जेबी दर्लामीको उपन्यास “यात्री” विमोचित (भिडियो सहित)

काठमाडौं, ८ पुस – उपन्यासकार जेवी दर्लामीद्वारा लिखित ‘यात्री’ शनिबार एक समारोहका बिच विमोचन भएको छ । काठमाडौको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित कार्यक्रममा कवि श्यामल, पत्रकार बसन्त बस्नेत, निबन्धकार कुमारी लामा र समिक्षक रूपक अलङ्कारले संयुक्तरूपमा विमोचित गरेका हुन् ।

पुस्तकमाथि बोल्दै कवि श्यामलले भने ‘नेपाली साहित्यले गम्भिर विषयमा घोत्लिने उपन्यासकार पाएको छ । किताबको प्रवाहमयता लोभलाग्दो छ र विषय पनि नौलो खालको छ । यहाँदेखि त्यहाँ मंगोलियसम्मको जुन भौगोलिक यात्रा गर्नुभएको छ, त्यसमा गरेको ‘डकुमेन्टसन’ र ‘काल्पनिकी’ सजिव छ,’ ।

आम किताबभन्दा फरक स्वाद लिएर आएको कुरामा जोड दिँदै उनले थपे, ‘यो किताब उद्देश्यको खोजीमा होइन, गन्तव्यको खोजीमा हिँडेको रुमानी सभ्यताको चित्रण छ । मूल, पहिचान, रुटको आदिकालदेखि हालसम्मको व्याख्या गरिएको गैह्रआख्यान कृतिजस्तो लाग्छ । यसले मंगोलजाति र प्रकृतिबीचको कति गहिरो सम्बन्ध भन्ने देखाएको छ । स्थानान्तर हुँदै गर्दा परिवर्तन हुने संस्कृति र नामको व्याख्या छ ।’

पुस्तकमाथि बोल्दै पत्रकार वसन्त बस्नेतले भने, ‘उपन्यासले एउटा आध्यात्मिक यात्राको परिकल्पना गरेको छ । यसको आकर्षक पक्ष भनेको यात्रीहरू छुट्दै जान्छन् । यसमा ‘पहिचानको राजनीतिलाई परस्पर सह-अस्तित्वको दावीसँग जोडिएको छ । पृथक जातीय राज्यको परिकल्पना विरुद्ध बगेको किताबले त्यसको वैठानको बीचको मध्यविन्दु खोजेको छ ।’ उनले थपे , ‘किताबले भन्छ – प्रेम त सबैलाई गर्नुपर्छ, आफ्नै नश्ललाई मात्र किन ? बरु यसो भनौ न हामी भन्दा भिन्न रूपरङ्गका मानिस अनि तिनका परम्परा र संस्कृतिलाई बुझ्ने मौका पाइन्छ ।’

पुस्तकमाथि बोल्दै कुमारी लामाले भनिन्, ‘यस किताबमा बाह्य मात्र होइन, आन्तरिक मनोवैज्ञानिक यात्रा छ । किताबमा विभिन्न ठाउँमा दार्शनिक बहस छ । एउटा ग्रन्थको कथाका माध्यमबाट अहिलेको समयलाई हेर्न सकिन्छ । यो इस्यु वेस्ड पुस्तक नभए पनि यसले माइग्रेसको कुरा उठाउँछ जहाँ तिब्बतीहरूको पीडाको चित्रण छ । यो किताब आइडेन्टिटी क्राइसिसमा परेका विस्थापितहरूको पीडाको खोजी हो । जातीय द्वन्द्वको हिसाबले समुदायको संस्कृति नै खोतालिएको छ ।’

पुस्तकमाथि बोल्दै रूपक अलङ्कारले भने, ‘मलाई यो उपन्यासको विषयले सबैभन्दा बढी छोएको हो । यस उपन्यासभित्रको यात्री प्राचीन वंश खोज्दै हिँडेको छ । आज यात्री यात्रा गर्दै कष्टपूर्णरूपमा मंगोलिया पुगेको छ । मान्छेले कृषिकर्म पनि गर्न नथाली उनका पूर्खा या कविलाको कथा वर्णन छ, जुन कठिन यात्राकै रूपमा आएको छ । यसमा समाज विकासको चरणमा देखा परेको आर्य सभ्यता र मंगोल सभ्यताको कथा छ ।’

विमोचन कार्यक्रममा वक्ताहरुको पूर्ण पाठ भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *