खोटाङमा तिज महोत्सव सम्पन्न

चिसाङ शेर्पा/भदौ ९ खोटाङ – ‘हाम्रो देश हाम्रो शान, हाम्रो संस्कृति हाम्रो पहिचान’ भन्ने नारासहित बहुआयमिक संरक्षण समाज रुपाकोट मझुवागढी नगरपालिका –१, दिक्तेलले आयोजना गरेको तिज महोत्सव समापन भएकोे छ । लोपोन्मुख बनेको बालन नाच प्रदर्शन, संगीनि नाच र तिज सम्बन्धी लोकदोहोरी प्रतियोगीता गर्दै खोटाङको सदरमुकाम दिक्तेलस्थित हेलीप्याडमा तिज महोत्सव गरिएको हो । लोप हुन लागेको संस्कार, संस्कृति संरक्षणका लागि हरितालिका तिजको दिन पारेर तिज महोत्सव गरिएको हो ।

समाजका अध्यक्ष अनिल आचार्यका अनुसार, ‘आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमको आयोजना गरेर संंस्कृति जर्गेना नगर्ने हो भने, संस्कृति खतरामा पर्न सक्छ ।’

संगीनी नाच र लोकदोहोरी गीत प्रतियोगीताका प्रथम, दोश्रो, तेश्रो र शान्त्वनालाई क्रमशः १० हजार, ६ हजार ३ हजार र १ हजार नगदका साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी तिज मनाउने गर्छन । पुर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेव मन्दिर, मझुवागढीको कालीका भगवती मन्दिरमा आज विहानैदेखि पूजाआजामा महिलाहरुको भिड रहेको थियो । यस्तै,बराहापोखरी महादेव मन्दिरलगायतका शिव मन्दिरहरुका बाक्लो भीड लागेको थियो ।।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको किंवदन्ती अनुसार हिन्दु नारीहरुले व्रत वसेर महादेवको पूजा आरधना गरेर मनाएका छन् । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गर्दछन् ।

भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जनगरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो । पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्तासमेत थपिएको छ । तीजका नाममा पछिल्ला समयमा बढिरहेको विकृतिलाई अन्त्य नगर्ने हो भने भावी पुस्ताले तीज पर्वको वास्तविक महत्व र गरिमाका सम्बन्धमा जानकारीसमेत नपाउन सक्ने अवस्था सिर्जना हुने आशङ्का हुन थालेको छ ।

तीजका नाममा एक महिनादेखि तडकभडक देखाउने, अनावश्यक खर्च गर्ने प्रवृत्तिले यो विकृतिमय बन्दै गएको छ, मौलिक गीत हराउँदै उत्ताउला गीत गाउन थालिएको छ । प्रचलित जनविश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले आफ्ना पति भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकामा उक्त दिन यही हरितालिका तीजको दिन रहेको थियो ।

तीजको ब्रतबसी महिलाहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । आजको दिन महिला बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर जल, अन्न ग्रहण नगरी ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *