क्रिसमसको उपलक्ष्यमा प्रधानमन्त्रीको शुभकामना सन्देश

पौष १० काठमाडौ, इसाई धर्मावलम्बीहरुको बिशेष चाड क्रिसमसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिएका छन् ।प्रधानमन्त्रीले दिएको शुभकामना सन्देश यस्तो छ ।
इसाई धर्मावलम्बीहरुको महान् चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलूक हो । नेपालको जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको छ । विविधतायुक्त विशेषताले भरिपूर्ण मुलूकका सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको संरक्षण गर्नु र तिनीहरुको प्रवद्र्धन र विकासका लागि अभिभावकीय भूमिका निर्वाह गर्नु राज्यको दायित्व हो । यस अवसरमा सरकार सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको पहिचान, अपनत्व र अधिकारलाई स्थापित गर्दै सुदृढ राष्ट्रिय एकताका निम्ति क्रियाशील रहेको तथ्य स्मरण गर्न चाहन्छु ।

जनताको संघर्ष र बीरतापूर्ण बलिदानीबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौं । संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु, हिमाल, पहाड, तराई, सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु राष्ट्रिय आवश्यकता हो । यसका लागि सरकार सम्वाद र सहमतिका आधारमा उल्लेखित लक्ष्य हासिल गर्न क्रियाशील रहँदै आएको छ । यस अवसरमा सम्पूर्ण ख्रिश्चियन समुदायमा राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न हार्दिक अपील गर्दछु ।
हाम्रा चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्परामा मात्र सीमित छैनन् । बरु, राष्ट्रिय एकता, पारस्पारिक सद्भाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएका छन् । यस अवसरमा सम्पूर्ण ख्रिश्चियन समुदायमा संविधान कार्यान्वयन र समृद्धिको अभियानमा बलियो साथ र सहयोगको अपेक्षा गर्दै क्रिसमस पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *