गीतकार सङ्घको छैटौँ साधारणसभा सम्पन्न

माघ १ काठमाडौ,गीतकार संघ नेपालको छैटौ साधारण सभा तथा तेस्रो अधिबेशनबाट चुडामणि देवकोटाको अध्यक्षतामा ११ सदस्यीय नयॉं कार्य समितीको चयन गरेको छ । नयॉं कार्य समितीले समाजमा शान्तिपूर्ण सहअस्तित्व कायम गरी समाजलाई पथप्रदर्शन गर्ने गीत सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।गीतकार सङ्घको छैटौँ साधारणसभामा सहभागी वक्ताले विभिन्न जाति समुदायमा विभक्त नेपाली समाजमा सामाजिक एकताको खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेलले मुलुकमा सामाजिक रुपान्तरणका लागि कला, साहित्य तथा गीत–सङ्गीत सशक्त माध्यम भएको विचार व्यक्त गर्नुभयो । उहाँले सर्जकले सिर्जना गर्ने गीत तथा सङ्गीतको रोयल्टी वितरण प्रणालीलाई पारदर्शी बनाउन पनि आग्रह गर्नुभयो ।

सङ्गीतकार समाजका अध्यक्ष सुरेश अधिकारीले नेपाली समाजको अवस्था तथा स्रोतको मनोभावनालाई बुझेर राम्रो र उत्कृष्ट गीत तथा सङ्गीतको सिर्जना गर्न सकिएमा राष्ट्र एकताबद्ध हुनसक्ने बताउनुभयो । गीतकार मिलन मोक्तान, तुलसी पराजुली, लक्ष्मण श्रेष्ठलगायतले सो क्षेत्रलाई व्यवस्थित गर्ने निकाय संवेदनशील नहुँदा स्रष्टाको सिर्जनाको चोरी बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहालले मुलुकभर रहेका गीतकारलाई एकताबद्ध गरी उनीहरुका हक, हित तथा अधिकारलाई संरक्षण गर्न संस्था क्रियाशील रहेको बताउनुभयो । सो संस्थाको साधारणसभाले नयाँ नेतृत्वसमेत छनोट गरेको छ । नयाँ कार्यसमितिको पदाधिकारीहरुमा उपाध्यक्षमा भरत तामाङ बमजन,महासचिव शुभ मुकारुङ,सचिव बसन्त बित्यासी थापा,कोषाध्यक्ष शुशिला पौडेल र सदस्यहरुमा धरारानी ,दिलेन्द्र मुकारुङ,गोविन्द गिरी ,चन्द्रा चाम्लिङ ,बालक गुरुङ ,अमृत सुनार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *