डिसेम्बरभित्रै काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउँछन : मन्त्री यादव

काठमाडौं, १८ साउन । खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले मेलम्चीको खानेपानी काठमाडौंवासीले यही डिसेम्बरभित्रै पिउन पाउने बताएका छन् । उनले भने,‘प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउनेछन्, हामीले असोजभित्रै ल्याउने भनेका थियौं, तर केही प्राविधिक समस्याका कारण संभव भएन, अब पुसको पहिलो हप्ताभित्रै ल्याउने रणनीति बनाएका छौं, ढुक्क हुनुहोस डिसेम्बरभित्र हामी काठमाडौंमा मेलम्चीको पानी ल्याएरै छाड्छौं।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले मेलम्चीको पानी काठमाडौंवासीहरुमाँझ ल्याउने स्वर्गीय कृष्णप्रसाद भट्टराईको चाहना अब छिट्टै पूरा हुने बताएका हुन् । उनले भने,‘उहाँले सोचेको कुरा अब चाँडै पूरा हुँदैछ, सकेसम्म चाँडै ल्याउने तयारी थियो, असोजभित्रै ल्याउने भनिएको थियो तर केही प्राविधिक कठिनाईका कारण ढिलाई भएको हो, अब केही दिनभित्रै हामी यसको बारेमा मन्त्रालयमार्फत जनतासामू धारणा सार्वजनिक गर्छौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री यादवले आफ्नो कार्यकालभित्रै मेलम्ची आयोजना पूरा हुने दाबी गरे । उनले भने,‘हुन त दशैंअघि नै मेलम्ची आउने भनिएको थियो, अब दशैंमा आउने संभावना छैन, अहिले चार ठाउँबाट काम भैरहेको छ, टनेलको काम बाँकी छ।’ उनले मेलम्चीको पानी काठमाडौं आउने त सपना भन्नेहरुलाई विपनामा मै परिणत गरेर देखाउने विश्वास दिलाए ।
त्यस्तै उनले प्रधानमन्त्री देउवाको निर्देशन अनुसार काठमाडौंका सडकहरुमा देखिएका सबै खाल्डाखुल्डीहरु पुर्ने काम भैरहेकोले केही दिनभित्रै सबै काम सम्पन्न हुने स्पष्ट पारे । उनले भने,‘धेरै खाल्डाहरु पुर्ने काम सम्पन्न भैसकेको छ, अब केही बाँकी छन्, त्यो पनि एक दुई दिनभित्रै पुरिन्छन्।’ यद्धपी उनले मेलम्चीको कामले गर्दा खाल्डाखुल्डीहरु भएको जनाए ।

त्यस्तै उनले काठमाडौंमा देखिएका खानेपानीको समस्या समेत चाँडै समाधान गर्न आफूले पहल गरिरहेको विश्वास दिलाए । उनले थपे,‘खानेपानीबारे काठमाडौंमा देखिएको समस्या हल गर्न मैले विभागलाई निर्देशन दिईसकेको छु, पिउने पानीमा देखिएको लेदो, फोहोर हटाउनको लागि मैले निर्देशन दिएको छु, म लापारवाही दुर गर्छु।’

फरक प्रसँगमा उनले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचन अघि नै संविधान संशोधन प्रस्ताव पारित गराउने समेत जनाए । उनले भने,‘निर्वाचन अघि नै संशोधन प्रस्ताव पारित हुन्छ, सरकारले अहिले प्रस्ताव पारित गराउनको लागि गम्भिर पहल गरिरहेको छ, हामीले ईमानदार प्रयास गरिरहेका छौं।’ यद्धपी उनले प्रस्ताव पारित नभएपनि मधेशमा हुने चुनाव कुनै पनि हालतमा नरोकिने जिकिर गरे ।

मन्त्री यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कारणले प्रस्ताव पारित नभएपनि प्रदेश नम्बर २ मा हुने असोज २ गतेको निर्वाचन कुनै पनि हालतमा नरोकिने जिकिर गरे । उनले भने,‘कांग्रेसले शुद्ध मनले संशोधन प्रस्ताव पारित गराउन होमवर्क गरिरहेको छ, हामीले ईमानदार प्रयास गर्दागर्दैपनि प्रस्ताव पारित भएन भने चुनाव चाहीँ रोकिँदैन्।’
त्यस्तै उनले संशोधन प्रस्ताव पारित गराउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरिरहेको समेत जनाए । उनले भने,‘प्रस्ताव पारित गराउन प्रधानमन्त्री स्वयम आँफैले पहल गरिरहनुभएको छ, सबै दलसँग कुरा भैरहेको छ।’ राजपा नेपाल पनि लोकतान्त्रिक शक्ति भएकोले महत्वपूर्ण उपलब्धिहरुको रक्षा गर्न उसले पनि गम्भिर पहल गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मन्त्री यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । धमलाले भने,‘छोटो कार्यकाल भएपनि जनताको मन जित्नेगरि काम गर्नुहोस्, परिणाम दिनुहोस, अब भाषणवाजी गर्ने बेला होईन, रिजल्ट ओरियेन्टेड काम गर्नुहोस्।’

मन्त्री यादवले पनि क्लबले आफूलाई सम्मान गरेको भन्दै खुशी व्यक्त गरेका थिए । उनले आगामी दिनमा मिडियासँग सहकार्य गरेर नै अगाडि बढ्ने र आफूले मिडियाको सँधै साथ र सहयोगको अपेक्षा गरेको बताए । उनले थपे,‘ऋषिजीले जुन किसिमको सम्मान गर्नुभयो, यसले मलाई निकै खुशी तुल्याएको छ, साथै थप जिम्मेवारीपनि थपिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *