कालो मोसो दल्नेलाई कुनै कारबाही नगर्न निलम्बित लोकमानको आग्रह

पौष ८ काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीले आफूलाई अदालतभित्र कालोमोसो दल्ने दुई युवालाई रिहा गर्न आग्रह गरेका छन् ।

बिहीबार विप्लव माओवादीका दुई विद्यार्थीले सर्वोच्चमै कार्कीमाथि आक्रमण गरी कालोमोसो दलेका थिए । आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । तर, कार्कीले भने उनीहरु कसैको गोटी मात्र भएको र आफूलाई तोजोबध गराउने योजना कार्यान्वयनको कारिन्दा मात्र भएको बताएका छन् ।

पक्राउ परेकालाई ‘अवोध कारिन्दा’ भन्दै उनले भनेका छन्, ‘वास्तविक अपराधी पर्दा पछाडि भएको र केही महिनायता मेराविरुद्ध विभिन्न प्रकारले षड्यन्त्रमुलक योजना बनाउनेहरु कानुन र प्रहरीको नियन्त्रणमा आउने स्थिति तत्काल नदेखिएको हुँदा ती अवोध कारिन्दालाई कुनै कारबाही नगरी रिहा गरिदिन म सुरक्षा निकायलाई अनुरोध गर्छु, भनेर भनेका छन् ।

यता जिल्ला प्रशासन कार्यालयले काठमाडौले भने, लोकमान सिंह कार्कीलाई कालो मोसो दल्ने दुई युवालाई सात दिन थुनामा राख्न अनुमति दिएको छ ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ । अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थपका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराएको थियो ।

विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्रबहादुर बुढाले सर्बोच्च अदालतभित्रै लोकमानलाई आक्रमण गर्दै कालोमोसो दलिदिएका थिए । कालोमोसो दल्ने दाङका शाही र रुकुमका बुढा दुबैलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो । सार्वजनिक अपराधको अभियोग प्रमाणित भएमा एक वर्षसम्म कैद सजाय हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *