धनकुटाका किसानलाई कृषि जानकारी उपलब्ध गराउने सामाग्री मोबाईल वितरण

धनकुटा २४ वैशाख, प्राविधिक ज्ञानसहित व्यावसायिक उत्पादन बढाउनका लागि सूचना प्रविधिको पहुँच बढाउन धनकुटा  जिल्लाका ४३ किसानलाई सूचना सामाग्री वितरण गरिएको छ ।

जिल्लाका अगुवा किसानका लागि गत बिहीबारदेखि सूचना सामग्री वितरण सुरु गरिएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । प्रविधिको प्रयोग गर्दै व्यावसायिक खेतीको विस्तारका लागि ४३ थान एनड्रोइड मोबाइल र ४३ थान रेनगेज उपकरण वितरण गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालयले सिफारिस गरेका २६ र पशु कार्यालय धनकुटाले सिफारिस गरेका १७ अगुवा किसानलाई विभिन्न प्राविधिक सूचना पाउन सहज हुने मोबाइल र मौसम मापनसहित बर्सातको पानी नाप्ने उपकरण सामग्री हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यलय धनकुटाले जनाएको छ । किसानलाई निर्वाहमुखी खेतीबाट व्यावासायिक बनाउन ‘मेरो कृषि’ नामक एपमार्फत कृषि प्रविधिसम्बन्धी सूचना उपलब्ध गराउन थालिएको छ ।

विभिन्न समयमा बदलिँदो मौसमबारे अग्रिम जानकारी लिँदै मौसम अनुकूल खेतबारीमा काम गर्न सहज बनाउने भन्दै रु छ लाख ४५ हजार बराबरको रेनगेज उपकरण प्रदान गरिएको छ । जिल्लामा दुई सय सात पशु फार्म र पाँच सय ४४ कृषक समूह रहेको कार्यालयले जनाएको छ ।

कृषिसम्बन्धी सूचना हेर्न सरकारले किसानलाई मासिकरुपमा १५ एमबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने भएको छ । इन्टरनेटसँगै फोनबाट पनि समस्याबारे जानकारी लिएर समधान गरिने योजना रहेको छ । किसानका लागि सिमसहित प्रतिगोटा रु १८ हजार बराबरको सामसुङ्ग जी फाइभ मोबाइल वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *