ओली रसुवाको लाङटाङ पुगे

काठमाडौ- एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार रसुवाको लाङटाङ पुगेका छन्। निर्वाचनपछि काठमाडौंमा सरकार निर्माण र नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको कसरत भईरहेको बेला आफु निकटका चार नेतासहित अध्यक्ष ओली मनाङ एयरको हेलिकोप्टरबाट मंगलबार बिहानै लाङटाङ भ्याली पुगेका हुन्।

स्रोतको अनुसार ओलीको यो पूर्व निर्धारित कार्यक्रम नभएपनि उनीहरू त्यहाँ दिनभर बस्ने अनुमान गरिएको छ। ओलीसंग एमालेका प्रभावशाली चार नेताहरु एमाले पार्टि महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ र शंकर पोख्रेल रहेका छन् । चारै नेताहरु पार्टीभित्र ओली निकट मानिन्छन्। उनीहरु एमालेका रणनीतिकार भनेर समेत चिनिन्छन्।

सोमबार बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकले पार्टी एकता र सरकार गठन संगसंगै गर्नुपर्ने निश्कर्ष निकालेको छ। उता ओली भने तत्काल सरकार गठन हुनुपर्ने र पार्टी एकताका विषयमा विस्तारै छलफल चलाउने मानसिकतामा छन्।

एमाले महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि ओली नै बन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि माओवादीभित्र उनको भनाइले तरंग सिर्जना गरिदिएको थियो ।

अहिले ओली, आफु निकट नेता लिएर लाङटाङ पुग्नुले माओवादीसंग पार्टी एकता र सरकार निर्माणका विषयमा आफ्नो तर्फबाट रणनीति बनाउने तयारी हुनसक्ने अड्कलबाजी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *