खोटाङ्ग जिल्लाकै पहिलो भेनियर उद्योग सञ्चालनमा

खोटाङ, २८ मंसिर- खोटाङ्ग जिल्लामै पहिलो पटक स्थापना गरिएको हलेसी भेनियर उद्योग बिहिबारबाट सञ्चालनमा आएको छ । रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा ६ जना उद्यमीको करिब एक करोड लगानीमा प्लाईउडका कच्चा पदार्थ उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याइएको हो ।

उद्योग प्रतिनिधिसभाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र प्रदेशसभाका सदस्य रामकुमार राई (पासाङ)ले बिहिबार संयुक्तरुपमा उद्घाटन गरेका छन् । रवीन सुनुवार, राजेन्द्र राई, सम्बर भुजेल, अनिल जोशी, खगेन्द्र राई र मनोज राईको संयुक्त लगानीमा दुई-तीन वर्षको अभ्यासपछि हालसम्मकै ठूलो लगानीमा उद्योग स्थापना भएको हो ।

जिल्लामा भएका श्रोतसाधनलाई परिचालन गर्दै उद्यमशिलताको विकासका लागि प्लाईउडको कच्चा पदार्थ उत्पादन गर्ने उद्योग सुरु गरिएको सञ्चालक राजेन्द्र राईले बताए । सुनसरी, मोरङ, झापा, बनेपा, नेपालगञ्ज लगायतका ठाउँमा निर्यात गर्नेगरी प्लाईउडको कच्चा पदार्थ उत्पादन सुरु गरिएको बताइएको छ ।

जिल्लामा प्रशस्त मात्रामा उत्तिस र मलातो भएकाले प्लाईउड बनाउने कच्चा पदार्थ उत्पादक उद्योग सुरु गरिएको बताइएको छ । उद्योग स्थापनासँगै निजी जग्गाको उत्तिस र मलातोले मुल्य पाउने वातावरण बनेको छ ।

उद्योग स्थापनासँगै जिल्लाका वेरोजगार युवाहरुले गाउँमै रोजगारी पाएका छन् । उद्योगमा पश्चिम बङ्गालका २१ जना कामदार ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *