टोपबहादुर रायमाझीको दाबी : ‘हेर्दै जानुहोस्, केन्द्रिय संसदको निर्वाचनसम्म माओवादी केन्द्र ‘टप’ हुन्छ’

काठमाडौं ६ जेठ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोले अब दोस्रो चरणको निर्वाचन जेठ ३१ गते नै हुने बताए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रायमाझीले पहिलो चरणको निर्वाचनमा जनताले आफ्नो पार्टीलाई अहिलेको भन्दा निकै राम्रो भोट दिने आफूहरुले आशा लिएको भएपनि आशा गरेजस्तो मत नआएको स्पष्ट पारे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘हामीले त धेरै ठूलो आशा गरेका थियौं, हुन त हामीले ०७० को निर्वाचन भन्दा राम्रो मत पाएका छौं र हामीले यो भन्दा धेरै नै आशा गरेका थियौं, एउटा कुरा के प्रष्ट भयो भने अझैपनि जनतामा ठूलो भ्रम रहेछ।’

यद्धपी उनले आफ्नो पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुधार गर्ने, प्रदेशको चुनावमा धेरै राम्रो गर्न र केन्द्रिय संसदको चुनावमा टप हुने दाबी गरे । उनले दाबी गर्दै भने,‘माओवादी पहिलो पार्टी हुन्छ, तर केन्द्रिय संसदको चुनावसम्म धैर्य गर्नुहोस्, टोपबहादुरले बोलेको कुरा अहिलेसम्म फेल खाएको छैन, म जे बोल्छु त्यो पूरा हुन्छ।’

उनले माओवादी पार्टी एक भएको भए कसैलेपनि पहिलो पार्टी बन्ने सपना नदेखे हुन्थ्यो भन्दै पार्टी विभाजनको बावजुदपनि तेस्रो स्थानमा आउनु खुशीको कुरा भएको बताए । उनले थपे,‘भन्नको लागि त यहाँ माओवादी अब पाँचौ वा छैटौंमा पुग्छ पनि भनियो, तर हामीले त्यसलाई विश्वास गरेका थिएनौं, किनकी माओवादी त्यसै हराएर जाने पार्टी होईन, यो आन्दोलन हो नि।’

उनले पहिलो चरणको निर्वाचन सफल रुपमा सम्पन्न भएसँगै संविधान कार्यान्वयन अघि बढेको र प्रतिक्रान्तिको खतरा टरेको समेत स्पष्ट पारे । उनले आफूहरु जनतामा अब झांग्गिदै जाने भएकोलेपनि अब हुने चुनावहरुमा राम्रो नतिजा ल्याउने दाबी प्रस्तुत गरे । उनले माओवादी केन्द्रको नेतृत्वको सरकारले धेरै राम्रा राम्रा काम गरेपनि जनतामा यसलाई पुर्याउन नसक्नुपनि एउटा कमजोरी भएको स्विकार गरे । उनले थपे,‘माओवादीले आज लोडसेडिङ् हटायो, उज्यालो नेपाल बनाएको छ, माओवादीले नै हो नेपालमा सबैभन्दा बढि राजश्व उठाएको, अहिले नेपालको ईतिहाँसमा कहिल्यै नभएको आर्थिक वृद्धि भएको छ, चीनसँगको ओबोरमा हस्ताक्षर भएको छ, भारत र चीनसँगको सम्बन्ध सुमुधर भएको छ, माओवादीले धैरै विकास गरेको, फाष्ट ट्रयाक नेपाली सेनालाई बनाउने जिम्मा दिईएको छ।’

नेता रायमाझीले दोस्रो चरणको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे । उनले थपे,‘अब निर्वाचन रोकिँदैन, अन्तिमसम्मपनि हामी मोर्चाका माँगहरु पूरा गराउन प्रयत्न गर्छौं, अहिलेपनि गरिरहेका छौं, यो कुरा उहाँहरुलाई पनि थाहा छ।’ उनले मुलुकको समस्या समाधानको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि जिम्मेवार बन्नुपर्ने बताए। रायमाझीले संविधान संशोधन प्रस्ताव पारित गर्नको लागि सरकार प्रयत्नरत भएपनि यसकोलागि दुई तिहाई चाहिने भएकोले एमालेले यसमा सहयोग गर्नुपर्ने अनिवार्य आवश्यकत्ता रहेको बताए । यद्धपी उनले संशोधन पारित नभए एमालेको कारण पारित नहुने समेत टिप्पणी गरे ।

उनले यदि संशोधन प्रस्ताव पारित नभएपनि मोर्चा चुनावमा आउनुपर्ने बताए । उनले भने,‘संशोधन प्रस्ताव पारित भएन भनेपनि मोर्चाका साथीहरु चुनावमा जानुपर्छ, बरु यही कारण लिएर निर्वाचनमा जाँदा उहाँहरुलाईपनि राम्रो हुन्छ।’

फरक प्रंसगमा उनले आफ्नो पार्टी र कांगे्रसवीच भएको भद्र सहमति कार्यान्वयन हुने विश्वास दिलाए । उनले भने,‘माओवादीले बोलेको कुरा पुर्याउँछ, हामीले कांगे्रेससँग गरेको प्रतिबद्धता पूरा गराउँछौं, समयभित्रै हामी सरकार छोडेर मार्गप्रशस्त गर्छौं ।’ उनले कांग्रेससँग भएको सहमतिबाट आफूहरु एक ईन्चपनि तलमाथि नहुने प्रकाश पारे ।

रायमाझीले प्रधानमन्त्री प्रचण्डले सत्ता हस्तान्तरण गर्नेमा कुनै शंका नगर्न समेत आग्रह गरे । उनले भने,‘दश दिन कुर्नुहोस्, सबै देख्नुहुन्छ, दोस्रो चरणको निर्वाचन कांगे्रेस सभापति शेरबहादुरजीले गर्नुहुन्छ।’ त्यस्तै उनले निर्वाचनभन्दा अघि बजेट मिति परेकोले अहिले कामचलाउ बजेट आउने स्पष्ट पारे ।

त्यस्तै उनले टिकापुर घट्नाको मुद्दा फिर्ता हुँदैछ अरे नि भनेर पत्रकारले सोधेको प्रश्नमा त्यसको बारेमा अहिले प्रक्रियागत रुपमा काम अघि बढिरहेको स्पष्ट पारे ।

स्थानीय तहको संख्या वृद्धि भएमात्रैपनि हामी चुनावमा जान्छौं : यादव
राष्ट्रिय जनता पार्टीका शीर्ष नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव पारित नभएपनि आफूहरु चुनावमा भाग लिने स्पष्ट पारे । यद्धपी उनले चुनावमा जानुभन्दा पहिले सरकारले स्थानीय तहको संख्या भने वृद्धि गर्नुपर्ने बताए ।

उनले मोचाले चुनाव विथोल्न खोजेर आरोप लगाईएको भन्दै आफूहरुले अघि सारेका माँग पूरा भए निर्वाचनमा सहभागी हुने स्पष्ट पारे । उनले मोर्चालाई अहिले घेराबन्दीमा पारिएको समेत गुनासो पोखे । उनले सरकारले आफ्नो तर्फबाट हुने कामहरु चाँडै गर्नुपर्ने समेत बताए ।

नेता यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जुँगाको लडाई गरिरहेको र मुलुकलाई बन्धक बनाएको समेत आरोप लगाए । उनले भने,‘एमालेले जिम्मेवार बहन गरेको छैन, अहिले स्थानीय तहको संख्या बढाउन नदिनेरित एमालेले लागिरहेको छ, यो उसको निषेधको राजनीति हो, तर एमालेलाई समयले जवाफ दिन्छ, दिन्छ, दिन्छ।’ उनले एमालेले स्थानीय तहको संख्या बढाए निर्वाचन हुन नदिने भनेर धम्की दिईरहेको समेत आरोप लगाए ।

यादवले प्रश्न गरे,‘एमालेले के चाहेको हो ? संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिन खोजेको हो ? यही हो एमालेको स्वाभिमान ?’ उनले स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउने भनेर एमालेलेपनि सहमति जनाईसकेकोले कार्यदल बनेर काम गरिरहेको अवस्थामा अहिले आएर मान्दिन भन्नु गलत भएको आरोप लगाए ।

यादवले तीन ठूला दल काँग्रेस, एमाले र माओवादी केन्द्र आफनो पार्टीलाई निर्वाचनमा सहभागी नगराउन लागि परेको आरोप समेत लगाए । उनले आफनो पार्टीलाई बाहिरै राखेर दोस्रो चरणको निर्वाचन भए मुलुकमा अनिष्ट हुने र त्यसको जिम्मेवारी सरकार, सत्तापक्ष र प्रमुख प्रतिपक्ष एमालेले लिनुपर्ने चेतावनी पनि दिए ।

यादवले पहिलो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने, जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप गर्ने लगायतका ४ बुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई दवाव दिए । उनले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र आफूहरु नेतृत्वको राजपावीच चुनावी तालमेल हुने र यसको लागि तयारी भैरहेको समेत जनाए । उनले भने,‘हामी मिलेर आन्दोलन गर्न सक्छौं भने तालमेल गरेर चुनाव किन लड्न सक्दैनौ ? सक्छौं नि, हामीवीच तालमेल भयो भने तराई मधेशमा कांगे्रस, एमाले र माओवादी भेट्दापनि भेटिँदैनन् ।’

त्यस्तै उनले आफूहरु निर्वाचनबाट नभाग्ने बताउँदै यो निर्वाचनलाई उपयोगिताको सिद्धान्त अनुसार नै उपयोग गर्ने जनाए । उनले भने,‘हामीलाई हल्का रुपमा नलिईओस्, हाम्रा माँगहरु पनि पूरा गर्नुपर्यो, हामी जहिलेपनि निर्वाचनको पक्षमा छौं, तर चुनाव चिन्ह दिनुपर्यो, दल दर्ता गर्न दिनुपर्यो नि।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *