तीन दल र सरकारले देशलाई विखण्डन गर्न खोजेकोले त्यसबाट जोगाउनको लागि हामी आन्दोलनमा गएका हौं: राजेन्द्र महतो

काठमाडौं, ३ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोले प्रमुख तीन पार्टी र सरकार मिलेर देशलाई नै विखण्डन गर्न खोजेकोले आफूहरुले देशलाई जोगाउनको लागि बाध्य भएर शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतोले प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, र वर्तमान सरकार मिलेर देशलाई भाड्ने काम गरिरहेको आरोप लगाए । उनले भने,‘तीन दलले देशलाई भाँड्न र विखण्डन गर्न लागेकोले बाध्य भएर हामीले शान्तिपूर्ण आन्दोलन सार्वजनिक गरेका हौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले मधेश, जनजाति र थरुहटको समस्या समाधान नगराईकन गरिने निर्वाचनमा आफूहरु कुनैपनि हालतमा भाग नलिने जिकिर गरे । उनले भने,‘हाम्रा समस्याहरु समाधान नभएसम्म हामी कुनैपनि निर्वाचनमा भाग लिँदैनौं, यो हाम्रो बटमलाईन हो।’ उनले अहिलेका तीन ठूला दल र सरकारको अहंकारले मुलुकलाई बर्वाद बनाईरहेको समेत आरोप लगाए ।

महतोले ठूला दलले मधेश र थरुहटलाई एक हुन नदिन षडयन्त्र गरिरहेको आरोप लगाउँदै भने,‘यो के गर्न खोजेको हो ? मधेश र थरुहट एक हुनै नदिने ? मैले हजारचोटी भनिसकें कि तीन ठूला दल भनेको खसवादी, हठवादी हुन्, यीनीहरुले मुलुकलाई समस्यामा फसाउने काम गरिरहेका छन्।’ उनले देशलाई आगोमा धकेल्न नहुने समेत जिकिर गरे । उनले मुलुकलाई बर्वादीबाट बचाउनको लागि यसअघि पनि आफूहरुले कठोर संघर्षहरु समेत गरिसकेको स्पष्ट पारे ।

उनले मधेश र थरुहटलाई टुक्रा–टुक्रा पारेर गरिने चुनावले कसैको हित नगर्ने समेत ठोकुवा गरे । उनले मधेशी तथा आदिवासी जनताहरुले अधिकार प्राप्तिको लागि सहादत दिएको कुरालाई लत्याएर कोहीपनि अघि बढ्न नहुने धारणा राखे । महतोले आफूहरुले संवैधानिक घेराभित्र रहेर संघर्षका आन्दोलनहरु सार्वजनिक गरेको समेत जनाए । महतोले समस्याको समाधान नगराईकन चुनाव जबरजस्ती गर्न खोज्नु मुलुकलाई द्वन्द्वमा धकेल्न खोज्नु भएको समेत टिप्पणी गरे ।

उनले मधेशी तथा जनजातिहरुले उठाएका माँग पूरा गराई मेचीदेखि महाकालीसम्म, झापादेखि कञ्चनपुरसम्म र मधेशदेखि थरुहटसम्म एकै पटक निर्वाचन हुनुपर्ने आफूहरुको प्रमुख माँग रहेको स्पष्ट पारे । उनले बल प्रयोग गरेर र जनता मारेर निर्वाचन गराईए मुलुकलाई असफलतातर्फ धकेल्नुबाहेक अरु केही नहुने समेत ठोकुवा गरे ।
उनले सरकार र तीन ठूला पार्टीहरु मिलेर संविधान जारी गरेकोलाई मिलेर अपराध गरेको संज्ञा दिए ।

त्यस्तै उनले असार १४ गते हुने निर्वाचनको लागि भोलि हुने उम्मेद्धवारी त परैको कुरा भएको भन्दै कुनैपनि निर्वाचनमा आफूहरु सहभागी नहुने जिकिर गरे । उनले भने,‘हामी निर्वाचनको सशक्त विरोध गर्छौं, हामी कुनैपनि निर्वाचनमा सहभागी हुँदैनौं।’

महतोले जबरजस्ती, बल प्रयोग गरेर, मान्छे मारेर, बन्दुकको भरमा चुनाव गराए देशलाई फाईदा नहुने भन्दै पटक पटक यसबारेमा सरकारको ध्यानाकार्षण गराए ।

उनले प्रदेश नम्बर २ को निर्वाचनको मिति सार्ने कुरामा आफूहरुको कुनैपनि सहमति नरहेको जिकिर गरे । उनले सरकारलाई मुर्खको संज्ञा दिँदै भने,‘अरे, मुर्ख! हदको पनि सिमा हुन्छ नि, २ नम्बर प्रदेशमात्रै मधेश हो र ?’ उनले तीन ठूला दल र सरकारले फुटाउ र शासन गर भन्ने नीति लिएको समेत आरोप लगाए ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको बारेमा आफ्नो ‘कुनै कमेन्ट’ नरहेको समेत जिकिर गरे । जाँदाजाँदै अन्तिममा बडो शालिनता र गम्भिरता प्रर्दशन गर्दै नेता महतोले भने,‘देश नभाँडियोस्, हामी यही प्रयासमा छौं, हेरौं कत्तिको सफल हुने हौं ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *