छातीमा हात राखेर भन्दा हामी बिग्रेका छौं : प्रचण्ड

१९ कात्तिक, विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एकता र माओवादी बिग्रेकाहरुको एकता पनि भएको टिप्पणी गरेका छन् ।

विराटनगरमा नेपाल कम्युनिस्ट पार्टीले गरेको कार्यक्रममा उनले कार्यशैली बिग्रेको, आचरण बिग्रेकाहरुको पनि एकता भएको भन्दै अब सुधार जरुरी रहेको बताए ।

‘छातीमा हात राखेर भन्दा हामी सबै बिग्रेका छौं, यो बिग्रेकाहरुको पनि एकता हो, सप्रेकाहरुको मात्र एकता होइन’ उनले भने ‘कार्यशैली बिग्रेको, आचरण बिग्रेको, जनता र राष्ट्रका लागि जस्तोसुकै समर्पण गर्ने घरबार छाड्ने हामी अहिले विस्तारै विस्तारै सबै चिज मेरो लागि, अरुले मेरो लागि काम गर्नुपर्छ भन्ने प्रवृत्ति बनेको छ ।’

प्रचण्डले पार्टी एकतासँगै कार्यशैली, आचरण र व्यवहारमा पनि सुधार गर्दै जानुपर्ने बताए । ‘समाजवाद निर्माणका लागि नयाँ धाराको पार्टी चाहिएको छ, जनताको मन जितेर हामीले समाजवादको नयाँ मोडल बनाउन सक्छौं । रसियन र चाइनिज मोडलको नक्कल गरेर हुँदैन ।’

आचरण र कार्यशैली सुधार गर्न सकेमा पार्टी महान् हुने पनि प्रचण्डले बताए । ‘यसो गर्न सकियो भने पार्टी महान् हुनेवाला छ ।’

‘युगले अहिलेको सरकारलाई ऐतिहासिक जिम्मेवारी पूरा अवसर दिएको छ, त्यो अवसर पूरा गर्न अहिलेको सरकार सक्षम छ’ उनले भने ‘हामी त्यो अभिभारा पूरा गर्न सक्छौं, दुनियाँलाई नेपाल सुन्दर, सभ्य र समृद्ध नेपाल बनाएर एउटा नयाँ सन्देश दुनिययाँलाई यो सरकारले दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *