खोटांगकी छोरी ममता कला,गला र सुन्दरता, नम्र स्वभाव र मिलनसारिता

mamata2दुध कोशीको किनारै किनार भएर झर्ने सगरमाथाको चिसो सिरेटो होस् या रुपाकोट,ट्याम्के र स्याल्मेको लेकलाई चुनौती दिदै रावा र सावाको तिरै तिर फाँटहरुमा झुल्ने धानका वालाहरु होस् । त्यहाँ संगीतको एक किसिमको धुनहरु बजिरहेको हुन्छ । चाहे माथिबाट तलतिर झर्ने दिप्लुंग झर्ना होस् या हेर्दै कहाली लाग्ने मपारुंग भिरहोस् । सुईया…… सुईया गर्दै चल्ने हावाका झोक्काहरूले संगीतको धुन सृजना गरिरहेको हुन्छ । नेपाली गीत-संगीतको क्षेत्रमा एउटा पर्यावाची नाम हो खोटांग । खोटांगे कलाकारहरुलाई नेपाली गीत-संगीतको क्षेत्रबाट अलग गराईदिने हो भने, एउटा ठुलै खाल्डो पर्छ । बच्चु कैलाश देखि राजेश पायल हुदै अहिलेका नयाँ पिढिका चर्चित कलाकारहरु धेरैलाई खोटांगले जन्माएको छ । यही कलाकारहरु मध्यको एउटा नाम हो ममता राई

खोटांग जिल्लाको वुईपामा जन्मिएकी हुन् गायिका तथा मोडेल ममता राई । बाबू धनकर्ण राई र आमा राधा राईको कान्छी छोरीको रुपमा जन्मिएकी ममता राईको तिन दिदीहरु र एक दाई एक भाई छन् । सबैको मायामा हुर्किएकी ममताले आफ्नो नाम जस्तै सबैको ममता पनि पाएकी छिन् । वुईपाकै छिप्तिमा रहेको स्कुलबाट औपचारीक शिक्षाको सुरुवात गरेकी ममता राईले सरस्वती मावि दिक्तेलबाट एसएलसी पास गरेकी हुन् ।

mamata rai

ममताको दाईले सधै गीत गाईरहनु हुन्थ्यो । दाईले गाएको गीत सुनेर प्रभावित बनेकी ममताले ६ बर्षकै उमेरमा गीतहरु गुनगुनाउन थालेकी थिईन् । स्कुलमा हुने हरेक सांस्कृतीक सांगीतिक कार्यक्रममा उनले गीत गाउने गर्थिन् । एक पटक स्कुलको सांगीतिक सांस्कृतीक कार्यक्रममा “आधि बाटो हिडेपछि, तिमी संग भेट भयो” भन्ने गीत गाएर प्रथम भएपछी उनमा गीत गाउने हौशला बढ्यो । यसरी सधै गीत गुनगुनाई रहने ममताले कक्षा ६ मा पढ्दै गर्दा अरुणा लामाको “सोचे जस्तो हुन्न जीवन” गाएपछि सबैले सोचे जस्तो हुन्न जीवन भन्दै जिस्काएको स्मरण गर्छिन ममता राई ।

वाल्यकालमा घाँस दाउरा, मेला-पात गर्दै समय बिताएकी ममता राई धान रोप्न होस् या कोदो गोड्न , जातो पिस्न होस् या ढिकी कुट्न, आजपनि मज्जाले गर्न सक्छिन् । सानै उमेरमा एक पटक,अरुको बारीमा घाँस काट्न जादा बारीको धनीले देखेपछि भाग्ने क्रममा खरको बुट्टा समात्दा खरको बुट्टानै उखालिएर पुल्ढुङ्ग पुल्ढुङ्ग लड्दै तल खोला नजिकै झरेको दिनलाई कहिल्यै भुल्दिनन् ।

दिक्तेलबाट एसएलसी गरेपश्चात संगीत सिक्नकै लागी काठमाडौ आईन् ममता राई । काठमाडौ आएर श्री संगीत पाठशालामा चण्डिप्रसाद काफ्ले संग संगीत सिक्न थालिन् । चण्डीप्रसाद काफ्ले संग लगातार ४ बर्ष संगीत सिकेकी छिन् ममताले । ” म त मायामा हारेको मान्छे” बोलको गीत उनको पहिलो रेकर्ड भएको गीत हो । यो गीतलाई शंकर अधिकारी घायलले शब्द रचना गरेका छन् भने संतोष प्रगाढले संगीत गरेका हुन् । दुई दर्जन भन्दा बढि गीतहरु रेकर्ड गरिसकेकी ममता राईको ‘टुनामुना” “मेरो जीवनको ज्योति” “तिम्रो मायाले धेरै रुवायो” जस्ता गीतहरु चर्चामा छन् ।

संगीत सिकाईको सुरुवाती दिनहरुमा बानेश्वर बाट बाग बजार सम्म पैदलै हिडेर जाने आउने गर्थिन् । भर्खरै काठमाडौ आएकोले सबै बाटो थाहा थिएन, त्यसैले बानेश्वरबाट माईतिघर शहिद गेट रत्नपार्क हुदै बाग बजार जाने आउने गरेको सम्झिएर मज्जाले हास्छिन् ममता राई । mamata rai singer

हरेक दिन बिहान १ घण्टा र बेलुकी १ घण्टा संगीतको रियाज गर्ने गरेकी छिन् ममताले । गीत गाएर सबै जना बाँची रहेकै छन् त्यसैले हामी पनि बाच्न सकिन्छ होला भन्ने आशा गर्छिन् ममता ।

ममता गीति एल्बम बजारमा ल्याई सकेकी ममता राई नेपालको अधिकांश ठाउँहरु सांगीतिक कार्यक्रमको लागी पुगीसकेकी छिन् । पहिलो गीति एल्बम ‘ममता”बजारमा ल्याएकी ममता राईले आफ्नो दोस्रो एल्बम “ममता २” बजारमा ल्याउने अन्तिम तयारीमा रहेकी छिन् । यो एल्बममा ६ वटा गीतहरु रहने छन् । एल्बममा रहेको “शिरैमा फूल मेरो” बोलको गीतलाई शब्द रचना र संगीत शिव संगम राईले गरेका छन् भने एरेन्ज गोपाल रसाईलीले गरेका छन् । एल्बममै रहेको दोस्रो गीत भूपाल राईको शब्द रचनालाई शिव संगम राईले नै संगीत गरेका छन् भने सुन्दर लामाले एरेन्ज गरेका छन् । अर्को गीत ” फूलै राखी हातैमा, विन्ती बिसाउकी” बोलको गीतलाई पनि शिव संगम राईले नै संगीत गरेका छन् भने, लाहाङ्ग सुबाको एरेम्ज रहेको छ । यो गीतमा राजेश पायल राईले ममता राईलाई स्वरमा साथ् दिएका छन् । एल्बममा रहेको अर्को गीत “लेकमै फूल्ने तोरी बारी, बेसी गैह्री खेत” बोलको रहेको ईन्द्र जिजीविषाको शब्द रचनालाई खगेन्द्र याक्सोले संगीत गरेका छन् भने चन्दु गोर्खालीले एरेन्ज गरेका छन् । यस्तै एल्बममा रहेको पाँचौ गीत “हाकु पटासीमा हाँसुकी” बोलको गीतलाई ध्रुव सत्यले शब्द रचना गरेका हुन् भने बीबी अनुरागीले संगीत गरेका छन् । एल्बममा रहेको अन्तिम अथवा छैटौ गीत “तिमी मेरो हर विहानी हौ” बोलको गीतलाई रुद्र कुमार राईले लेखेका हुन् भने उत्तम जंग लिम्बुले संगीत गरेका छन् ।

ममता राई गायिका मात्रै हैनन्, उनि नायिका पनि हुन् । “मेरो जीवनको ज्योति ” बोलको गीतमा अभिनय गरेर ममताले नायिकामा डेब्यु गरेकी हुन् । यसको अलावा अन्य केही गीतहरुमा पनि अभिनय गरिसकेकी छिन् ममताले । यस्तै “शिरै फूल मेरो” ममता राईको गीतमा मोडेल पार्वती राई र बिचना राईले अभिनय गरेका छन् ।

बिचको समयमा व्यापारहरू पनि गरेकी ममताले हरेक मानिसहरुको भोगाई आ-आफ्नै हुने भएकोले जिन्दगीको परिभाषा दिन गाह्रो ठान्छिन् । “एकपटक साथि संग ज्ञानेश्वर हुदै मैतीदेवी जादै गर्दा पेट्रोल सकिएपछि पेट्रोल पम्पमा पेट्रोल भरि सकेर साथि पछाडी चढि सकिन् होला भनेर स्कुटि स्टार्ट गरेर हिडे, अनि बाटोमा साथिलाई यस्तो उस्तो भन्दै कुरा गर्दा साथी नबोलेपछि पछाडि हेर्दा त साथी त थिएन अनि साथीलाई लिन फर्किदा साथि त त्यहि अघिको पेट्रोल पम्पमै मुसुमुसु हास्दै बसी रहेकी थिईन् । त्यो घटनाले आजपनि निक्कै हासो लाग्ने बताउछिन् ममता” । भविष्यमा गीत-संगीत र व्यापार गर्ने सोच राखेकी ममता नम्र स्वभाव र मिलनसार छिन् ।

प्रस्तुति : ईन्द्र जिजीबिषा 

ममता राईको केही गीतहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *