करिश्मा मानन्धर माओवादी केन्द्रमा र रेखा थापा एमालेमा प्रवेश गर्ने

काठमाडौ २४ असोज- नयाँ शक्ति नेपालकी केन्द्रिय सदस्य समेत रहेकी चर्चित नायिका करिश्मा मानन्धर प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा प्रवेश गर्ने तरखरमा छिन् । उनले संभवत भोलि वा पर्सीभित्रै पार्टी प्रवेश गर्ने बुझिएको छ ।

त्यस्तै अर्की नायिका रेखा थापापनि अब नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् । यसको लागि उनले हालै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै आग्रह गरेकी हुन् । ओली निकट उच्च स्रोतले भन्यो,‘रेखाजीले हालै हाम्रो पार्टी अध्यक्षलाई भेटेर एमालेमा प्रवेश गर्नेबारे जानकारी गराउनुभएको हो, हेरौं अब एक दुई दिनभित्रै उहाँ हाम्रो पार्टीमा प्रवेश गर्नुहुन्छ होला।’

रेखाले राजनीतिक यात्रा तत्कालिन एकीकृत नेकपा माओवादीबाट सुरु गरेकी हुन् । त्यसपछि उनी कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेकी हुन् । थापाले राप्रपाको एकता महाधिवेशनमा केन्द्रिय सदस्य नै जितेकी हुन् । त्यसपछि उनको लोकप्रियता पनि ह्वात्तै बढेको हो । अहिले उनी राप्रपा प्रजातान्त्रिकमा मा छिन् ।

हुन त रेखाले एमालेमा जाने कि वा माओवादी केन्द्रमै फर्किने भनेर अहिले नै निर्णय गरिनसकेको दाबी गर्दै आएकी छिन् । स्रोतका अनुसार रेखाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालमार्फत पूनः माओवादी केन्द्रमै फर्किन दौडधुप समेत सुरु गरेकी छिन । करिश्माले भने माओवादी केन्द्रमै प्रवेश गरेर समानुपातिकमा बस्ने सोच बनाएकी छिन् ।

राप्रपाको केन्द्रीय सदस्य गायिका कोमल वली यसअघि नै एमालेमा प्रवेश गरिसकेकी छिन् । राप्रपाको निर्वा्चित केन्द्रीय सदस्य रहेकी कोमल एमाले उपाध्यक्ष वामदेव गौतमको हातबाट टीका लगाएर एमालेमा प्रवेश गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *