ऐन संशोधन र चिकित्सकको सुरक्षाको प्रत्याभुति नगरे सम्म आन्दोलन रोकिँदैन् : अध्यक्ष डा. श्रेष्ठ

काठमाडौं, १० असोज । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्ति श्रेष्ठले राज्यले चिकित्सकको सुरक्षाको प्रत्याभुति र ऐन संशोधन नगरे सम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।
मंगलबार साँझ रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष डा. श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने,‘हामीले धेरै ठूलो माँग राखेकै छैनौं, दुई वटा कुराहरुमा सरकारको प्रतिबद्धता आए हामी आन्दोलन एक सेकेण्डमै स्थगित् गर्छौं।’

रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा कार्यक्रममा बोल्दै उनले “सरकारले आफूहरुको आन्दोलन प्रति कुनै गम्भिरता नदेखाएको गुनासो पोखे । उनले थपे,‘यो देशमा सरकार छ कि छैन, हामीलाई त आश्चर्य लागेको छ, एउटा सानो निर्णय गर्नको लागि पनि प्रधानमन्त्री कुनु पर्ने अरे ? यो लज्जास्पद कुरा भयो नि।’

उनले सरकार स्वास्थ्य क्षेत्रप्रति गम्भिर नबनेको समेत आरोप लगाए । उनले भने,‘०४८ सालदेखि अहिलेसम्म त्यही जनशक्ति छ, यतातिर ध्यान दिनु पर्दैन, त्यही जनशक्तिले उपचार भैरहेको छ।’ उनले सरकारले ल्याउन लागेको विद्येयक तत्काल संशोधन गर्ने प्रतिबद्धता आए आफूहरु एक सेकेण्ड पनि आन्दोलनमा नबस्ने स्पष्ट पारे ।

श्रेष्ठले सरकारको तर्फबाट स्वास्थ्य सचिवले लिखित प्रतिबद्धता वा सार्वजनिक रुपमा (मिडियासामू)प्रतिबद्धता जनाए पनि आफूहरु आन्दोलन स्थगन गर्न तयार रहेको विश्वास दिलाए । उनले भने,‘प्रधानमन्त्री नभएको बेलालाई मिनिस्टरको नाताले स्वास्थ्यमन्त्रीले यो कामगर्नु पर्ने हो नि, तर उहाँले केही गर्नु भएन्, गैरजिम्मेवारी पूर्ण अभिव्यक्ति दिने काम गर्नु भएको छ।’

त्यस्तै उनले अनशनरत डाक्टर गोविन्द केसीको माँगबारे आफूहरुलाई कुनै जानकारी नभएको र आफूहरुसँग सम्बन्धित नभएकोले यसमा कुनै समर्थन नरहेको स्पष्ट पारे । उनले भने,‘साँच्चिकै भन्नुहुन्छ भने उहाँको माँगबारे हामीलाई केही थाहा छैन, हाम्रो सेक्टर भन्दा फरक छ।’उनले केसीको अनशन सँग आफूहरुको कुनै समर्थन नरहेको स्पष्ट पारे ।

कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले आन्दोलनरत चिकित्सक र सरकारवीच अविलम्ब वार्ता भएर एउटा निश्कर्षमा पुग्न जरुरी रहेको भन्दै दुवै पक्षलाई संयमता अपनाएर सहमतिका साथ अघि बढ्न अपिल गरे । उनले भने,‘हामी अहिले चाडपर्वको मुखमा छौं, यस्तो बेलामा चिकित्सकहरुले पनि जनतालाई सेवा प्रवाह गर्ने कुरामा विशेष ध्यान दिनुपर्छ, सरकारले पनि चिकित्सकहरुको माँगका बारेमा सम्बोधन गर्नु पर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *