दाङमा २० भन्दा बढी घर बगाएको छ भने ५० भन्दा बढी घर डुबानमा

दाङ २८ साउन- शुक्रबार रातीदेखिको लगातार भएको वर्षाका कारण दाङमा २० भन्दा बढी घर बगाएको छ भने ५० भन्दा बढी घर डुबानमा परेको छ । तुलसीपुर उपमहानगरपालिका १४ फूलवारीमा स्थानीय तुही खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । स्थानीय भगवती सुनारलाई शुक्रवार राती खोलाले बगाएको हो । बाख्रा सार्न राती बाहिर निस्केको बेला उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । उनको शव शनिवार बिहान घर नजिकै झ्याङमा अड्किएको अवस्थामा फेला परेको थियो।

अहिले सम्म प्राप्त जानकारी अनुसार सबै भन्दा बढी तुलसीपुर उपमहानगरपालिकाको फूलवारीमा १३ घर बगेका छन् । स्थानीय तुही खोलामा आएको बाढीले अम्बापुर, दमारगाउँ, मजघटुवा गाउँका १३ घर बगाएको स्थानीय हरिहर पौडेलले बताए । यसैगरी बाढीले स्थानीय अमरराज कार्कीको पोल्ट्री फार्ममा रहेका कुखुरा बगाएको छ भने स्थानीय सामुदायिक विद्यालयको पर्खाल समेत बगेको छ।

दंगीशरण गाउँपालिकाको गोल्टाकुरीमा ६ वटा घर भत्कीएका छन् । बबई नदीमा आएको बाढीले ६ घर भत्काएको छ । बबईको बाढीले ४० बढी घर डुबानमा परेको पनि उनले जानकारी दिए । यसैगरी तुलसीपुर उपमहानगरपालिकाको मोतीपुर गाउँमा ४ घर बगाएको छ । तीन वर्ष अघि बाढीबाट विस्थापित चार परिवारलाई पुनः बबईले विस्थापित बनाएको छ । यसैगरी लमही नगरपालिका ९ अमिलियामा ७ घर स्थानीय खहरे खोलाले भत्काएको छ । स्थानीय फिरंगी खोलामा आएको बाढीले ७ घर बगाएको छ । बाढीले त्यहाँ बालीनालीमा समेत क्षति पुर्याएको छ । बबईको तटीय क्षेत्रमका रहेका थुप्रै बस्तीका घर परिवारहरू बाढीको त्रासका कारण विस्थापित बनेका छन् । कैयन स्थानमा बाढी पसेर घर डुवानमा परेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *