चुनाव चिन्हको विवाद संगै राप्रपामा विभाजनको संकेत

फागुन २१ काठमाडौ,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा गाई चुनाव चिन्ह राख्ने निर्णय भएसँगै तीब्र विवाद देखिएको छ । राप्रपाको शुक्रबार बसेको केन्द्रीय समिति बैठकबाट अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह गाई राख्ने निर्णय गराएसँगै वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर राणा, बुद्धिमान तामाङलगायतले चुनाव चिन्हप्रति असन्तुष्टि जनाएका छन् ।

लोहनीले शुक्रबार राती सामाजिक सञ्जालमार्फत पार्टीले चुनाव चिन्ह हलो छाडेकोमा आफ्नो असन्तुष्टि रहेको बताएका छन् भने हलोप्रति आस्था राख्ने नेता कार्यकर्तालाई धैर्य गर्न समेत आग्रह गरेका छन् ।

लोहनीले केन्द्रीय समितिको बैठकमा कुनै पनि हालतमा चुनाव चिन्ह हलो राखिनुपर्ने धारणा राखेका थिए भने महाधिवेशन उद्घाटन सत्रमा पनि ‘हलोले भलो गर्ने’ विचार राखेका थिए ।

लोहनीले सार्वजनिक रुपमै हलोमा आस्था राख्नेहरुलाई धैर्य गर्न अनुरोध गरेका छन् । यस संगै, अब उनी कसरी अघि बढ्लान् भन्ने चासो उत्पन्न भएको छ ।

२०४८ सालमा एकैसाथ दुई पार्टी खुल्दा लोकेन्द्र बहादुर चन्द नेतृत्वको राप्रपाको चुनाव चिन्ह हलो थियो भने सूर्यबहादुर थापा नेतृत्वको राप्रपाको चुनाव चिन्ह गाई थियो । चुनाव चिन्हको विवादकै कारण पार्टी एकता भएको तीन महिना बित्न नपाउँदै राप्रपामा विभाजनको संकेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *