफल गरी पारित गरेको थियो । पारित विधानलाई पार्टीले प्रकाशन गरी तल्ला कमिटीमा पठाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *