जिम्बाबेमा सेनाले सत्ता कब्जा गर्यो

जिम्बाबे ३० कात्तिक – अफ्रिकी मुलुक जिम्बाबेमा सेनाले सत्ताकब्जा गरेको छ । देशको सत्तारूढ दलले रक्तपात नभइकनै सत्ता परिवर्तनपछि राष्ट्रपति रोबर्ट मुगाबेलाई हिरासतमा लिइएको दाबी गरेको छ । सेनाले मुगाबे सुरक्षित रहेको बताएको छ ।

यसअघि सेनाद्वारा सरकारी सञ्चारमाध्यम जेडबीसीको मुख्य कार्यालय कब्जा गरेको खबर आएको थियो । राजधानी हरारेका केही ठाउँमा बम विस्फोट र बेस्सरी गोली चलेको आवाज सुनिएको छ । विस्फोटको कारण प्रस्ट हुन सकेको छैन ।

जिम्बाबेका ९३ वर्षीय राष्ट्रपति मुगाबेले घटनाक्रममा कुनै प्रतिक्रिया दिएका छैनन् । मुगाबेले अघिल्लो साता उत्तराधिकारका विषयमा कलह हुँदा उपराष्ट्रपतिलाई बर्खास्त गरेका थिए । तर सैन्य जर्नेल कन्स्ट्यान्टिनो चिवेंगाले उपराष्ट्रपतिलाई बर्खास्त गरेकोमा मुगाबेलाई चुनौती दिएका थिए । जिम्बाबेमा राजनीतिक संकट गहिरिँदै जानुमा उत्तराधिकारसँग जोडिएको कलह नै कारण हो । सन् १९७० को दशकदेखि देशको स्वतन्त्रता लडाईंका चिरपरिचित अनुहारका रूपमा हेरिएका उपराष्ट्रपतिलाई मुगाबेले हटाएपछि विवाद जन्मेको थियो ।

मुगाबे अहिले संसारका सबभन्दा वृद्ध राष्ट्रपति हुन् । जिम्बाबेको पहिलो सरकारमा उनले पार्टी प्रमुख र प्रधानमन्त्रीको जिम्मेवारी लिएका थिए । धेरै वृद्ध भइसकेका मुगाबेको स्वास्थ्य पनि खराब छ । उनीपछि सत्तामा को बस्ने भन्ने विषयमा विवाद छ । उनी कुनै हालतमा सत्ता त्याग्न चाहँदैनन् र अहिले उनले श्रीमतीलाई आफ्नो उत्तराधिकारी बनाउन चाहेका छन् । बिबिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *