जनता बैंकका सीईओ दिनभरि कार्यकक्षमै कर्मचारीको घेरामा परे

काठमाडौ ९ जेठ- जनता बैंक नेपालका प्रमुख कार्यकारी निर्देशक कुमार लम्साल मंगलबार बिहानै देखि आफ्नै कार्यकक्षमा बन्दी झैँ भए । त्यहाँको कर्मचारी संघले आफ्नो माग पुरा गराउने अन्तिम उपाय स्वरूप सीईओको कार्यालय घेराउ गर्दा दिनभर नै जनता बैंकको केन्द्रीय कार्यालय तनावग्रस्त रहयो । त्रिवेणी विकास बैंकसंग मर्जपछि कर्मचारी व्यबस्थापन गर्न नसक्दा बैंकमा समस्या आएको हो ।

आर्थिकन्यूजको सम्बाददाता त्यहाँ पुग्दा कर्मचारीहरु नारा लगाईरहेका थिए – हाम्रो माग पुरा गर ! कर्मचारी युनीयन अध्यक्ष नारायण श्रेष्ठले माग बारे व्याख्या गरे – सिद्धार्थ डेभलपमेण्ट बैंक (JBNL) संग हुन लागेको मर्जरमा अनियमितता भएको छ । पद मिलान ठिक ढंगले भएको छैन । यो प्रक्रियामा कर्मचारी र शेयरधनिलाई अध्यारोमा राखिएको छ ।

यस्तो के भएको ? प्रश्नको जवाफमा सीइओ लम्साल केहि बोल्न मानेनन् । उनले यतिमात्र भने, “ यो हाम्रो आन्तरिक कुरा हो । हामि मिलेर सुल्झाउछौ ।” कर्मचारीको असन्तुष्टि सम्बोधन गर्ने भन्दा टालटुल गरेर विषयान्तर गर्ने उनको सोच स्पष्ट देखिन्थ्यो । त्यसो त पुरै कर्मचारी आन्दोलित भएर कार्यकक्ष घेरिरहंदा लम्साल काजु चपाउन मै मस्त थिए। उनले भने,“ हिजोसम्म सबैकुरा मिलेको थियो आज एक्कासी के भयो थाहा छैन ।” बजारमा यसअघि नै लम्सालले राजिनामा दिइसकेको हल्ला ब्याप्त थियो । कार्यकारी प्रमुखमा देखिएको गम्भीरताको अभाब नै समस्याको जड रहेको आन्दोलनकारी पनि बताउंदै थिए ।

‘हामीले धेरै अगाडी देखि जायज माग पेश गर्यौं तर सुनुवाही भएन’, कर्मचारी नेता रेवज रायमाझी आक्रोश पोख्दै थिए । उनी युनियन उपाध्यक्ष समेत हुन् । कर्मचारीहरु आफ्नो माग पुरा नभएसम्म काममा नफर्कने र हातमा कालोपट्टी बाँधेर दबाब सिर्जना गरिरहने योजनामा छन् ।

के त्यसोभए जनताका कर्मचारीको आन्दोलनका कारण सिदार्थ डेभलपमेन्ट बैंक संगको मर्जर समस्यामा पर्दैछ त ? यसले मर्जरमा कुनै समस्या नपार्ने सिद्धार्थका सीइओ अजय मिश्रले बताए । उनले भने, ‘ यहि जेठ १२ गते हामी बिशेष साधारणसभा मार्फत जनता बैंकसंग मर्जरमा जाने औपचारिक निर्णय गर्दैछौ । जनताका कर्मचारीको आन्दोलनले यो प्रक्रियामा कुनै समस्या पार्दैन । न त हाम्रो निर्णयमा नै कुनै असर गर्छ ।’ तर, बैंकमा कार्यरत कर्मचारीहरुभने आफ्नो माग पूरा नभएसम्म बैंकको धर्ना नछोड्ने बताउछन् । अन्दोलनरत कर्मचारीकाअनुसार बैंकको संचालक समिति बैठक राखेर भए पनि आफ्नो माग पूरा हुनुपर्ने बताउदै आएका छन् ।

यता जनता बैंकको ब्यबस्थापन पक्ष चाहीं कर्मचारीलाई आफ्नै टिमका केही व्यक्तिले उचालेर आन्दोलनमा उतारेको भन्दै भ्रम सिर्जना गर्न लागेको पनि कर्मचारीहरु आरोप लगाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *